जनता झुक्याउनु, पूर्वाग्रही र भ्रामक समाचार सम्प्रेषण गर्नु अपराध हो
चर्केको चश्माको धमिलो काँचबाट तीन ठूला दलले वर्तमानलाई हेरिरहेको स्पष्ट हुन्छ । तीन दलका शीर्ष नेताहरूको सत्ता स्वार्थ केन्द्रित राजनीति, गलत राष्ट्रवादको चिन्तन र व्यवहारले नेपालमा द्वन्द्व व्यवस्थापन हुँदैन भन्ने देखिएको छ । विकट तथा दुर्गम गाउँहरूमा संचार माध्यमका कारण जनतामा चेतनाको स्तर निकै बढेको छ । जनताको दु:ख पीडालाई नबुझ्ने शासन, प्रशासन अब टिक्दैन । अबका दिनहरूमा जनता झुक्याउनु, पूर्वाग्रही र भ्रामक समाचार सम्प्रेषण अपराध हो ।
संविधानसभाबाट संविधान त बन्यो तर नेपाल र नेपालीको सर्वोत्तम हित गर्ने, सबै पक्षलाई मान्य हुने, शान्ति र एकता कायम गर्ने संविधान बनेन । जसका कारण मधेशी जनताले निकै लामो र कठिन संघर्ष गर्नु परिरहेको छ । नयाँ संविधान र नयाँ सत्ता, राज्यको पुनर्संरचना, सामाजिक आर्थिक रुपान्तरणका कुरा गर्ने दलहरू यतिखेर देशमा शान्ति खल्बलिएको कारण ‘किं कर्तव्य विमुढ’ भएका छन् ।
समस्यामाथि समस्या थपिएबाट आश्चर्यचकित भएका छन् । “रोगको पहिचान गरी औषधि उपचार” को उपाय गर्न नसक्दा अहिलेको यो कहालीलाग्दो परिस्थिति आएको हो । तीन दलको सिण्डिकेटले संविधान निर्माणमा हत्तारिएको कारण यो दुष्परिणाम देखापरेको हो । देश र जनताले पाउनुसम्मको सास्ती खेप्नु परेको हो । जनता झुक्याउने, जनतालाई उधारोमा राख्ने, विद्यमान सबैखाले समस्यालाई थांति राख्ने, पछि गर्ने प्रवृत्तिले गर्दा देशको राजनीति र कुटनीति असफल भएको छ । दलहरू असफल भएको छ राष्ट्र नै असफल हुन लागेको छ । नेपाली स्वाधीनता, स्वाभिमान पक्षधर आम जनताको एउटै कामना छ दलहरू असफल हुन् तर राष्ट्र असफल नहोस् । म मरेपनि मेरो देश बाँचिरहोस् । नेपाल नै नरहे हामी कसरी रहन्छौं भन्ने भावना बोकेका नेपालीहरूको एकता बिना नेपाली राष्ट्रवाद टिक्न सक्दैन ।
खोक्रो राष्ट्रवादको नारा र अभिव्यक्तिले वर्तमान जटिल संसारमा टिकाउन पनि सकिंदैन । सत्तासिनहरू बाह्य उपनिवेशका कुरा गरिरहेका छन्, तराइ मधेशका जनता आन्तरिक उपनिवेश र उत्पीडनको कुरा उठाइरहेका छन् ।
नेपालको संविधान २०७२ ले सम्पूर्ण क्षेत्रका सम्पूर्ण नेपालीहरूमा भावनात्मक एकीकरण गर्न सक्नुपथ्र्यो तर ठूला दलहरूको दुराग्रहका कारण सकेन । जनसंख्याको आधारमा निर्वाचन क्षेत्र, समानुपातिक समावेशी व्यवहार हरेक ठाउँमा, संघको सीमांकन, पहिचानसहितको संघीयताको माग के जायज छैन ? राजनीति मूल प्रवाहबाट तराइ मधेशका जनतालाई टाढा राखेर भारतलाई अनावश्यक चिढाएर अब शासन गर्ने दिन गयो । नयाँ संविधान अन्तर्गत शासन गर्ने हो भने तराइ–मधेशका असन्तुष्ट पक्षलाई जतिसक्दो छिटो वार्ताको माध्यमबाट सन्तुष्ट पार्नु पर्दछ । उनीहरूको जायज र न्यायोचित माग पूरा भएपछि राष्ट्रवाद यसै बलियो हुन्छ । राष्ट्रवाद बलियो नभएसम्म नेपाल र नेपाली सुखि समृद्धि हुन र शान्त रहन सक्दैन । तराई मधेशको संवेदनशीलता गम्भीरतालाई बुझेर प्राथमिकतामा राखेर शासनसत्ता अगाडी बढ्नु पर्दछ । होइन भने नेपाल र नेपालीको भलाई हुन सक्दैन । डरलाग्दो राजनीतिक यात्रा, जोखिमपूर्ण राजनीतिक यात्रा छोडेर असल राजनीति, असल कुटनीतिको माध्यमबाट असल शासन कायम हुनु पर्दछ ।
-उमेश साह कानु/बिरगंज-
प्रतिक्रिया लेख्नुहोस