नेपालको दृश्य समेटेर भारतीय सुन्दरी मिस अर्थमा
काठमाडौं- यस वर्षकी मिस अर्थ इन्डिया अाइतल खोस्लाले नेपालको प्राकृतिक सौन्दर्य समेटिएको दृश्य भिडियोमा समेटेर मिस अर्थमा सहभागी भएकी छिन्। मिस अर्थको विभिन्न विधामध्ये ईको ब्युटीअन्तर्गत मिस अर्थ इन्डिया २०१५ ले तयार गरेको दुई मिनेट १४ सेकेण्डको भिडियोमा राजधानीको ट्राफिक, हिमाल र प्राकृर्तिक सौन्दर्यको दृश्यलाई भारतको भनेर गलत प्रचार गरेकी छिन्।
त्यस्तै यसवर्ष मिस नेपाल अर्थ दिव्यता वैद्यले नेपालको प्रतिनिधित्व गर्दै मिस अर्थमा सहभागिता जनाइरहेकी छिन्। उनले ईको ब्युटीअन्तर्गत चार मिनेट ४५ सेकेण्डको भिडियोमा नेपाली जनजीवनलाई समेटेकी छिन्।
आगामी मंसिर १९ मा अष्ट्रियाको भेसिसमा हुने मिस अर्थमा उनीसहित ९० जनाले सहभागिता जनाएका छन्। गत साताबाट सुरु भएको मिस अर्थको प्रारम्भिक चरणअन्तर्गत राष्ट्र्रिय पोसाकसहितको फोटोसुटमा उनी नेवारी र परम्परागत किराँती भेषभुषामा देखिएकी थिइन्।
मिस अर्थअन्तर्गतको गाउन प्रतियोगिता र वृक्षरोपणमा उनी सहभागी भएकी थिइन्। भूकम्पपछि उनी मिस नेपाल इभानासहित चुच्चेपाटीस्थित भूकम्प पीडितहरु अस्थायीरुपमा बसिरहेको शिविरमा पुगेकी थिइन्। नवजात शिशु तथा प्रसुती महिलाहरुका लागिे एक सय हाराहारीमा डिग्निटी किट वितरण गरेकी थिइन्।
मिस अर्थको यो १५औँ संस्करण हो। उनीसहित हंगेरी, अमेरिका, श्रीलंका, रसिया, इटाली, घाना, नर्वे, पोल्यान्ड, टर्की, ब्राजिल, स्पेन, पेरु, डेनमार्क, जापान, क्यानेडा, चीन र फ्रान्स लगायत ९० भन्दा बढी राष्ट्रको प्रतिनिधिले सहभागिता जनाएका छन्।
-Nagariknews-
प्रतिक्रिया लेख्नुहोस