वीरगन्जमा ठाँउ-ठाँउमा प्रदर्शन, मोटरसाइकलमा आगजनी
वीरगंज,पुस ३ – वीरगन्ज मधेसका माग पुरा गराउन सरकार र प्रमुख तीन दललाइ अन्तिम धक्का दिने बताएका मधेसी दलहरुले वीरगन्जमा शुक्रबार देखि आन्दोलनलाई अझ चर्काएका छन्। नयाँ संविधान जारी भएको तीन महिना पुगेको दिन शुक्रबार पुष ३ गते देखि मधेसी दलहरुले आन्दोलनलाइ थप शसक्त बनाएका हुन्। मधेसी दलका कार्यकर्ताहरुले पर्सा र बाराका विभिन्न स्थानमा शुक्रबार बिहानै देखि सडकमा टायर बालेर प्रदर्शन गरेका छन्।
वीरगन्जको पावरहाउस , मुर्ली , घण्टाघर , माइस्थान , घडीअर्वा , भिस्वा होटल चोक लगायतका स्थानमा मधेसी दलका कार्यकर्ताहरुले टायर बालेर सडक अवरुद्ध पारेका छन्। यस्तै परवानीपुर बजारमा पनि मधेसी मोर्चाका कार्यकर्ताहरुले टायर बालेर प्रदर्शन गरेका छन्।
मधेसी दलका कार्यकर्ताहरुले वीरगन्जमा शुक्रबार बिहानै देखि टाँगा, इरिक्सा , टयाम्पु , कार , जिप समेत चल्न दिएका छैनन्। प्रदर्शनका कारण वीरगन्जको बजार र पसलहरु पनि बिहानै देखि बन्द छन्।
बाराको कलैया , सिसहनीया र भलही चोकमा पनि मधेसी दलका कार्यकर्ताहरुले बिहानै देखि सडकमा टायर बालेर प्रदर्शन गरेका छन्। मधेसी दलको प्रदर्शनका कारण कलैयाको बजार पनि शुक्रबार बन्द भएको छ।
बन्दको अवज्ञा गरेको भन्दै कलैयामा शुक्रबार बिहान मधेसी दलका कार्यकर्ताहरुले दुइ वटा टयाक्टर र एउटा मारुती भ्यानमा तोड फोड गरेका छन्। यस्तै बन्दको अवज्ञा गरेको भन्दै कलैयामा शुक्रबार बिहान मधेसी मोर्चाका कार्यकर्ताहरुले टायरगाडा , टयाम्पु र टाँगा गरि तीन वटा सवारी साधन नियन्त्रणमा लिएका छन्।
बाराको सिम्रौनगढमा शुक्रबार बिहान मधेसी मोर्चाका कार्यकर्ताहरुले भारतबाट इन्धनको तस्करी गरेको भन्दै एउटा मोटरसाइकलमा आगजनी गरेका छन्। भारतबाट एक सय ६० लिटर डिजेल र ४० लिटर पेट्रोल लिएर आउदै गरेको नम्बर प्लेट नभएको टिभिएस मोटरसाइकलमा मधेसी मोर्चाका कार्यकर्ताहरुले सिम्रौनगढको रानीवास बजारमा आगजनी गरेका हुन्।
आगजनीबाट मोटरसाइकल पुर्ण रुपमा जलेर ध्वस्त भएको छ। मोर्चाका कार्यकर्ताहरुले डिजेल र पेट्रोल पनि खन्याएर नष्ट गरिदिएका छन्।तिहार र छठ पर्ब पछि आन्दोलनलाइ खुकुलो बनाएका मधेसी मोर्चाले शुक्रबार ठाँउ ठाँउमा प्रदर्शन गर्दै आन्दोलन चर्काएपछि यहाको जनजीवन फेरि कष्टकर बनेको छ।
संविधान निर्माण र सीमांकनको विरोधमा मधेसी दलहरुले गत साउन ३० गते देखि बन्द हडताल गर्दै आएका हुन्। यस्तै वीरगन्ज रक्सौल नाकाको मितेरी पुलमा ८७ दिन देखि मधेसी दलले धर्ना दिएर नाका ठप्प पार्दै आएका छन्।
मधेसी दलका नेता कार्यकर्ताहरुले असोज ७ गते देखि दिनरात २४ सै घण्टा मितेरी पुलमा धर्ना दिएर नाका ठप्प पारेका कारण तीन महिना देखि रक्सौलबाट कुनै पनि मालवाहक गाडी वीरगन्ज प्रवेश गर्न सकेको छैन। मितेरी पुलको धर्नामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय समावेशी मधेसी गठबन्धनका नेता कार्यकर्ताहरु बसेका छन्।
प्रतिक्रिया लेख्नुहोस