जनतालाई सडकमा आउन आग्रह आन्दोलन निर्णनायक हुने –पूर्व न्यायाधीश
रौतहट, ६ भदौ – पूर्व न्यायाधीश बलिराम कुँवरले मधेसीलाई आफ्नो हक अधिकार लिन सडकमा आउन आग्रह गरेका छन् । रिपोर्टर्स क्लब रौतहटद्वारा आयोजित पहिचानसहितको सङ्घीयता र आत्म निर्णयको अधिकार विषयक कार्यक्रमलाई सम्बोधन गर्दै २४० वर्षको पीडा अब खप्न नसकिने बताए ।
मधेसी जन अधिकार फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष अजयकुमार गुप्ताले आफ्नो पार्टीका राष्ट्रिय अध्यक्ष विजयकुमार गच्छदारलाई चार दलको गठबन्धनबाट बाहिर आउन बाध्य बनाएको बताए । चार दलीय सहमतिमा हाम्रो पार्टीले लिएको निर्णयको विरोध गर्दै मधेसीको हक हितमा मसाल जुलुस प्रदर्शन गरेको बताए ।
रिपोर्टर्स क्लब शाखा कार्यालय रौतहटका अध्यक्ष अभिमन्यु पटेलको अध्यक्षतामा तमलोपाका बाबूलाल साह, अनिल सिंह, अरुण सिंह, सद्भावना पार्टीका केन्द्रीय सदस्य योगेन्द्र यादव, सङ्घीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष रामनिवास यादव, सद्भावना पार्टीका जिल्ला अध्यक्ष शेख जमसैद, शिक्षक लोकतान्त्रिकका कमलेश सिंह, युवा प्रकाश भाई, तमसपाका जिल्ला अध्यक्ष नुरूल होदा, सद्भावना पार्टीका रणधीरकुमार सिंहलगायत वक्ताहरूले पहिचानसहितको सङ्घीयता र आत्म निर्णयको अधिकार नदिएसम्म आन्दोलन जारी रहने प्रतिबद्धता गरेका थिए ।
-Prateek Dainik-
प्रतिक्रिया लेख्नुहोस