विद्यार्थीले प्रअ तथा व्यवस्थापन समितिका पदाधिकारीलाई थुने
प्रमोद यादव, र·पुर, १२ जेठ – शिक्षक नियुक्तिको विषयलाई लिएर श्री नेरा मावि निचुटामा अध्ययनरत विद्यार्थीहरूले प्रअसहित विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई थुनेको समाचार प्राप्त भएको छ ।
तीन घण्टापछि प्रहरीको सक्रियतामा ताला खोली थुनिएकालाई रिहा गरिएको र इप्रका पटेर्वा सुगौलीमा सर्वपक्षीय बैठक गरी सहमति गरिएको बताइएको छ ।
सो विद्यालयमा पाँच वर्षदेखि निजी स्रोतबाट विज्ञान विषय अध्यापन गराइरहेका शिक्षक शिवकुमार साह कलवारलाई हटाएको विरोधमा विद्यार्थीहरू आन्दोलित भई प्रअ तथा व्यवस्थापन समितिका पदाधिकारीहरूलाई थुनेको प्रहरीको भनाइ छ ।
यसैगरी कक्षा ७ देखि १० सम्म विज्ञान र अङ्ग्रेजीको शिक्षक विद्यालयमा नभएको, नयाँ शैक्षिक सत्रको डेढ महिना बितिसक्दा पनि कक्षा ८ को ७० जना विद्यार्थीलाई किताब उपलब्ध नभएको र विद्यालयमा शिक्षकहरू र परिचर समयमा नआउने गरेको विद्यार्थीहरूले आरोप लगाएका छन् ।
त्यस्तै विद्यार्थीहरूले २७ लाखको लागतमा निर्माण भइरहेको ६ कोठे भवन हालसम्म तयार नभएको गुनासो गरेका छन् ।
आरोप सम्बन्धमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामनारायणले कक्षा ८ को बाँकी ७० जना विद्यार्थीलाई वैशाख १४ गते पुस्तक उपलब्ध गराउने बताए । उनले आइतवार १७ गतेदेखि विज्ञान शिक्षक उपलब्ध गराउने र विद्यालयमा रहेको पुरानो चर्पीको सरसफाइ अविलम्ब गराउने बताए । उनले भवन निर्माण कार्य जारी भएको जनाएका छन् ।
प्रतिक्रिया लेख्नुहोस