Birgunj News

लामो बन्दले वीरगंजको होटल व्यवसाय धराशयी

वीरगंज, १८ मङ्सिर – साउन २९ गतेदेखि शुरू भएको मधेस आन्दोलनको कारण अहिले वीरगंजमा होटल व्यवसाय पूर्णतया ठप्प छ । वीरगंजमा साना र ठूला गरी ४४ वटा होटल र त्यसमा करिब १२ सय कामदार कार्यरत रहेका होटल एसोसिएसन अफ वीरगंजका सचिव तबरेज आलमले बताए । जारी मधेस आन्दोलनको कारण होटल व्यवसाय पूर्णरूपमा प्रभावित भएको र होटल भाडामा लिएर व्यवसाय गर्नेहरू अझ बढी आर्थिक सड्ढटमा परेका उनले बताए ।वीरगंजमा रहेका ४४ वटा होटलमध्ये १८ वटा होटलको भवन सञ्चालकहरूको आफ्नै हो भने २६ वटा होटलको भवन भाडामा रहेका छन् । होटल मकालु, पूजन, सुरज, कैलाश, कन्ट्री इन, प्रकाश, एभरेस्ट, सम्झना, हीराप्लाजा, भिस्वा, हिमाल, शाह पाराडाइज, वेलकम, भानु प्लाजा, ग·ोत्री, शिखर, जय नेपाल र नेपाल गेस्ट हाउसका भवन होटल साहुहरूको आफ्नै हो भने यीबाहेकका होटलका भवनहरू भाडामा छन् ।

बन्दको कारण होटलमा ग्राहक नआएर ठप्प भएको अवस्थामा भवनको भाडा, कामदारहरूको मासिक तलब, बिजुली–पानीको महसुललगायतका खर्च धान्न नसकेर होटल व्यवसाय आर्थिक सड्ढटमा परेको सचिव आलमले बताए ।

सामान्य अवस्थामा वीरगंजमा रहेका होटलहरूमध्ये सबैभन्दा ठूलो होटल भिस्वामा दैनिक रु.४ लाखसम्मको कारोबार हुने गरेको सचिव आलमले बताए । होटल मकालुका प्रबन्ध सञ्चालक मोहन प्रधानले आफ्नो होटलमा सामान्य अवस्थामा दैनिक सवा लाख रुपैयाँको कारोबार हुने गरेको बताए । उनले अहिले होटल पूर्णरूपमा बन्द गरिएको र आन्दोलन स्थगन भएपछि मात्र सञ्चालनमा आउने बताए ।

वीरगंजका केही होटलहरू सञ्चालनमा रहे पनि त्यहाँ ग्राहकको अभाव रहेको छ । एनजीओ, आइएनजीओ, भन्सार क्लियरिङ, औद्योगिक कारोबारमा आउने मानिसहरू, औषधि कारखानाका बजार प्रतिनिधि तथा घुमफिरका लागि आउने भारतका पर्यटकहरू वीरगंजका होटलहरूको मुख्य ग्राहक हुन् ।

तर बन्दको कारण आर्थिक कारोबार ठप्प भएसँगै ग्राहकको अभावमा होटल व्यवसाय पनि प्रभावित भएको हो । होटल कुमुका सञ्चालक एवं एसोसिएसनका कोषाध्यक्ष रचेन्द्र सिंह थापाले सामान्य अवस्थामा वीरगंजका होटलहरूमा दैनिक १२ सयभन्दा बढी मानिस कोठामा बस्ने गरेका बताए ।

समग्रमा ४४ होटलमा २५ लाख रुपैयाँभन्दा बढी कारोबार हुने गरेकोमा अहिले सम्पूर्ण कार्य ठप्प रहेको उनले बताए । उनले भवन भाडामा लिएर होटल सञ्चालन गर्नेहरूलाई घरधनीले भाडाको लागि दबाब दिन शुरू गरेको र कामदारहरूले पनि मासिक तलब दिनको लागि दबाब दिने गरेका बताए ।

उनले अहिलेसम्मको अवस्थामा होटल सञ्चालकहरूले व्यवसाय ठप्प नपारे पनि आन्दोलन अझ लम्बिएको खण्डमा यस व्यवसायबाट धेरैजना पलायन हुन सक्ने बताए ।

४० प्रतिशतसम्म मुनाफा रहेको होटल व्यवसाय लामो बन्दको कारण पूर्णरूपमा प्रभावित भएको उनको कथन थियो ।
-Prateek Daily-

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button