Birgunj News

वीरगंजमा गठबन्धनको मसाल जुलुस

वीरगंज, १८ पुस – सङ्घीय समावेशी गठबन्धनले शनिवार साँझ वीरगंजमा मसाल जुलुस प्रदर्शन गरेको छ । घण्टाघरबाट शुरू भएको मसाल जुलुस नगरपरिक्रमापछि सोही स्थानमा आएर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा गठबन्धनका नेता शिव पटेलले जारी मधेस आन्दोलन अधिकारप्राप्तिको लागि भएकोले हालसम्मको अवस्थामा आम जनताले दु:ख कष्ट पाए पनि यसलाई सफलतातर्फ लानको लागि जनताकै सहयोग हुनुपर्ने बताए ।

उनले पुस १९ गते आइतवारदेखि गठबन्धनले घोषणा गरेको कडा आन्दोलनलाई सघाउन सबैलाई आग्रह गरे ।

सो अवसरमा गठबन्धनका नेताहरू राजकुमार यादव, राजेशमान सिंह, महम्मद कदम रसुल, ईश्वर यादवलगायतले मन्तव्य व्यक्त गरेका थिए । वक्ताहरूले आन्दोलनमा घुसपैठ गर्ने र आन्दोलनलाई बदनाम गर्ने कार्यमा संलग्न व्यक्तिहरूलाई तह लगाउने चेतावनी दिए ।

आन्दोलनको अवज्ञा गरेको खण्डमा हुने हानिनोक्सानीको जिम्मेवार गठबन्धन नहुने वक्ता नेताहरूले चेतावनीसमेत दिएका थिए ।

गठबन्धनले जारी मधेस आन्दोलनको क्रममा आइतवारदेखि कडा आन्दोलन सञ्चालन गर्ने घोषणा गरेको छ । यसअघि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पनि पुस ३ गतेदेखि कडा आन्दोलनको घोषणा गरेको थियो।

शनिवारसम्मको अवस्थामा मितेरी पुलमा आन्दोलनरत मोर्चाले धर्ना दिने र वीरगंजबाट ठूला तथा साना चार पाङ्ग्रे सवारीका साधनहरूबाहेक रिक्सा, टाँगा, टेम्पो, ईरिक्सा, साइकल, मोटरसाइकलहरू सञ्चालनमा आइरहेका छन् ।
-Prateek Daily-

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button