वीरगंज–रक्सौल नाका ७२ घण्टाका लागि बन्द
वीरगंज, ३१ भदौ – नेपालमा असोज २ गते स्थानीय निकायको निर्वाचन हुन गइरहेको कारण छिमेकी भारतले सतर्कता अपनाउँदै चुनावविरोधी गतिविधि हुन नदिनका लागि कदम चालेको छ ।
नेपालमा हुने स्थानीय निकायको निर्वाचनका लागि भारतीय सीमा सुरक्षा अधिकारीसँग नेपाली सुरक्षा अधिकारीहरूले छलफल गरेका थिए ।
यसैक्रममा दुवै देशका सीमा सुरक्षा अधिकारीहरूबीच भएको सहमति अनुसार असोज २ गते हुन गइरहेको निर्वाचनलाई दृष्टिगत गर्दै नेपाल–भारत सीमा गएराति १२ बजेदेखि बन्द गरिएको छ । असोज २ गते निर्वाचनका दिन अत्यावश्यक बिरामी आदि मात्रको ओसारपसारमा छुट गरिएको र पैदलयात्रीहरूसमेतको आवागमनमा निषेध गरिएको छ ।
भदौ ३१ र असोज १ गते भने सवारी साधनहरूको आवागमनमा पूर्ण रोक लगाइएको छ । गएरातिदेखि लगाइएको सीमा नाकाबन्दी असोज २ गते राति १२ बजेसम्म चल्ने र त्यसपछि मात्र खुल्ला गरिने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस