हाम्रो बिचार

सामाजिक कलङ्क तिलकप्रथा हटाउँ

सामाजिक असमानताको मूल कारकको रूपमा रहेको र नारी र पुरुषमा भिन्नता ल्याउने तथा छोरीलाई बोझ बनाइरहेको तिलक र दहेजलाई समाजबाट हटाउनु अत्यन्त जरुरी भइसकेको छ ।

अत्यधिक तिलक र दहेजले समाजमा दीर्घकालीन विकृति ल्याइरहेको मात्र नभई कतिपय अवस्थामा समाजको विघटन पनि गरिरहेको छ । समाजप्रति आफूलाई जिम्मेवार बुझ्नेहरूले तिलक र दहेजको विषयमा निकै गम्भीर बहस चलाउन अब ढिलो भइरहेको छ । अहिले यदि समाजमा यसलाई रोक्ने बहस चलाइएन भने अहिलेका बुद्धिजीवी तथा जिम्मेवारहरू नालायक तथा गैरजिम्मेवार रहेको भविष्यले आरोप लगाउने छ । समाजलाई पतन गराउने अन्य सामाजिक तत्त्वहरूमध्ये तिलक र दहेजको नाम अहिले सबैभन्दा पहिले रहेको देखिएको छ ।

केही दिन पहिले एउटा आश्चर्यजनक कुरो सुनियो । अत्यधिक तिलकको माग गर्दा तिर्न नसकेपछि छोरीको बिहे गर्न एकजनाले धर्म नै परिवर्तन गरे । धर्म परिवर्तन गरेपछि राहत भयो । धर्म परिवर्तन गराउनेले केही पैसा दिए, बिहेको लागि आफ्नै धर्मका मानिससित कुरो चलाए । बिहे भयो, उनले सन्तोषले साँस फेरे ।

तिलक र दहेजले समाजलाई निकै पछाडि धकेलिरहेको छ । छोरीजातको क्षमता र दक्षतालाई अझै पनि तिलकले तौलने गरिएको छ । मानिसले निकै दु:ख गरेर छोरीलाई पढाए पनि छोरीका पिता बिहेको कुरो चल्दा कति तिलक र दहेज दिनुपर्ने हो चिन्तित भइरहन्छन् । अझ कतिपय अवस्थामा त अभिभावकले अब धेरै पढाउँदा छोरीको लागि दुलहा पाउन कठिन हुन्छ भनेर पढाउन नै रोकिदिन्छन् । छोरीको शिक्षामाथि अंकुश लगाउन समाजको तिलक र दहेजरूपी कलड्ढले मात्र रोकेको हुँदैन । समाजलाई प्रगतिको बाटोमा निरन्तर अगाडि बढ्नबाट समेत रोकेको हुन्छ । कतिपय युवतीले त नोकरीको लागि प्रतियोगिताको तयारी यस कारण गर्दैनन् वा परीक्षाको तयारी गरे पनि परीक्षामा सहभागी भइरहेका हुँदैनन् कि परीक्षा उत्तीर्ण भएपछि आफ्नो योग्यता वा पदभन्दा तलको हैसियतको मानिससित बिहे भयो भने समाजले निकै अप्ठ्यारो मान्छ ।

गत वर्ष एकजना युवतीले माध्यमिक तहको शिक्षकमा नाम निकालिन् । प्रवेशिका उत्तीर्ण गरेपछि काठमाडौंमा रही स्नातकोत्तरसम्म अध्ययन गरेकी युवतीको बिहेका लागि दुलहा खोज्न पितालाई निकै धपेडी पर्‍यो । माध्यमिक तहमा स्थायी जागिर पाएकी छोरीको लागि त्योभन्दा तल्लो तहको केटा खोज्नु पनि भएन । कम्तीमा बराबरी तह वा माथिल्लो तहमा कार्यरत कुमार युवक पाउन ज्यादै मुश्किल । मुश्किलले पाए पनि बिहेको लागि मनाउन सजिलो नहुनु, कतिपयको पहिलेदेखि नै कतै कुरोकानी चलिरहेको हुनु, कतिपयले प्रेम विवाह गर्ने मनसाय बनाएको पाइनु र कतै पाइहाले पनि तिलकको कुरोले बिहे गर्न सक्ने आँट नै नआउनुजस्ता व्यावहारिक समस्याहरू देखिए । नोकरी पाएकी छोरीको बिहेको लागि बाबुले ऋण लिनुपरेको सुन्नुपर्‍यो ।

यस किसिमको सास्ती छोरीका पिताले कहिलेसम्म पाइरहने ? समाजमा छोरी मानिसले आफ्नो खुट्टामा उभिन खोज्नु, आफ्नो योग्यता अगाडि बढाएर आफ्नो कल्पनाको उडानलाई स्वच्छन्द बनाउन खोज्नु, आफूले ठूलो सपना देख्नु र समाजको सेवा गर्ने चाहना राख्नु के कुनै युवतीको लागि अपराध हो ? छोरी हुनु आफैंमा अपराध होइन । छोरी हुनु र छोरीका पिता हुनुमा गर्वको अवस्था सिर्जना हुनुहुँदैन ? समाजलाई अगाडि बढाउन छोरीको योगदानलाई स्वीकार गरिएको छ तर यो सिद्धान्तको रूपमा स्वीकार गरिएको तथ्यलाई व्यवहारमा लागू गर्न धेरैको मनले किन स्वीकार गर्न सकिरहेको छैन ? समाजलाई अगाडि बढाउन चाहने हरेकले समाजलाई यस मामिलामा पछाडि धकेल्न किन योगदान गरिरहेका छन् ? बौद्धिक समुदायमा किन निरन्तर बहसको विषय बनिरहेको छैन ? आलड्ढारिकरूपमा मात्र समाजले तिलक कम गर्नुपर्ने र दहेज हटाउनुपर्ने किन बताइरहेको छ ?

समाज निकै पछौटे छ । निकै पछाडि परेको समाजलाई अगाडि बढाउन राज्यको निकै ठूलो योगदान आवश्यक पर्छ । राज्यलाई सहयोग गर्न बौद्धिक व्यक्तित्वको आवश्यकता पर्दछ । अहिले पनि राज्यले तिलक र दहेजको विरोधमा कानुन निर्माण गरेको छ । कानुनको पालना गराउन चेतना जगाउने सम्बन्धमा बुद्धिजीवीहरूको ठूलो भूमिका हुन्छ । यसका लागि बुद्धिजीवीहरू तयार भएको देखिंदैन । यस कुरोलाई त केही हदसम्म सहय मान्न सकिन्छ किनभने वर्तमान तरल अवस्थामा बुद्धिजीवीले आफ्नो भूमिका गौण भएको मानेको हुन सक्छ । राज्यको धेरै अ· तथा निकाय पुनर्संरचनाको चरणमा रहेकोले बुद्धिजीवीहरूको ध्यान त्यतातिर गएको पनि हुन सक्छ । राज्यको नवीन संरचना तथा आन्दोलनपछिको अवस्थामा आफूलाई समायोजन गर्न बुद्धिजीवीहरूलाई समय लगाउनुपरेको हुन सक्छ तर समाजलाई निरन्तर आफ्नो अनुकूल बनाउने प्रयासमा रहने हिन्दू धर्म तथा संस्कृतिसित सम्बन्धित रहेका संस्था तथा अगुवाहरूको ध्यान चाहिं किन जान नसकेको होला ? समाजप्रति उत्तरदायित्वलाई पनि बिर्सेको हो कि ? हैनभने समाजमा धर्म परिवर्तन गर्नेहरूको सङ्ख्या बढिरहेको अवस्थामा धर्म परिवर्तनको कारणबारे किन कसैले चिन्ता र चासो व्यक्त गरेको देखिंदैन ? धर्म परिवर्तनले हिन्दू धर्मावलम्बी र हिन्दू संस्कृति मान्नेहरूको सङ्ख्यामा पनि कमी आइरहेको छ ।

पछिल्लो संविधानसभा निर्वाचनमा हिन्दुत्वको नाराले पनि निकै चर्चा पाएको थियो । यस चर्चाले अहिलेसम्म सेलाउने नाम लिएको छैन । संविधानमा पनि हिन्दू धर्म राख्नुपर्ने विषयले निकै चर्चा पाएको थियो । यसको चर्चा पनि अहिलेसम्म सेलाउन पाएको छैन । नेपालका धेरै जनताको चाहना तथा सोचाइ अहिले पनि हिन्दू धर्म अनुरूप रहेको छ । हिन्दू समाजमा हुने संस्कार तथा संस्कृति अनुरूप धेरैले आफ्नो संस्कार तथा संस्कृति मानिरहेका छन् । धर्मप्रति हाम्रो समाज अलिकति पनि उदासीन छैन । धर्मको अपमान तथा अवमानना कसैले गर्न पनि चाहेको पाइँदैन तर जुन कारणले मानिस धर्म परिवर्तन गर्न चाहिरहेका छन्, त्यसको निराकरणमा अत्यन्तै उदासीन देखिएका छन् । चुनावमा भोट दिने तथा संविधानमा समेत हिन्दुत्वलाई स्थान दिन चाहनेहरूले हिन्दू समाजबाट कलड्ढको टीका किन मेटाउन चाहिरहेका छैनन् ? हिन्दू समाजमा निरन्तर क्षयीकरणमा सहयोग गरिरहेको तिलक र दहेजप्रथा हटाउन हिन्दुत्वको नारा लगाउन पछि नपर्नेहरू किन अघि सर्दैनन् ?

तिलक र दहेजका कारण अनेक विकृति तथा विस·ति जन्मेर समाजलाई बर्बाद गरिरहेको सबैले देखिरहेकै छौं । कतिपयले आत्महत्या गरिरहेका छन् । कतिको हत्या गरिएका समाचार पनि आउँछ । दिनहुँ मारपिट र झगडाका कुरा सुनिन्छ । महिला तथा बालबालिका कार्यालयमा आउने मुद्दाहरूमा तिलक र दहेजसित सम्बन्धित मुद्दाहरूको उल्लेख्य सङ्ख्या हुने गरेको छ । अनमेल विवाह, बहुविवाह तथा अन्य किसिमका समस्याहरू देखिएका छन् । कतिपय अदृश्य किसिमका समस्या पनि हुने गरेको छ । यस किसिमका समस्याहरू निरन्तर आइरहेको भए पनि समस्याको निराकरण गर्नेतिर खासै कसैले ध्यान नदिएको देख्दा पनि अचम्म लाग्दैन । अचम्म नलाग्ने कारण के पनि छ भने तिलक र दहेज प्रथाबीच समाजमा नयाँ बालक पनि हुर्किरहेको छ । सानो बालकले पनि भोलि ठूलो भएर म तिलक लिन्छु भन्न थाल्छ । बालकहरूमा समेत यस किसिमको संस्कार हुर्किरहँदा गरिबीको कारणले धान्न नसक्नेहरू अन्य धर्मतिर आकर्षित भइरहेका छन् । धर्म परिवर्तन गर्नेहरू पनि आफ्नो सम्पूर्ण संस्कार बिर्सन सक्दैनन् र नयाँ धर्मको सम्पूर्ण संस्कार एकैपल्ट आत्मसात गर्न सक्दैनन् । यसले पनि नयाँ विकृति ल्याइरहेको छ । समाजको मौलिकता हराउन सहयोग पुगिरहेको छ ।

एक दुईजनाले गरेर परिवर्तन सम्भव छैन । अबको समयमा बौद्धिक आन्दोलनको आवश्यकता छ । हे बौद्धिक समुदाय, आफ्नो जिम्मेवारीलाई बुझ र समाजको कलड्ढको रूपमा रहेको तिलक र दहेजप्रथा हटाउन आफ्नो ऊर्जा लगाऊ । समाजका धेरै समस्या आफैं हराएर जानेछ । समाजलाई अगाडि बढ्न रोक्ने धेरै व्यवधान जन्माउने यस कलड्ढ हटाउन सबैजना तयार होऊ।।

sanjay mitra
सञ्जय साह मित्र/Prateek Daily

 

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button