Birgunj News

१३ औं दिन पनि बन्द जारी, रक्षाबन्धनमा बजार खोल्न फोरम लोकतान्त्रिकको आह्वान

परवानीपुर, १० भदौ – वीरगंजमा आन्दोलनरत दुईवटा मोर्चा र आजदेखि आन्दोलनमा सहभागी मधेसी जनाधिकार फोरम लोकतान्त्रिक गरी तीनवटा समूहले नाराबाजी, जुलुस प्रदर्शन र कोणसभा गरेका छन् । नेपाल सद्भावना पार्टीले साउन ३० गतेदेखि भदौ १ गतेसम्म तीन दिने मधेस बन्दबाट शुरु भएको बन्द आज १३ औं दिन पनि जारी छ ।

आज पनि बिहानैदेखि चोकहरूमा आन्दोलनकारीहरूले टायर बालेर बन्द सफल पार्न गरेको आह्वानस्वरूप लामो तथा सानो दूरीका सवारीसाधनहरू सञ्चालनमा आएनन् । शिक्षण संस्थाहरू पनि आज १३ औं दिन खुल्न सकेन ।

आजदेखि आन्दोलनमा होमिएको फोरम नेपाल लोकतान्त्रिकले वीरगंजमा प्रदर्शनपछि परवानीपुरमा आयोजना गरेको कोणसभामा सो पार्टीका जिल्ला अध्यक्ष शशिकपुर मियाँले शैक्षिक संस्था खोलिनुपर्ने तर्क गरे । उनले तराईको महानपर्व रक्षाबन्धनको अवसरमा पनि बजार दुई दिन खुला गर्न अपील गरे । तर हिजो रेडियो वीरगंजले गरेको संवादमा सङ्घीय समावेशी मधेसी मोर्चाका समाहित रामपसाका केन्द्रीय सदस्य राजेशमान सिंहले पनि रक्षाबन्धन पर्वको अवसरमा दुई दिन बन्द खुला गर्ने आग्रहलाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पर्साका संयोजक प्रदीप यादवले अस्वीकार गरेका थिए ।

बारामा रक्षाबन्धनका लागि सवारी साधनबाहेक बजार खुला गरेको कुरालाई वीरगंजमा पनि लागू गर्नुपर्ने कुरामा मत बाझिएपछि बन्द खुल्ने कि नखुल्ने अन्योल वीरगंजमा देखिएको छ । यद्यपि आजदेखि आन्दोलनमा उत्रेको फोरम नेपाल लोकतान्त्रिकका जिल्ला अध्यक्ष मियाँले घण्टाघरमा बजार खुला गर्न गरेको आह्वानपछि दिउँसोदेखि नै वीरगंजका ७५ प्रतिशत बजार खुलेको थियो । बन्दको क्रममा साँझ ५ बजेपछि खुल्दै आएको बजार आज अपराह्नदेखि खुलेको हो । बजार खुलेपछि आन्दोलनकारीहरूले कुनै अवरोध भने गरेका छैनन् ।

बिहान १० बजेदेखि ११ बजेसम्म मोर्चाका कार्यकर्ताहरूले जुलुससहित बजार परिक्रमा गर्नै र साँझ घण्टाघरमा कोणसभा गर्ने कार्य गर्दै आएकोमा साँझपख खुल्ने बजारलाई कसैले अवरोध गरेको छैन ।
प्रस, वीरगंज/
वीरगंज, घण्टाघर चोकबाट निस्केको मोटरसाइकल र्‍याली माईस्थान, आदर्शनगर, घडिअर्वालगायत स्थानको परिमक्रमा गरी परवानीपुर बजारमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै मधेसी जन अधिकार फोरम लोकतान्त्रिक पर्साका अध्यक्ष शशिकपुर मियाँले मधेसमा झापादेखि पर्सासम्म मधेस प्रदेश –१ र चितवनदेखि कैलालीसम्म थरूहट मधेस प्रदेश–२ गरी दुईवटा प्रदेश बनाउन माग गरेका छन् ।

उनले केही मधेसवादी दलहरूले दलाली गरेर वीरगंज–पथलैया औद्योगिक करिडरका उद्योगहरू चलाइरहेको सूचना पाएकोले परवानीपुर क्षेत्रका जनतासँग ती उद्योगहरूलाई बन्द गरी आन्दोलनमा सहयोग गर्न आग्रह गरे । अध्यक्ष मियाँले यही भदौ १२ गते परेको रक्षबन्धन पर्वका लागि एक दिन बजार तथा पसल खोल्ने वातावरण तयार पार्न आग्रहसमेत गरे ।

कोणसभामा फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य डा. कृपासिन्धु चौधरीले शीर्ष तीन दलले सोर्‍ह बुँदे सम्झौता अनुसार नेपालमा ८ प्रदेश बनाउने सम्झौता लत्याएर अघि बढ्न खोजेपछि मजफो लोकतान्त्रिक आन्दोलनमा आएको र मधेसको सवालमा पार्टीको मुद्दा सम्पूर्ण मधेसीको लागि स्पष्ट रहेको धारणा राखेका थिए । उक्त कोणसभामा शुक्रवार वीरगंजमा बृहत् लाठीजुलुस पं्रर्दशनमा सहभागी हुन आग्रंह गरिएको थियो ।

कोणसभामा जिल्ला नेता सरोजकुमार यादव, राजु गुप्ता, शिक्षक नेता चन्देश चौहान, एन प्याब्सन पर्साका पूर्व अध्यक्ष इमामुद्दिन अहमद, ईश्वरचन्द्र यादव, किशोरी ठाकुर लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

-Prateek Dainik-

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button