Birgunj News

सशक्त आन्दोलनको लागि समावेशी मोर्चा गठन भएको नेता पटेलको दाबी

वीरगंज, ५ भदौ – भदौ १ गतेदेखि अनिश्चिकालीन आन्दोलनमा होमिएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र नेपाल सद्भावना पार्टीलगायत अन्य दलका एकतामा क्रमश: परिवर्तन भइरहेको छ ।

साउन ३० गतेदेखि तीन दिने मधेस बन्द गरेको नेपाल सद्भावना पार्टी र साउन ३१ गतेदेखि दुई दिने तराई–मधेस–थरुहट बन्द गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच बन्दको क्रममा एकता बनेको थियो । तर अनिश्चिकालीन बन्द घोषणा भएको तेस्रो दिनदेखि नेपाल सद्भावना पार्टीसमेत ६ वटा दलहरू अलग्गिएर सङ्घीय मधेसी मोर्चा गठन गरे ।

बन्दको आठौं दिन र अनिश्चिकालीन बन्दको पाचौं दिन शनिवार सङ्घीय मधेसी मोर्चामा थप दुईवटा दल समावेश भएर सङ्घीय समावेशी मधेसी मोर्चा गठन भएको छ ।

नेपाल पत्रकार महासङ्घ पर्साको सभाहलमा शनिवार पत्रकार सम्मेलनको आयोजना गरी मोर्चाका नेता शिव पटेलले सङ्घीय समाजवादी पार्टी पर्साका अध्यक्ष रहिसकेका महमद शरीफ र केन्द्रीय सदस्य राजकुमार यादव समूह आफ्नो मोर्चामा समाहित भएको जानकारी गराए ।

उनले सङ्घीय समाजवादी फोरम नेपालको एक घटक र तराई–मधेस सद्भावना पार्टी आफ्नो मोर्चामा समाहित भएकाले मोर्चाको नाम परिवर्तन गरी सङ्घीय समावेशी मधेसी मोर्चा गठन गरिएको बताए । उनले आजदेखि मोर्चामा आठ दल समावेश भएका र थप दलहरू समावेश हुन सक्ने सम्भावनालाई दृष्टिगत गरी सङ्घीय समावेशी मधेसी मोर्चा नामाकरण भएको प्रस्ट्याए । उनले नवगठित मोर्चाको संयोजक चार/चार दिनमा प्रत्येक दलबाट आलोपालो हुने पनि बताए ।

आजदेखि मोर्चाको कमान्ड महमद शरीफले चार दिनसम्म सम्हाल्नेछन् । मियाँ र राजकुमार यादव हालै एकीकरण भएको सङ्घीय समाजवादी फोरम नेपालसँग आबद्ध छन् । फोरम नेपालको एक घटक संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा शुरूदेखि नै छ ।

पत्रकार सम्मेलनपछि दैनिक मोटरसाइकल र्‍यालीलाई शनिवार पनि निरन्तरता दिइएको थियो । ८ दलको सहभागितामा भएको मोटरसाइकल र्‍याली अन्य दिनको तुलना भव्य थियो । मोटरसाइकल र्‍यालीपछि घण्टाघरमा कोणसभा गरिएको थियो ।

कोणसभामा मोर्चाका नेता शिव पटेलले आफ्नो मोर्चामा दलहरू थपिंदै गएपछि अर्काे मोर्चाले आँखा लगाउन थालेको आरोप लगाए । उनले अर्काे मोर्चाबाट एकताको प्रयास गरिएको बताउँदै प्रहरी प्रशासनसँगको मिलेमतो हटाएर विशुद्ध आन्दोलनमा समाहित भएको खण्डमा मात्र सहकार्य हुन सक्ने शर्त राखेका थिए ।

नेता पटेलले नाटकीय आन्दोलन बन्द गरी वास्तविक आन्दोलन सञ्चालन गरेको खण्डमा मात्र सहकार्य हुने बताए । कलकारखाना खुलेका छन्, रात्रिबस, मालवाहक ट्रकहरू स्कर्टिङमा गइरहेका छन्, यस्तो अवस्थामा सहकार्य हुँदैन, नेता पटेलले भने ।

महमद शरीफको अध्यक्षतामा भएको कोणसभामा नेसपा पर्साका अध्यक्ष मनोज कर्ण, नेकपा–माओवादी
मातृकाका केन्द्रीय सदस्य छोटेलाल यादव, जिल्ला अध्यक्ष शिवशड्ढर यादव र तराई–मधेस सद्भावना पार्टीका जाकिर अन्सारीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
-Prateek Daily-

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button