दिमागबाट दिमागमा सञ्चार – टेलिप्याथीः वास्तविकता र प्रविधि
टेलिभिजन, टेलिफोन, टेलिस्कोप आदि शब्द सुनेको अनि बुझेकै शब्द हुन। तर ‘टेलिप्याथी’ भन्ने सुनिएपनि निकै कम बुझिएको शब्दमा पर्छ।
अङ्ग्रेजी डिक्स्नेरी अनुसार ‘टेलिप्याथी’, ‘दिमागहरु बीच बिना कुनै इन्द्रिय सञ्चार हुनु’ बुझिन्छ। अर्थात हाम्रा पाँच इन्द्रियको प्रयोग नभइ अन्यको मष्तिस्कसंग सिधा सम्पर्क गर्ने कार्य नै टेलिप्याथी हो। सिधा बुझ्दा बिना कुनै माध्यम अन्यको दिमागको विचार पढ्न सक्ने वा आफ्नो विचार अन्यको दिमागमा पनि ल्याउन सक्ने खुबी नै टेलिप्याथी हो। तपाईले अन्य व्यक्तिको दिमाग पढ्ने कोसिस गर्नु भएको छ र?
कहाँ बाट आयो टेलिप्याथी शब्द?
Telepathy शब्दमा tele भन्नाले ‘टाढा’ र pathos भन्लाने ‘अनुभुति’ वा ‘अनुभव’ बुझिन्छ। टाढाको दृश्य हेर्न मिल्ने उपकरण टेलिभिजन भएझै टाढा वा अन्यको दिमाग अनुभव गर्न सकिने कार्य नै टेलिप्याथी हो।
अमेरिकी मनोवैज्ञानिक फ्रेडेरिक मियर्सले पहिलो पटक सन् १८८२ मा प्रयोग गरेको यो शब्द अहिलेसम्मनै निकै चर्चित रहदै आएको छ।
साइन्स फिक्सन चलचित्रमा ‘सुपरहिरो’ अनि ‘सुपरभिलेन’ का शक्ति देखाउन टेलिप्याथी व्यापक प्रयोग गरिने गरेको छ।
टेलिप्याथीसंगै टेलिपोर्टेसन पनि निकै चर्चित छ। एक ठाउँबाट बिलाएर अर्को ठाँउमा उत्पन्न हुने कार्यलाई टेलिपोर्टेसनले व्याख्या गर्छ। निकै चर्चा भएता पनि टेलिप्याथीको भने कुनै वैज्ञानिक आधार भेटिएको छैन, जहाँ कि टेलिपोर्टेसन भने विज्ञानले सम्भव बनाइसकेको छ तर केही समय भने अवस्य कुर्नुपर्नेछ।
के एउटा दिमागले अर्को दिमागमा संकेत पठाउन सक्छ?
टेलिप्याथी सम्बन्धि विषयले सधै अचम्मित नै पार्दै आएको छ। के यो साच्चै सम्भव छ? के तपाइले अर्को कोही मानिसको मस्तिष्क पढ्न सम्भव होला? विचार विचारमै अन्यसंग कुराकानी गर्न सकिएला?
टेलिप्याथीमा विश्वास गर्ने भन्छन्, जब कुनै मानिसले अर्को व्यक्तिबाट ‘विचार’ पाउँछ, प्राप्त गर्ने व्यक्तिले बोलेरै जवाफ पनि दिने अवस्था पनि आउँछ। यस्तो घटना सोचेभन्दा बढी घट्ने बताइन्छ। तर कुनै वैज्ञानिक आधार नहुँदा यस्ता घटना कल्पनामात्रमा सिमित भएका छन्।
टेलिप्याथीमा कस्तो अनुसन्धान हुदैछ?
टेलिप्याथीसंग सम्बन्धित रहेर बिभिन्न खोज तथा अनुसन्धान नगरिएका हैनन, तर कुनै पनि अनुसन्धानले यस्तो शक्ति साँच्चै छ भनि निर्क्योल गर्नसकेको छैन। १९ औं शताब्दीमै सोसाइटी फर साइकिकल रिसर्चले पाँच दिदीबहिनीमा टेलिप्याथीको शक्ति छ भनि रिसर्च गर्न सुरु गरेको थियो। वर्षौं सम्म अध्ययन गरे तर पछिल्ला अध्ययनको क्रममा ती दिदीबहिनीहरु कोड संकेत गरेर कुराकानी गर्ने गरेको र रिसर्च गर्ने व्यक्तिहरुलाई नै झुक्याएको थाहहुन आएको थियो।
अझ विशेष गरि जुम्ल्याह व्यक्तिहरुमा टेलिप्याथीको शक्ति हुने विश्वास गरिएको थियो। एकै समयमा एकै खालका विचार आउने, एकै खालका सामान मन पराउने आदि जुम्ल्याहमा देखिने गरेको भन्दै विभिन्न अनुसन्धान पनि गरिए तर कसैले पनि टेलिप्याथीलाई वैज्ञानिक आधार दिन सकेन। संगै बस्ने अनि संगै हुर्कने हुनाले जुम्ल्याहमा एकआपसमा टेलिप्याथी गरेझै व्यवहार देखिने तर साच्चैको टेलिप्याथी भने नभएको निष्कर्षमा अनुसन्धानकर्ता पुग्ने गरेका छन्।
आध्यात्मिक अनि केही वैज्ञानिक सिद्धान्त र टेलिप्याथी
खप्तड बाबाको एक पुस्तक छ, ‘विचार विज्ञान’, जसमा विचारको शक्तिको बारेमा निकै राम्रो संग बयान गरिएको छ। विज्ञान पनि भन्छ, शक्ति नष्ट हुदैन केवल परिवर्तन गर्न मिल्छ। हाइड्रोपावरमा पानीबाट टर्वाइन घुमाइन्छ। पानीको शक्ति टर्वाइन घुमाउन प्रयोग गरियो, टर्वाइनले सोही घुम्ने कार्यबाट विजुली निकाल्छ, सोही विजुली तार हुदै तपाइको घरसम्म आइपुग्छ, मोबाइल वा कम्प्युटरको ब्याट्री चार्ज गर्नुहुन्छ। सोही ब्याट्रीको शक्ति प्रकाशमा परिवर्तन गर्छ मनिटर वा स्क्रिनले। यसरी शक्ति एक रुपबाट अर्कोमा परिवर्तन हुदैँ विभिन्न अन्य कार्य हुने गरेको छ।
मानिसले शक्ति भने खाना, पानी अनि हावा बाट पाउँछ। शरिरमा भएको केही शक्ति तपाइले विचार वा सोच्नमा लगाउनुहुन्छ। बिना शक्ति कुनै कार्य सम्भव छैन। अर्थात शक्ति छ भने कार्य अवस्य हुन्छ। यसको अर्थ तपाइको विचारले पनि अवस्य कुनै न कुनै कार्य गर्छ। अठोट भएमा कुनै कार्य असम्भव छैन भनि त्यसै भनिदैन। तपाइको विचारले पनि तपाइको वरिपरिको वातावरणलाई अवश्य असर पार्छ। सकारात्मक विचार छ भने सकारात्मक नत्र नकारात्मक प्रभाव पर्छ। अब कुनै तरिकारले आफुमा भएको विचार शक्ति अन्यमा पठाउने कसरी मात्र थाह पाउँदा टेलिप्याथी सम्भव देखिन्छ। तर पठाउने कसरी समस्या त्यहाँ आउँछ। यसको भने विज्ञानले जवाफ खोजीसकेको छ।
प्रविधिको प्रयोग गरेर टेलिप्याथी
चर्चित खगोलविद् स्टेफन हकिङ्स बोल्न सक्दैन, न त हिडडुल गर्न नै सक्छन। तर शताब्दीकै सबैभन्दा तेज दिमाग भएका खगोलविद् हुन उनी। ‘एमियोट्रोफिक ल्याटेरल स्क्लेरोसिस’ नामक एक दुर्लभ रोगको कारण उनी दशकौ देखि पक्षाघातले थलिएका छन्। बोल्न र लेख्न नसक्दा स्टेफनको तेज दिमागको विचार र धारणा चाँहि उनकै दिमागमा मात्र सिमित हुने भयो। कि त टेलिप्याथी सम्भव भएको भए बताउन सकिन्थो स्टेफन कुन सिद्धान्त दिमागमा सोच्दैछन्, तर त्यो सम्भव भएन। तर विज्ञानले यी तेजवी वैज्ञानिकका विचार विचारमै सिमित नहोस् भन्नको लागि एक नौलो प्रविधि भित्र्यायो, दिमाग पढ्नमिल्ने प्रविधि। टेलिप्याथीको कथा झै सारा दिमागमा के चलिरहेको छ भनि पुरै वृतान्त अहिलेसम्म थाहा पाउनसक्ने नभएपनि स्टेफन के बोल्न खोज्दैछन् भन्ने यो प्रविधिले थाहा पाउँछ।
अन्यसंग कुराकानी गर्न सुरुमा उनको अगाडी अक्षरहरु लेखिएको ‘स्पेलिङ कार्ड’ राखिदिनु पर्थो। आँखीभौं उचालेर उनले अक्षर छान्थे अनि अन्यले उनले भन्न खोजेको शब्द बुझ्ने गर्थे। एउटै वाक्य भन्न यसरी मिनेट भन्दा बढी लाग्थो। आफ्नी सासुको यस्तै समस्या हल गर्न ‘वर्ल्डस् प्लस’का प्रमुख वाल्टर वल्टोजले बनाएको एक कम्प्युटर प्रोग्राम ‘इक्वलाइजर’को परिमार्जित संस्करण सन् १९८६ देखि स्टेफनले प्रयोग गर्न थाले। यो कम्प्युटर उनको ह्वीलचियरमै जडित थियो।
यो प्रोग्रामको मद्धतले औलाको सहायताले बटन थिचेर उनले कम्प्युटरको स्क्रिनमा देखिने शब्दहरु छान्थे। उनले १ मिनेटमा करिब १५ वटा शब्द छान्ने सक्थे। छानिएका शब्द सोही प्रोग्रामले पढ्न सक्थ्यो। विस्तारै स्टेफनको हातका औलाले पनि काम गर्न छाड्यो। सन् २००५ पछि उनले गालाको तन्तुहरुको हलचलबाट शब्द छान्न थाले। तर यसरी एक मिनेटमा केवल एउटा शब्द छान्ने सक्थे। सन् २००९ पछि उनी आफैले ह्वीलचियर पनि चलाउन सक्ने अवस्थामा रहेनन। स्वासफेर्न कठिन हुनाले भेन्टीलेटरको आवश्यकता पर्न थाल्यो।
सन् १९९७ पछि उनको कम्प्युटरको यो प्रविधिलाई इन्टेल कर्पोरेशनले सहयोग गर्न थाल्यो। गालाको हलचलले उनले कम्प्युटरको स्क्रिनमा भएको माउसको कर्सर चलाउन सक्थे। स्क्रिनमा किबोर्ड हुन्थ्यो, कर्सर लगेर उनले स्क्रिनको किबोर्डबाट ‘कि’ छान्न सक्थे।
केही समययता दिमागमा उत्पन्न हुने तरंग अध्ययन गरि सोचेको कुरा पत्ता लगाउन सक्ने प्रविधि भित्रिदै गएको पाइन्छ। स्टेफनको दिमागमा पनि एक ‘चिप्स’ राखेर उनले सोचेको कुरा पत्ता लगाउने कोसिस गरिएको थियो। तपाइले कुनै फुल सोच्नु भयो अनि मानौ निलो आकाश सोच्नु भयो, यी दुवै अवस्थामा तपाइको दिमागमा फरक फरक काम हुने गर्छ, दिमागको फरक फरक हिस्सा सक्रिय हुने गर्छ अनि दिमागबाट फरक फरक तरङ निस्कने गर्छन।
दिमाग भित्र वा बाहिर पनि राख्न सकिने सो चिप्स वा सेन्सरले दिमागबाट उत्पन्न हुने तरङ्गको अध्ययन गरि सोचेको कुरा अनुमान गर्ने गर्छ। नयाँ प्रविधि भएकाले स्टेफनले यो भन्दा आफुले प्रयोग गर्दै आएको कर्सर सारेर अक्षर छान्न मिल्ने कम्प्युटर प्रोगाम नै सजिलो भएको प्रतिक्रिया दिएका थिए।
केही वर्ष पछि यो प्रविधिको राम्रो विकास हुनेछ, अनि दिमागमा चेल्ने सोच अनि विचार कम्प्युटरले सबै पत्ता लगाउन सक्ने हुनेछ। साथै कम्प्युटरबाट दिमागमा विचार पठाउन पनि मुसामा विभिन्न अध्ययन गरिएका छन्, जसमा सकारात्मक नजिता प्राप्त हुदै गएको बताइन्छ। अबका केही वर्ष वा दशक पछि तपाईले सोच्नु भएको तपाइको कम्प्युटर वा मोबाइलले थाह पाउन सक्ने हुनेछ, अनि इन्टरनेट मार्फत ती डाटा अर्को मोबाइलमा पठाइनेछ जहाँ डाटा पाउने मोबाइलले व्यक्तिको दिमागमा ती डाटालाई पठाइदिनेछ। तपाईले सोचेको कुरा प्रविधिको सहयताले अर्को दिमागमा पुग्ने देखिन्छ। तर यस्तो हुन अझै समय भने कुर्नु पर्ने देखिन्छ। यसरी मनौविज्ञानले वैज्ञानिक आधार खोज्न नसकेको टेलिप्याथीलाई विज्ञानले प्रविधि प्रयोग गरि सम्भव बनाउन खोज्दैछ।
-Nepaliheadlines-
प्रतिक्रिया लेख्नुहोस