कसका लागि चाड
घुमीफिरी रूम्जाटार भनेझैं नेपालीहरूको चाड यस वर्ष पनि हुनेखानेहरूकै लागि फलिफाप भएको छ । नेपालीमा एउटा अर्को पनि उखान छ, बार्ह वर्षपछि घैंटोमा पनि घाम लाग्छ, त्यो उखान चाहिं गरीब, सीमान्तकृत नेपाली त के मध्यम वर्गीयको भाग्यमा पनि देखिएन नै, हुनेखानेहरू पनि पेट्रोलियम पदार्थको अभावमा यस पालि दीनदु:खी नै देखिए ।
साउनमा आँखा फुटेको गोरुले बार्है महिना हरियो देखेझैं सत्तामा बस्नेहरूका लागि नयाँ संविधान जारी भएसँगै दशैं र तिहारको धुइरो लागेको छ । हुन पनि सबैले दु:ख पाइरहेको बेला पुगिआउनेले किन सबैको भागको सुख नभोग्नु ? भारतीय इतिहासमा एकजना मुद्राराक्षस थिए । तिनलाई परिवारसहित कुवामा कैद गरिएको थियो र एकजनालाई मात्र पुग्ने खान दिइन्थ्यो । मुद्राराक्षसले परिवारका सामु प्रस्ताव राखे जसले दुष्ट राजासँग बदला लिन सक्छ उसले मात्र खाओस् र बाँचेर राजासँग बदला लेओस् । सर्वसम्मतिबाट त्यस्तो आँट मुद्राराक्षसमा मात्र निहित रहेकाले परिवारलाई भोकभोकै राखेर मुद्राराक्षसले पछि राजासँग बदला लिएका थिए ।
यस अर्थमा प्रधानमन्त्री केपी ओलीले आफ्ना लागि ६ जना उउप्रधानमन्त्री नियुक्त गरी मरणासन्न नेपालीको जीवनको मूल्यमा राज्यकोष रित्याउने रणनीति लिएका हुन्, मुद्राराक्षसको भूमिकामा बसेर नेपालीलाई सास्ती भएको अवस्थाबाट भोलि त्राण दिने हुन् भने नेपालीले ओलीलाई नेपाली इतिहासमा चिरस्मरणीय बनाउने छन् । तर के मुद्राराक्षसको जस्तो प्रण गरेर ओली सत्ताशीर्षमा बसेका हुन् र भोलिको सुन्दर र सम्पन्न नेपाल बनाउन आफ्नो शक्ति बढाएका हुन् ? यसमा भने विश्वास गर्न अन्य कोही त के प्रधानमन्त्री ओली स्वयंलाई पनि विश्वास छैन होला । किनकि जुन विषम परिस्थितिमा उनी प्रधानमन्त्री भए, त्यसबाट मुक्त हुने कुनै योजना न उनले अघि सार्न सकेका छन् न त्यस्तो केही गर्ने उनको मनसुबा नै देखिएको छ । उनले गर्न सक्ने र देखिएको एउटै कुरा के भने–आकाश से गिरे खजुर में अटके । अर्थात् भारतको आश्रय छाडेर चीनको आश्रय लिने । घुमीफिरी रूम्जाटार भनेको यही हो । भारतीय हेपाहा नीतिविरुद्ध नेपालीलाई स्वावलम्बी बनाउने होइन कि भारतीय हेपाहा नीतिविरुद्ध कालान्तरमा चिनियाँ हेपाहा नीतिलाई प्रश्रय दिने । किनकि स्वभाव अनुसार नेपाली शासकहरूले गर्न त केही जानेका छैनन् । केही गर्ने न बुद्धि छ, न आँट नैस परमुखापेक्षी बन्नुबाहेक । भोलि हुने त्यही हो ।
मधेसमा आन्दोलनरत मधेसवादी दलहरू संसद्मा पुग्दा समस्या समाधानको किनारा फेला पर्ने जुन आश पलाएको थियो त्यो तिहार मात्र होइन, छठसम्मका लागि तुहिएको छ । अब मङ्सीर ६ गते मात्र संसद् बस्नेछ र कुनै कारबाई शुरु हुनेछ, त्यसबीच तिहार र छठ बितिसक्नेछ । तिहार सबै नेपालीको पर्व र छठ खासगरी सबै मधेसवासीको पर्व । इन्धन छैन, साजसामान छैन, चुलो बल्दैन त के भो, सत्तामा बस्नेहरूलाई यस कुराको पिर कहाँ हुन्छ र १ सत्तामा बस्नेका लागि त कुन होटलमा कस्तो सुविधा प्राप्त हुन्छ, कुन देशको भ्रमण गर्दा बढी भत्ता पाइन्छ, कुन मन्त्रालय लिंदा कमाउन सजिलो हुन्छ, त्यतिकै ध्याउन्न हुन्छ । त्यस्ताका लागि तिथिमिति जुरेर दशैं तिहार आउनुपर्दैन । त्यस्तालाई जहिले पनि दशैं, जहिले पनि तिहार!!
-Prateek Daily-
प्रतिक्रिया लेख्नुहोस