११ वडा सङ्घर्ष समिति गठन
४ मङ्सिर/वीरगंज – ९९ दिनदेखि बन्द र ५९ दिनदेखि नाकाबन्दीलाई सशक्त तथा प्रभावकारी बनाउन वीरगंज उपमहानगरपालिकामा गाभिएका ११ वटा गाविसको भेला सम्पन्न भएको छ । ११ वडा सङ्घर्ष समितिको नामबाट गठित सङ्घर्ष समितिले मधेस आन्दोलनलाई सार्थक तथा निर्णायक बनाउन समितिले भोलिदेखि आफ्नो अभियान शुरू गर्ने जनाएको छ ।
सुगौली गाविसस्थित शारदा माविमा भएको भेलाले केही दिनयतादेखि केही व्यक्तिहरूको पहलमा सुक्खा बन्दरगाहबाट सामान निर्बाधरूपमा गइरहेको, डिजल–पेट्रोल तस्करी गर्नुका साथै आन्दोलनविरुद्ध अन्य गतिविधि गर्न थालेपछि यस्ता कार्यहरू हुन नदिन प्रतिबद्धता व्यक्त गरेको थियो । वीउमनपामा हालै आबद्ध गाविसहरू सुगौली बिर्ता, हरपतगंज, अलौं, विन्ध्यवासिनी, लिपनी, भवानीपुर, मनियारी, रामगढवा, श्रीसिया, उदयपुर घुर्मीलगायतका स्थानीय बासिन्दाले मोर्चा बनाइ ड्राइपोर्ट–परवानीपुर सडकखण्ड पूर्णरूपमा ठप्प पार्ने सन्नी दुबेले जानकारी गराएका छन् ।
आज सम्पन्न भेलामा भोजपुरिया लोक परिषद् मञ्चका लालबाबू पटेल, स्थानीय बासिन्दा रामबाबू पटेल, मुकेश द्विवेदी, रामाशड्ढर द्विवेदी, उपेन्द्र यादव, वीरेन्द्र यादव, जनक राउत, उमेश पटेललगायतले धारणा राखेका थिए । भेलामा सो वडाका समाजसेवी, बुद्धिजीवी, शिक्षक, स्वतन्त्र व्यक्तिहरूलगायतको उपस्थिति थियो ।
-Prateek Daily-
प्रतिक्रिया लेख्नुहोस