World News

टर्कीमा फेरि आतंकवादी हमला

इस्तानबुल: टर्कीको इस्तानबुलस्थित एक चर्चित रात्रिक्लबमा नयाँ वर्ष मनाउँदै रमाइलो गरिरहेका व्यक्तिहरूलाई लक्षित गर्दै आतंककारीले आक्रमण गर्दा ३९ जनाको मृत्यु भएको छ । मारिएकामध्ये १६ जना विदेशी रहेको प्रहरीले जानकारी दिएको छ ।

नयाँ वर्षको स्वागतमा रमाइलो गरिरहेका व्यक्तिहरूमाथि दुई आतंककारीले स्थानीय समयअनुसार राति एक बजे अन्धाधुन्ध गोली प्रहार गरेका थिए । आक्रमणकारीले एक प्रहरी र सर्वसाधारणलाई प्रवेशद्वारमै गोली हानेर मारेका थिए । त्यसपछि आतंककारीले ‘रेयना’ नामक यस चर्चित रात्रिक्लबमा पसेर गोली प्रहार गर्न सुरु गरेका थिए । टर्कीमा एक महिनाभित्र भएको यो चौथो आतंककारी आक्रमण हो ।

टर्कीका गृहमन्त्री सुलेमान सोएलुले आक्रमणकारीको खोजीकार्य तीव्र पारिएको र उनीहरूलाई चाँडै नियन्त्रणमा लिइने विश्वास व्यक्त गरेका छन् । उनले घटनामा परी मृत्यु भएकामध्ये २१ जनाको पहिचान खुलेको जसमध्ये १६ विदेशी र पाँच टर्किस रहेको जानकारी दिए । आक्रमणमा घाइते भएका अन्य ६९ जनाको अस्पतालमा उपचार भइरहेको छ ।

‘ती हत्यारा निकै निर्दयी र निकृष्ट रहेछन्, जसले नयाँ वर्ष मनाउन आएका निर्दोषहरूको हत्या गरेका छन्’, इस्तानबुलका गभर्नर भासिप सहिनले भने । डोगन समाचार समितिले गोली हान्ने दुईजना ‘सान्ता क्लज’ को पोसाकमा रहेको उल्लेख गरेको छ । यद्यपि यसको पुष्टि हुन बाँकी छ ।

टेलिभिजनले देखाएका घटनास्थलका दृश्यमा महिलाहरूले ‘पार्टी ड्रेस’ लगाएको र पुरुषले कोट लगाएको देखिएको छ । आक्रमणकारीले अरबी भाषामा कुरा गरिरहेको सूचना प्राप्त भएको प्रहरीको भनाइ छ ।
उक्त आक्रमणको संयुक्त राज्य अमेरिकाले निन्दा गरेको छ । निर्दोषमाथि आक्रमण गरिनु बर्बर कार्य भएको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता नेड प्राइस ले उल्लेख गरेका छन् ।

-Annapurnapost-

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button