Bara NewsBirgunj News

सुपर ग्यास प्रालि उद्योगमा लागेको आगो नौ घण्टापछि नियन्त्रणमा

सुपर ग्यास प्रालि उद्योगमा लागेको आगो नौ घण्टापछि नियन्त्रणमा आएको छ ।

वीरगञ्ज महानगरपालिकाको वडा नं २२ मा सुकसैनामा रहेको सुपर ग्यासमा आज बिहान ६ बजेदेखि लागेको आगो अपराह्न २ बजे मात्रै नियन्त्रणमा लिन सकिएको हो ।

स्थानीय बासिन्दा, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपालको विभिन्न जिल्ला तथा सीमावर्ती भारतीय सहर रक्सौलबाट आएका बारुणयन्त्रको सहयोगमा आगोलाई नियन्त्रणमा लिइएको पर्साका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले जानकारी दिए ।

फायर एक्स्टिंग्युजरको सहयोगमा उद्योगभित्र रहेका ग्यास बुलेटको आगो निभाएपछि बाँकी स्थानमा लागेको आगोलाई अमलेखगञ्ज तथा रक्सौलबाट आएका रसायनयुक्त बारुणयन्त्रको सहयोगमा नियन्त्रणमा लिइएको प्रजिअ सिंहले बताए ।

आगलागीले उद्योगभित्र रहेका ४ वटा ग्यास बुलेटमध्ये एउटा बुलेट नै विष्फोट भएर धवस्त भएको छ भने अन्य तीन वटा बुलेट रहेको गाडी जलेर नष्ट भए पनि बुलेटमा भने क्षति पुगेको छैन ।

उद्योगमा भएको क्षतिको विवरण तत्काल यकिन गर्न नसकिएको स्थानीय प्रशासनले जनाए पनि उद्योग सञ्चालक अबुलेश अंसारीले
करिब रु १० करोड बराबरको क्षति भएको बताएका छन् । उद्योगभित्र रहेको दुईवटा ग्यास ओसार पोसार गर्ने ट्रक, सयौं सिलिण्डर समेत जलेर नष्ट भएको अनसारीले जानकारी दिए ।

उद्योगका लागि भारतबाट आयात गरिएको खाना पकाउने एलपिजी ग्यास अनलोड गर्ने क्रममा ग्यास चुहिएको र सोही ग्यासलाई नियन्त्रण गर्न घटनास्थल पुगेको बारुणयन्त्रको इञ्जिनबाट आगो सल्की आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको स्थानीय प्रशासनले जनाएको छ ।

आगो निभाउन पुगेको बारुणयन्त्रका अग्नि नियन्त्रक मधुसूदन मिश्र र यादवप्रसाद अधिकारीको मृत्यु भएको छ भने बारुणयन्त्रका चालक अरुणकुमार महतो र अग्नि नियन्त्रक संजीव नेपाल गम्भीर घाइते भएका छन् ।

घाइते दुवै जनालाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको र उनीहरुको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

आज बिहान  उद्योगका कर्मचारीले भारतबाट ल्याइएको खाना पकाउने ग्यासलाई उद्योगको मूल भण्डारण गर्ने ट्यांकीमा अनलोड गर्ने क्रममा ग्यास चुहिएको अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
जियालाल साह, वीरगञ्ज

प्रतिक्रिया लेख्नुहोस

Source
Himalkhabar
Show More

Related Articles

Back to top button