पेट्रोल, डीजल, ग्यास मात्र कष्टको कारण होइन
धर्म निरपेक्ष राष्ट्रमा कुनै एक धर्मसंग गाँसिएको परंपरा असहज हुनु त्यति महत्वपूर्ण बिषय हैन । त्यसैले ९० प्रतिशत भन्दा ज्यादा जनताले बनाएको दावी गरिएको संविधानले संस्थागत गरेको उपलब्धी धर्म निरपेक्षताको रक्षा भएको छ । नेपालीहरुको चाड भनिने गरेको दशैको परंपरामा पहिलो पल्ट राज्यबाट हमला भएको छ ।
केवल भारतको टाउकोमा दोष थुपारेर यी परंपरा निर्वाहन कष्टकर बनाईएको छ । चाडपर्वहरुको कुरा त परै जाओस सामान्य आवागमन समेत हुन नसक्ने अवस्था मुलुकमा सिर्जना हुँदै गएको छ । औद्योगिक उत्पादन त ठप्प भएकै छ खेतीपातीको समयमा राजनैतिक दाउपेच र सत्ताको खेलले कृषि उत्पादनको पनि हानी भएको छ ।
राष्ट्रवादको नयाँ परिभाषा गरिएको छ , भारतिय नाकाबन्दी नभन्नेहरु राष्ट्रवादीको श्रेणीमा पर्दैनन भन्ने हास्यास्पद मान्यता स्थापित गराउने होड चलेको छ । मुलुक ठप्प भएको सय दिनको आसपास पुगीसकेको छ । सीमा क्षेत्रमा त मानौ कथित भारतिय नाकावन्दीले असर गरेको छ अरे तर के बनवासाबाट काकरभिट्टा कुनै नागरिक जानसक्ने बातावरण छ त ? यो त नेपालको आन्तरिक भाग हो । के व्यापार व्यवसाय निर्वाधरुपले चल्नसक्ने अवस्था छ भनेर यो सरकारले दावी गर्न सक्छ ? के वर्तमान कष्टको कारण मात्र पेट्रोल, डिजल र ग्यासको कमी हो ?
वर्तमान सरकार अनौठो गठवन्धनले बनेको छ , राजसंस्थाको विरोध प्रतिवन्धित भएको संविधानको वेलामा नै गणतन्त्रको निमित्त विद्रोह गर्ने र गणतन्त्र उल्लेख भएको संविधान लागु भएको वेलामा नै राजासहितको प्रजातन्त्रको निमित्त आवाज उठाउने दुवै सम्मिलित छन । जनताको मतको यो भन्दा ठूलो अपमान अरु के हुनसक्छ ? त्यसैले वर्तमान सरकारलाई नीति वेगरका नेता र सिद्धान्त वेगरका पार्टीहरुको सरकार भन्न सकिन्छ । त्यसैले आन्तरिक वजार खुल्न नसकेको दोष कथित भारतिय नाकावन्दीमा थोपर्न तल्लिन छ ।
चीनबाट मगाउने नमगाउने विवादमा मुलुकका चेतशिल भनिएका जनता विवाद गर्दैछन । भारतलाई अन्तराष्ट्रिय अदालतमा उभ्याउने जस्ता हावादारी कुरा गरेर आफुलाई लागेको भारतभक्तको छाप धुने प्रयत्न गर्दैछन । तर मुलुकका धेरै सुगम भागमा पनि एक गाँउदेखी अर्को गाँउसम्म आवागमन र ढुवानी गर्न नसक्ने अवस्थाको वारेमा मौन छन । बाहिरबाट थप सामाग्री नआए पनि त्यही वजारमा भएको सामाग्रीहरुको पनि व्यापार सुचारु गराउन सरकार असफल भईसकेको छ भन्ने सत्य स्विकार गर्न सक्दैनन ।
यो समस्याको कति भाग भारतिय अघोषित नाकावन्दीको नाममा पर्दछ ? पहिले यसको उत्तर खोजिनु पर्दछ । महिनौदेखिको बन्दको कारण के हो भन्नेमा समेत भ्रमित सरकारले यसको निराकरण गर्न सक्दैन । सरकारले नै पहिले भन्नु पर्यो यो समस्या राजनैतिक हो कि अपराधिक । यदि अपराधिक हो भने सरकार यति कमजोर भै सक्यो कि सुरक्षावलको निगरानीमा लक्षतर्फ लागेका सवारी साधनमाथी आक्रमण पनि रोक्न सक्दैन ? हैन राजनैतिक हो भने खै यत्रो अवधिसम्म यसको राजनैतिक निकास खोजिएको ?
वर्दी र हतियार सहित सेना व्यारेक बाहिर निस्कनु भनेको संसारभर सेना परिचालन भएको अर्थमा बुझिन्छ । तर नेपालमा यसको पनि अलग्गै परिभाषा गरियो सेनालाई व्यारेक बाहिर हतियार सहित खटाइनु सेना परिचालन होईन । अन्तिम बलको निमित्त मात्र सेना व्यारेक बाहिर निकाल्ने गरिन्छ , सेना यसरी निस्केपछि कि जीतेर फर्कन्छ कि हारेर । त्यसैले अपरिपक्व तरिकाले सेना निकाल्नु र व्यारेक फर्काउनुले यो सरकार संग अव कुनै शक्ति बाँकी छैन भनेर कसैले बुझे भने त्यो बुझाईलाई रोक्न सक्ने को ?
अनगिन्ती ठाँउमा अक्षमता देखाई सकेपछि भारतले यो सरकारलाई एक मद्दत गरिदियो , अघोषित नाकावन्दी गरेर । महिनौदेखि सम्हाल्न नसकेको आन्दोलनको रापलाई भारतिय नाकावन्दीसंग जोडने बहाना दियो भारतले । तर के यो नाबन्दी शुरु हुनुभन्दा पहिले जनजीवन सरल थियो त ? यो प्रश्नको उत्तर नखोजी केवल इन्धन मात्र यो समस्याको जड हो भन्ने कुरा बहुलठ्ठी मात्र हुन जान्छ । चीनबाट इन्धन लिने दवाव बढदो छ । चीनबाट इन्घन आपुर्ति भईसकेपछि पनि यो कष्ट कायम रह्यो भने अहिले सबै कुराको दोष अघोषित नाकावन्दीलाई दिनेहरुले अर्को कुन बहाना खोज्ने हुन त्यो छिटै देखिने छ ।
-स्वयम्भुनाथ कार्की-
विराटनगर १
२०७२।७।८
प्रतिक्रिया लेख्नुहोस