समावेशी मोर्चाद्वारा मधेस आन्दोलन सम्बन्धमा बुद्धिजीवीहरूसँग छलफल
४ मङ्सिर/वीरगंज – सङ्घीय समावेशी मधेसी मोर्चाले शुक्रवार मधेसी बुद्धिजीवीहरूसँग छलफल गरेको छ । जारी मधेस आन्दोलनलाई थप सशक्त बनाउने सम्बन्धमा छलफल केन्द्रित भएको मोर्चाले जनाएको छ ।
वीरगंजस्थित होटल पुजनको सभाकक्षमा आयोजित छलफलमा मधेसी बुद्धिजीवीलगायत पेशागत समूहका प्रतिनिधिहरूले आआफ्नो स·ठन र आफ्नो व्यक्तिगत रायसुझाव मोर्चाका नेताहरूसमक्ष प्रस्तुत गरेका थिए ।
छलफलमा अधिकांश वक्ताहरूले शैक्षिक संस्था निर्बाधरूपमा सञ्चालन हुन दिनुपर्नेमा जोड दिए । उनीहरूले शैक्षिक संस्था बन्द रहँदा मधेसका साथै मुलुकलाई दीर्घकालीनरूपमा नोक्सानी पुग्ने बताए । विद्यालय बन्द रहँदा आन्दोलनले सफलता पाउने र विद्यालय खुल्दा आन्दोलन असफल हुने धारणा नै गलत रहेको वक्ताहरूले जिकिर गरेका थिए । वक्ताहरूले भोलि जुनसुकै शासन व्यवस्था वा राज्यको ऐन नियम कानुन बने पनि शिक्षाको महत्त्व हुने र शिक्षित उम्मेदवारले मात्र मौका पाउने बताए ।
कार्यक्रममा बुद्धिजीवीहरूको तर्फबाट अधिवक्ता सुधीर कर्णले विद्यालय खोल्ने निर्णय मात्र गरेर नहुने बताए । उनले विद्यालय कति बजेदेखि खोल्ने, त्यस अवधिमा टायर बाल्ने र नारा जुलुस गर्ने कि नगर्ने आदि विषयलाई पनि टु·ो लगाएर मात्र निर्णय गर्नुपर्ने बताए ।
बन्द रहेको अवधिको पनि विद्यालयहरूले शुल्क असुल्ने चर्चा चलिरहेकोले कुनै पनि विद्यालयले बन्द अवधिको शुल्क नलेओस् भन्नेतर्फ आन्दोलनरत नेताहरू सचेत हुनुपर्ने भन्दै सहभागी बुद्धिजीवीहरूले ध्यानाकर्षण गराए । बन्द अवधिको शुल्क विद्यालयले असुल गरेमा विद्यार्थी र अभिभावक ठगिने भएकाले उनीहरू आन्दोलनकारी दलहरूसँग रुष्ट हुने चेतावनी दिंदै बन्द अवधिको शुल्क असुल्ने विद्यालयहरूलाई कारबाई गर्न हिचकिचाउन नहुने छलफलका क्रममा सुझाए ।
आन्दोलनको कारण मुलुकमा सबै पक्षले क्षति बेहोरिरहेको हुँदा विद्यालयले पनि क्षति बेहोर्नुपर्ने र अभिभावकहरूलाई दोहोरो मर्कामा पार्न नहुने वक्ताहरूले बताए ।
छलफलमा सहभागीमध्ये केहीले भने मधेस आन्दोलन सफल नभएसम्म मधेसका विद्यालय सञ्चालन हुन नदिनुपर्ने राय दिएका थिए । उनीहरूले अतिआवश्यक औषधिहरू नेपाल भित्र्याउन दिने आन्दोलनरत दलहरूको केन्द्रीय निर्णयको समेत आलोचना गर्दै नाकाबन्दी भनेपछि नाकाबाट आउने सबै थोक ठप्प गर्नुपर्ने धारणा राखेका थिए ।
जारी मधेस आन्दोलनको क्रममा सरकारले मानव अधिकारको घोर उल्लङ्घन गरेकोले आन्दोलनकारीले पनि मानवीयता देखाउनुको कुनै अर्थ नरहेको उनीहरूको भनाइ थियो ।
वीरगंज नाका बन्द गरिए पनि भारतसँगका अन्य नाकाबाट अतिआवश्यक सामग्रीहरू दिनहुँ आयात भइरहेकाले आन्दोलन निर्णायक तहमा पुग्न नसकेको हुँदा मुलुकका सबै नाका बन्द गर्नेतर्फ पहल गर्न सके मात्र आन्दोलन सफल हुन दबाब पुग्ने वक्ताहरूको राय थियो ।
मधेस आन्दोलनमा होमिएकाहरू पनि विभिन्न खेमामा बाँडिएकोमा आलोचना गर्दै बुद्धिजीवी एवं पेशागत अगुवाहरूले आन्दोलनकारीहरू एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।
बुद्धिजीवी तथा पेशागत अगुवाहरूको कुरा सुनिसकेपछि कार्यक्रममा सङ्घीय समावेशी मधेसी मोर्चाका नेताहरूले गल्ती गर्नेलाई सचेत गराउन समयमा नै बुद्धिजीवीहरूले आवाज उठाउनुपर्नेमा त्यसो हुन नसकेको गुनासो गरेका थिए ।
सो अवसरमा समावेशी मोर्चाका नेता राजेशमान सिंहले अर्को मोर्चाका नेताहरूले बजारमा आन्दोलनलाई बद्नाम गर्ने खालका क्रियाकलापहरू प्रदर्शन गरिरहँदा बुद्धिजीवीहरू चुप लागेर बसेको बताए ।
नेता सिंहले बुद्धिजीवीसँगको अन्तक्र्रियाबाट मोर्चालाई अगाडि बढ्न मार्ग निर्देशन प्राप्त भएको बताए ।
सो अवसरमा समावेशी मोर्चाका नेताहरू शिव पटेल, प्रेमबाबू पटेल, कृष्णा पटेल, महाराज यादव, मुस्तकिम अन्सारीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
-Prateek Daily-
प्रतिक्रिया लेख्नुहोस