सर्वसाधारण : दुई ढुङ्गाबीचको तरुल
अहिले देशको विषम परिस्थिति रहेको छ। विषम परिस्थिति हुन त राजनैतिक कारणले भएको हो। राजनीतिको कारणबाट हुने कुनै पनि पीडाले समाजको हरेक वर्ग र क्षेत्रलाई प्रभावित पारेको हुन्छ।
नेपालको सन्दर्भलाई अहिले विश्वले नियालिरहेको छ। नेपालको आन्तरिक कुरो अहिले विश्वको राजनैतिक बजारमा यसरी गएको छ कि यसको प्रत्येक गतिविधिमा विदेशको चासो देखिएको छ। विदेश भन्नाले पहिलेकोजस्तो नेपालको विषयमा भारतमा मात्र चासो व्यक्त गरिंदा पनि विदेश भन्ने गरेको सीमारेखाभन्दा निकै टाढासम्म नै हो। नेपालमा नयाँ संविधान जारी हुनुभन्दा पहिलेदेखि जारी भइसकेपछिको वर्तमान अवस्थासम्म नेपालको चर्चा निरन्तर बढिरहेको छ। नेपालको विदेशसितको सम्बन्ध र विदेशमा नेपालको परिचर्चाले नयाँ उचाइ प्राप्त गर्दै गएको वर्तमानमा प्रचलित सामाजिक सञ्जालदेखि चलिरहेका अन्य मिडियाहरूले देखाएका छन्।
नेपाली राजनीतिको वर्तमानमा टेकेर हेर्ने हो भने नेपाली समाज वास्तवमा दुई ढुङ्गाबीचको तरुल भएको देखिएको छ । पहिलेको उखान अनुसार नेपाललाई दुई ढुङ्गाबीचको तरुल भनिन्थ्यो। अहिलेको बाहय राजनीतिक अवस्थाले गर्दा यो उखान पनि केही हदसम्म चरितार्थ भएको लागिरहेको छ समाजलाई। संविधान त आन्तरिक र बाहय दुवै दृष्टिले मिलन बिन्दुको हुनुपर्ने हो तर किन हो किन यसले नेपालको आन्तरिक सामाजिक अवस्थालाई पनि मिलनको ठाउँबाट अलि परतिर लैजाँदै गरेको र नेपालको विदेश सम्बन्धलाई पनि प्रभावित पारिरहेको हो कि भन्ने आभास सर्वसाधारणलाई भइरहेको छ। कारण सबैलाई थाहा भएकै हो। नेपालको विषम परिस्थितिको कारण विदेशको चासो पहिलेको भन्दा निकै बढेको देखिएको छ र नेपालको आन्तरिक समाजमा पनि नेपालकै राजनीतिप्रति चासो बढेको पाइएको छ ।
नेपाली समाज पहिलेदेखि साँच्चीकै मिलेर बसेको छ। अहिले पनि जात, धर्म, सम्प्रदाय र समुदायका दृष्टिले फरक भए पनि विभिन्न गाउँमा मानिस मिलेर यसरी बसेका छन्, उनीहरूमा कुनै भिन्नता छैन। जिउँदाको जन्ती र मर्दाको मलामी बनेर एक अर्कालाई परेको पिर वा एक मुठी खुशी मिलेर बाँडेका छन्। तर समाजका सचेत वर्ग वास्तवमा अहिले दोहोरो मारमा परेको छ। सचेत वर्ग र बुद्धिजीवीहरूमा भने कुरालाई छल्ने र समयानुकूल विचार गरेर बोल्ने बानीको विकास हुन्छ। यसले गर्दा यस समूहका मानिस आफूलाई जहिले पनि समयको जानकार भन्ठान्छन्। रङ फेरेर कुरा गर्न खप्पिस भएकाले समयानुकूल बोल्न कुनै अप्ठ्यारो हुँदैन तर सर्वसाधारणलाई भने समस्या हुन्छ। भइरहेको पनि छ। सबैभन्दा बढी अहिलेको वातावरणमा उकुसमुकुस हुने भनेकै सर्वसाधारणलाई हो।
हिमाल होस् कि पहाड वा मधेसको समथर भूमि नै किन नहोस्, वर्तमान अवस्थाले यी सबै भूगोल भित्रको तल्लो वर्गलाई झन् समस्याग्रस्त बनाइदिएको छ। संविधान आइसकेपछिको समयमा पनि देशभित्रको तल्लो वर्गको जीवनमा कुनै सकारात्मक सन्देश आएको छैन। गाउँमा समेत नराम्रो प्रभाव परेको देखिएको छ। एकजना नेपाली काङ्ग्रेसका विद्वान्का अनुसार देशमा गरिबी, भोकमरी, रोग र शोक बढेको छ। पत्रपत्रिका तथा इन्टरनेटले समय समयमा स्पष्ट पारिरहेका छन् कि देशमा बेरोजगार बढेको छ। साथै कामको खोजीमा विदेश जानेको सङ्ख्यामा वृद्धि भएको देखिएको पनि बताइन्छ। हवाईजहाजबाट उडेरभन्दा सीधै भारतमा रोजगारका लागि पस्नेहरू पहिलेको तुलनामा निकै बढेका छन्। मतलब यो कि देशको आन्तरिक समस्या बढ्दै गएपछि घर छाडेर बाहिर जानेहरू बढ्दै गएका छन्। समस्या समाधान हुनुको साटो निरन्तर गहिरिइरहेको हुनाले पनि समाजमा यस किसिमको व्यवहार देखिएको हुन सक्छ।
संविधानले देशमा निकास दिनुपर्ने हो तर संविधान जारी भएपछिको अवस्थामा देशमा अन्योल निकै बढेको छ। अन्योलको क्षेत्र पनि बढेको छ। राजनीतिकर्मीहरूबीच आपसी विश्वास कम भएको छ र कम भएको विश्वासको धरातलमा राजनीति झन् धूमिल भएको छ। धूमिल वातावरणमा सर्वसाधारण नागरिकले राजनेताहरूको अनुहार राम्ररी नियाल्न सकेको छैन। यस कारण समग्र राजनैतिक वातावरणमा एकअर्काप्रति अविश्वासको पर्खाल निरन्तर अग्लिइरहेको छ। सामाजिक सञ्जालहरूमा त झन् निकै छाडा अभिव्यक्तियुक्त आपत्तिजनक कुराहरू देखिन थालेका छन्। कतिपय कुरा त आपसी विश्वासलाई कमजोर बनाउने खालका पनि छन्। सम्बन्धित निकायले पनि नियन्त्रण गर्नु जरुरी हुन्छ तर कसैले नियन्त्रण गर्ने वातावरण नै नबनाउने गरी अभिव्यक्तिलाई संयमित र वाणीलाई सात्विक बनाउनुपर्ने कर्तव्य नागरिकले बिर्सनुहुँदैन। बुद्धिजीवीहरूमा त झन् यस विषम परिस्थितिमा देशको लागि विशिष्ट भूमिका खेल्नुपर्ने बोध हुनुपर्ने हो।
राजनीतिको मारमा परेको समाजले अहिले आफूलाई निकै अप्ठ्यारो अवस्थामा पाएको छ। वास्तवमा राजनीतिको दुई ध्रुवमा रहेको देशको वर्तमान अवस्थामा समाजका सर्वसाधारण तरुलजस्तो अवस्थामा पुगेको छ। राजनीतिक द्वन्द्व साँच्चीकै दुई ढुङ्गाजस्तो भएको देखिएको छ। दुई ठूला ढुङ्गाहरू एकापसमा लडाइँ गरिरहेका छन् र त्यसको झिल्काले समाजमा तापको विस्तार भएको छ। यस झिल्काले समाजमा रासायनिक दुर्गन्ध फैलिएको र समाज धूमिल भएको देखिएको छ। ढुङ्गाको लडाइँमा वास्तवमा अहिलेसम्म समाज कतै सामेल भएको देखिएको छैन। एकले अर्कोमाथि अन्याय गरेको, अत्याचार गरिरहेको, बर्बरता देखाइरहेको तथा भ्रम छरिरहेको आरोप लगाएको अवस्थामा सामान्य नागरिकले सचेत दर्शक वा श्रोताको प्रतिक्रिया दिएको छ। लडाइँका दुवै पक्ष ढुङ्गाजस्तो मन बनाएर लडाइँलाई नै अन्तिम अस्त्र बनाऊलान् भन्ने कुरामा विश्वस्त हुँदै गएका छन्। लडाइँ र झगडाले समस्या समाधान गर्ने कुरामा नेपाली समाजलाई अहिले पनि विश्वास छैन। आखिरमा समस्याको समाधान हुने भनेको वार्ता र सहमतिबाट नै हो। वार्ता र सहमतिको कुनै विकल्प छैन। जब वार्ता र सहमतिको कुरो आउँछ, त्यहाँबाट शान्ति र सद्भावको युग शुरु हुन्छ। नेपाली समाजले यस कुरालाई बुझेकोले एकापसमा लडाइँलाई महत्त्व नदिएको हो् तर दुई ध्रुवमा विभाजित राजनीतिको दुष्प्रभावबाट भने टाढा रहन सकेको छैन।
दुई ढुङ्गाबीचको तरुल देशलाई भनिएको थियो किनभने नेपालको अवस्थिति दुई विशाल देशबीच छ। दुवै देशको चासो आफ्नै किसिमले नेपालमा बढेको अवस्थामा समाजको कतिपय मानिसमा पनि नेपाली राजनीतिको दुई ध्रुवको विचारको प्रभाव परेको छ तर पनि दुवै पक्ष आफ्नै अडानमा रहेकाले अडानको प्रतिफलसमेत सर्वसाधारणको घरमा देखिन थालिएको छ। सर्वसाधारणको लागि दुवै राजनैतिक विचारले खुशी ल्याउन सकेको छैन। नून र तेलको समस्याले सर्वसाधारणलाई पिरोलेकै छ। रोजी–रोटीमा मात्र असर परेको छैन, संस्कृतिमा समेत असर परेको छ।
यस्तो किसिमको कठिन घडी देखिएको छ कि मानिसले विवाहको लागि, पूजाको लागि, कुनै यज्ञको लागि केही नयाँ काम गर्न पाइरहेको छैन। द्वन्द्वले समाजको हरेक पक्ष र क्षेत्रलाई छोएकोले कतै नङ र मासुजस्तो एक र अर्काको परिपूरकको रूपमा बसेका छिमेकीहरूलाई समेत प्रभावित पार्ने त हैन भन्ने चिन्ता थपिएको छ। समाजको एउटा वर्ग चिन्तामा देखिएको छ भने अर्को वर्गले यसै धूमिल वातावरणमा कमाइ गर्न थालेको छ। यस किसिमको दुई समूहबीच फेरि पनि सर्वसाधारण तरुल बनेको छ। कतिखेर दुई ढुङ्गाबीच किचिने भय भएको छ। यी तमाम दुरभिसन्धिबीच फेरि पनि समाजले एकअर्कामाथि गर्व गर्ने दिन चाँडै आओस्।
-सञ्जय साह मित्र-
प्रतिक्रिया लेख्नुहोस