World News

रोयल अल्बर्ट हलमा नेपाली कन्सर्ट

लन्डन, जेष्ठ १९ – नेपालीका लागि धेरै अर्थमा पहुँच बाहिर छ– दी रोयल अल्बर्ट हल। लन्डन साउथ केन्जिङटनस्थित उक्त हल महँगो मात्र होइन, कुनै एउटा कार्यक्रम गर्न कम्तीमा दुई वर्ष पालो कुर्नुपर्ने हुन्छ।

सन् १८७१ मार्च २९ देखि सञ्चालनमा आएको उक्त प्रसिद्ध हलमा फ्रेंक सिनात्रा, लिजा मिन्नेली, जिमी हेन्ड्रिक्स्, द बिटल्स्, अस्कर पिटरसन, द हु, लेड जेप्पेलिन, इरिक क्ल्यापटन, स्टिङ एन्ड इल्टन जोन जस्ता विश्वप्रसिद्ध कलाकारहरूले कन्सर्ट गरिसकेका छन्। त्यही हलमा नेपालीले पहिलोपटक कन्सर्ट गर्दै छन्, भूकम्प पीडितका लागि।

हेल्प नेपाल नेटवर्क यूकेको संयोजनमा गोरखाका भूकम्पपीडितहरूको सहयोगार्थ जुन २८ तारिख कन्सर्ट तय भएको हो। ३ हजार ९ सय २९ सिट क्षमताको हलमा कन्सर्ट गर्न करिब ७० हजार पाउन्ड खर्च लाग्ने अनुमान छ।

कन्सर्टमा नेपाली संगीत हस्तीहरू दीप श्रेष्ठ, ओमविक्रम विष्ट, योगेश्वर अमात्यदेखि दीपक थापामगर, जेम्स प्रधान, सुजिल कर्माचार्य, तृष्णा गुरुङ लगायत वाद्यवादकहरू सम्मिलित १७ जनाको समूहले प्रस्तुति दिने आइतबार लन्डनमा पत्रकार सम्मेलनमा जनाइयो। साँझ ६ बजे सुरु हुने कन्सर्ट करिब तीन घन्टा चल्ने छ।

‘एन इभिनिङ फर गोरखा, च्यारिटी फर दी अर्थक्वेक भिक्टिम्स् अफ नेपाल’ नाम दिइएको उक्त कन्सर्ट हेर्न २५ देखि ७५ पाउन्डसम्म टिकट तोक्ने तयारी छ। लिफ्लेटमा विज्ञापन प्रकाशन र प्रायोजकबाट समेत अतिरिक्त रकम उठाउने आयोजकले जनाएका छन्।

‘कार्यक्रम साँच्चिकै ऐतिहासिक हुनेछ,’ लन्डन रहेका कार्यक्रमका सूत्रधार गायक योगेश्वर अमात्यले आश्वास्त पारे, ‘नेपालीले गर्न लागेको पहिलो र भूकम्प पीडितहरूमा समर्पित भएकाले कार्यक्रम धेरै अर्थमा ऐतिहासिक सावित हुने मेरो विश्वास छ।’ अल्बर्ट हलकै व्यवस्थापनले गर्दा कार्यक्रम स्तरीय हुने अपेक्षा छ। आयोजकले कार्यक्रममा आइदिएर भूकम्प पीडितको सहयोग गर्न अपिल गरेका छन्।

कन्सर्टको खर्च कटाइ बाँकी रहेको सबै रकम विनाशकारी भूकम्पको केन्द्रबिन्दु गोरखामा क्षतिग्रस्त विद्यालयहरूको पुनर्निर्माणमा सघाउन खर्च गरिने आयोजकले जनाएका छन्। हेल्प नेपाल नेटवर्क यूकेका कोषाध्यक्ष सचिन श्रेष्ठले कन्सर्टबाट संकलित रकमले कम्तीमा दुइटा विद्यालय बनाउने लक्ष्य राखिएको जनाए।

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Check Also
Close
Back to top button