Birgunj News

लोकतान्त्रिक मोर्चाद्वारा विद्यालय सञ्चालन र अतिआवश्यक सवारी सम्बन्धमा विशेष निर्णय

४ मङ्सिर/वीरगंज – जारी मधेस आन्दोलनलाई थप सशक्त र प्रभावकारी बनाउने विषयमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पर्साले शुक्रवार विभिन्न निर्णयहरू सार्वजनिक गरेको छ ।

मधेसी, जनजाति, आदिवासी, थारू, मुस्लिम, दलितलगायत सीमान्तकृत समुदायले उठाएका मुद्दाहरूलाई सरकार र प्रमुख तीन दल काङ्ग्रेस, एमाले र एमाओवादीले सम्बोधन गर्न नचाहेको ठहर गर्दै आन्दोलनलाई अझ सशक्त बनाउने निर्णय गरेको हो । बैठकले यातायात, बजार, कलकारखाना पूर्णरूपमा बन्द गर्नुका साथै सीमानाका र राजमार्ग ठप्प पार्ने कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको छ ।

विरोध कार्यक्रम अनुसार मङ्सिर ५ गतेदेखि अनिश्चितकाल राजमार्ग अवरुद्ध गर्ने, मङ्सिर ६ गते वीरगंजलगायत जिल्लाका प्रमुख बजार चोकहरूमा बेलुकी ५ बजे मसाल जुलुस प्रदर्शन गर्ने, मङ्सिर ७ गते मधेस आन्दोलन जारी भएको १०० औं दिनको अवसरमा सोही दिन १ बजे आन्दोलनको क्रममा मारिएका व्यक्तिप्रति श्रद्धाञ्जलि अर्पण गर्ने, वीरगंजलगायत जिल्लाका विभिन्न चोक बजारमा आम जनसमुदायले सपरिवारसहित दुई मिनेट मौन धारण गर्ने कार्यक्रम रहेका छन् ।

बिहानको समयमा विद्यालय, क्याम्पस सञ्चालन गर्दा विद्यार्थीहरूलाई विद्यालय पोशाकमा नबोलाउने र विद्यालय तथा क्याम्पसका बस सञ्चालन गर्न नदिने निर्णय भएको मोर्चाले जनाएको छ । त्यस्तै विद्यालयमा कालो झन्डा अनिवार्यरूपमा लगाउनुपर्ने र बिहान ६ देखि ११ बजेसम्म मात्र विद्यालय सञ्चालन गर्नुपर्ने पनि मोर्चाले जनाएको छ ।

किसानहरूलाई खेतीपाती गर्न ट्रेक्टर, धान काट्ने मेसिन, पम्पिङसेटलगायतका महत्त्वपूर्ण उपकरण सञ्चालनको लागि प्रमाण हेरी आवश्यकता अनुसार २० देखि ३० लिटरसम्म डिजल रक्सौलबाट ल्याउन रोक नलगाउने निर्णयसमेत भएको मोर्चाका नेता प्रदीप यादवले जानकारी गराएका छन् ।

शुक्रवार महावीर धर्मशालामा भएको मोर्चाको छलफल तथा बैठकले अति आवश्यक सवारीसाधन र दैनिक जीवनमा प्रयोग हुने मोटरसाइकललाई नरोक्न मोर्चाले कार्यकर्ताहरूलाई आग्रह गर्ने निर्णय गरेको छ । पेट्रोलियम पदार्थ ओसारपसार गर्ने मोटरसाइकललाई भने रोक्ने निर्णय मोर्चाले गरेको छ ।

बैठकमा सङ्घीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादव, तराई–मधेस लोकतान्त्रिक पार्टी पर्साका अध्यक्ष पुरुषोत्तम झा, सद्भावना पार्टीका केन्द्रीय सदस्य नेजामुद्दिन समानी, तराई–मधेस सद्भावना पार्टी पर्साका अध्यक्ष प्रेमचन्द्र कुशवाहालगायतले आन्दोलनको उपलब्धि तथा आगामी योजनाबारे आआफ्नो धारणा व्यक्त गरेका थिए ।
-Prateek Daily-

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button