Rautahat News

आन्दोलनको फाइदा उठाउँदै रौतहटमा चोरी र लुटपाट

रौतहट, १७ पुस – जारी मधेस आन्दोलनको कारण जनता र प्रहरीबीचको सम्पर्क फितलो हुन पुगेको कारण आपराधिक तत्त्वहरूको चलखेल बढ्न थालेको रौतहटका प्रहरी अधिकारीहरूले बताएका छन् ।
केही व्यक्तिहरू मधेस आन्दोलनको आडमा लुटपाट तथा चोरीलगायतका आपराधिक घटनाहरूमा संलग्न हुन थालेका जिल्लाका प्रहरी अधिकारीहरूको भनाइ छ ।

चन्द्रनिगाहपुर–गौर सडकखण्डमा बिहान मानिसहरूको आवतजावत कम हुने समयको मौका छोपी यात्रुहरूलाई लुटपाट गर्ने क्रम बढेको छ । राजधानीलगायतका विभिन्न स्थानबाट रोजगार गरी घर फर्किंदै गरेकाहरू सो क्षेत्रमा दिनहुँ लुटिन थालेका छन् ।

पैदल एवं साइकल तथा मोटरसाइकलमा सवार यात्रुहरू लुटिने क्रम बढेको र सो क्रममा कुटपिट तथा छुरा प्रहारलगायतका घटनाहरू भएको रौतहटका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले बताएका छन् ।

सम्बन्धित प्रहरी एकाइबाट सघन पेट्रोलिङ गर्ने गराउने तथा हालसम्म घटित घटनाको गहिरिएर अनुसन्धान गर्ने काम शुरू गरिएको उनले जानकारी गराएका छन् ।

यसै क्रममा भारत विहार मोतीहारी फूलवरियाका किसनकुमार जैसवाल बिहीवार लुटिएका छन् ।

रौतहट झुनखुनवास्थित बम नहर सडकखण्डमा उनी लुटिएका हुन् । लुटेराहरूले जैसवाललाई छुरा प्रहार गरी उनीसँग भएको नेपाली २० हजार रुपैयाँ, भारु २० हजार रुपैयाँ र मोबाइल लुटी फरार भएका छन् ।

जैसवाल चन्द्रनिगाहपुरबाट भाडाको मोटरसाइकलमा चढी गौरतर्फ आउने क्रममा लुटपाट भएको हो । घटनाबारे अनुसन्धान गर्दै जाने क्रममा झुनखुनवा–८ बस्ने वर्ष ३० का मुनचुन भन्ने अनिल यादवलाई छुरी र केही नगदसहित प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यसैगरी चोरी गर्ने प्रयास गरेको अभियोगमा गौर–९ बस्ने करण यादवलाई प्रहरीले पक्राउ गरेको छ । मादकपदार्थ सेवन गरी गौर–१ स्थित प्रकाश ठाकुरको घरमा चोरी गर्न खोज्दा यादव पक्राउ परेको जिप्रका रौतहटका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले बताए ।
-Prateek Daily-

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button