कुरानको सबैभन्दा प्राचीन पाण्डुलिपि
बर्मिङघम (बेलायत)- बेलायतको बर्मिङघम विश्वविद्यालयले कुरानको सम्भवतः सबैभन्दा पुरानो पान्डुलिपिका केही पाना फेला पारेको दाबी गरेको छ। फेला परेका पानाको रेडियो कार्बन डेटिङ प्रविधि उपयोग गरी गरिएको जाँचबाट कुरानका ती पाना कम्तिमा पनि १३ सय ७० वर्ष पुराना भएको पत्ता लागेको हो।
फेला परेको पुरानो कुरान लेखकले इस्लाम धर्मगुरु पैगम्बर मोहम्मदसँग नै भेट गरेको हुनसक्ने अनुसन्धानकर्ताले सम्भावना व्यक्त गरेका छन्।
कुरानका ती पाना विश्वविद्यालयको पुस्तकालयमा मध्यपूर्वका पुस्तक र विभिन्न दस्तावेजका संग्रहसँगै करिब एक सताब्दीदेखि राखिएको थियो। तर सय वर्षसम्म पनि ती पाना कुरानका हुन् भनेर खोजी गरिएको थिएन।
विद्यावारिधीका एक जना सोधकर्ता अल्वा फदेलीले अन्य पुस्तक र दस्तावेजसँगै रहेका ती पुराना पानाको अवलोकन गरेपछि पुरानो कुरानबारे पत्ता लागेको थियो। त्यसपछि ती पानाको कार्बन डेटिङ टेस्ट गराउने निर्णय गरियो र त्यसको आश्चर्यजनक परिणाम आएको विश्वविद्यालयका अधिकारीले जनाएका छन्।
अक्सफोर्ड विश्वविद्यालयमा गरिएको कार्बन डेटिङ परीक्षणबाट भेडा वा बाख्राको छालामा लेखिएका ती अंश सम्भवतः पवित्र कुरानका सबैभन्दा पुराना पाना हुन सक्ने पत्ता लागेको थियो। परीक्षणले ठ्याक्कै मिति नबताए पनि फेला परेका ती पाना सन् ५६८ देखि ६४५ बीचका हुनसक्ने सम्भावना ९५ प्रतिशत छ।
विश्वविद्यालयका इस्लाम र इसाई विषयका प्रोफेसर डेभिड टमसले इस्लाम स्थापनाका सुरुवातका वर्षबारे ती पानाले जानकारी दिनसक्ने बताए। उनले मुस्लिम मान्यताअनुसार मोहम्मदलाई अल्लाहको सन्देश सन् ६१० देखि ६३२ बीच प्राप्त भएको र ती सन्देश नै कुरानको आधार बनेको बताए। मोहम्मदको मृत्यु सन् ६३२ मा भएको थियो।
प्रोफेसर टमसले ती पानाका लेखक मोहम्मदसँग परिचित भएको र भेटेको हुनसक्ने पनि जनाए। उनको भनाइमा यसबाट मोहम्मद जीवनकालमा ती पानाका लेखक पनि जीवितै रहेको हुनसक्छ। उनी भन्छन्, ‘भेटिएका पानाका वास्तविक लेखक सम्भवतः पैगम्बर मोहम्मदसँग परिचित हुनुपर्छ। उसले मोहम्मदलाई देखे/भेटेको हुनसक्छ वा उपदेश नै दिँदै गरेको पनि देखेको हुनसक्छ। लेखक मोहम्मदसँग व्यक्तिगत रुपमा परिचित नै पनि हुनसक्छ। यी सबै सम्भव हुनसक्ने सोचले नै मंत्रमुग्ध पार्छ।’
विश्वविद्यालयमा फेला परेको कुरानका पाना अरबी भाषाको पुरानो रुप हिजाजी लिपिमा लेखिएको छ।
-Nagariknews-
प्रतिक्रिया लेख्नुहोस