Birgunj News

रक्सौल–अमलेखगंज पाइपलाइन समझदारीपत्र स्वीकृत

जीतपुर, २० जेठ – २० वर्षदेखि नेपाल–भारत पेट्रोलियम पाइपलाइन निर्माण गर्न दुवै देश तयार भए पनि कार्यान्वयन हुन सकेको थिएन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको बेला पाइपलाइन निर्माण गर्ने प्रतिबद्धता गरेपछि पाइपलाइन निर्माणको तयारी अन्तिम चरणमा पुगेको नेपाल आयल निगम लिमिटेड मध्य क्षेत्रीय इन्धन डिपो अमलेखगंजका क्षेत्रीय प्रबन्धक भानुभक्त खनालले बताएका छन् ।
पाइपलाइन निर्माण पहिलो चरणमा तत्कालै रक्सौलदेखि अमलेखगंजसम्म हुन्छ भने दोस्रो चरणमा अमलेखगंजदेखि काठमाडौं पुर्‍याउने कार्य योजना रहेको छ । पाइपलाइन निर्माण सम्पन्न भएपछि नेपालमा भारतबाट पेट्रोलियम पदार्थ ल्याउन सहज हुनेछ र यसबाट समय समयमा हुने पेट्रोलियम पदार्थको अभाव हट्ने मात्र नभई आयातमा लाग्ने खर्च पनि न्यून हुने समाचारमा जनाइएको छ ।
अर्थमन्त्री संयोजक रहेको आर्थिक तथा पूर्वाधार समितिले गए साता रक्सौल–अमलेखगंज पाइपलाइन समझदारीपत्र स्वीकृत गरेको छ । यसले गर्दा अब सो पाइपलाइन निर्माण शुरु हुने विश्वास बढेको छ । नेपाल र भारत सरकारको स्वीकृति लगत्तै निर्माण काम शुरु हुन्छ । निर्माण काम शुरु भएको ३० महिनाभित्र निर्माण काम सम्पन्न भई पाइपलाइन सञ्चालन हुने क्षेत्रीय प्रबन्धक खनालले बताए ।
रक्सौल–अमलेखगंज पाइपलाइन सञ्चालन भएपछि एक पटकमा ३ हजार किलोलिटर अर्थात ३० लाख लिटर ग्याँस बाहेक पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल र मटीतेल दिनमा दुईपटक आयात गर्न सकिन्छ । यसबाट पेट्रोलियम पदार्थको शुद्धता कायम राख्न र चुहावट नियन्त्रण तथा प्रविधिक त्रुटिसमेत न्यून हुन्छ भने मिसावट तथा चुहावटबिना नै अमलेखगंज डिपोसम्म पेट्रोलियम पदार्थ आइपुग्छ र पेट्रोलियम पदार्थको भाडा खर्च वार्षिक रु १ अर्ब पनि बचत हुने समाचारमा जनाइएको छ ।
रक्सौल–अमलेखगंज पाइपलाइनको दूरी ३९ कि.मी हुन्छ जसमध्ये नेपाल तर्फ ३७ कि.मी र भारत तर्फ २ कि.मी हुन्छ । शुरुमा पाइपलाइन विस्तारका लागि ३ वटा वैकल्पिक मार्ग छनोट गरिएको थिया । रक्सौल–अमलेखगंज रेल्वेलाइन, रक्सौल–अमलेखगंज सडक र बजारबस्ती बाहिर खेतैखेत पाइपलाइन लैजाने थियो । खेतैखेतको बाटो लैजाँदा किसानलाई रु १ अर्ब ६० करोड मुआब्जा दिनुपर्ने र रेल्वे ट्रयाकको जग्गा स्थानीयले कब्जा गरिसकेकाले उनीहरूलाई हटाउन समस्या देखिएपछि सडकबाट लैजाँदा तीन कि.मी दूरी घट्ने र मुआब्जा समेत तिर्नु नपर्ने भएकोले नेपाल–भारत उच्चस्तरीय प्राविधिक अनुगमन समितिले सडक किनारैकिनार लैजाने समझदारी भएको समाचारमा जनाइएको छ ।
समझदारीपत्र अनुसार पाइपलाइन निर्माणसँगै नेपाल आयल निगमको अमलेखगंजस्थित डिपोको भण्डारण क्षमता समेत वृद्धि गरिने उल्लेख छ । पहिलो चरणमा ४ हजार १ सय किलो लिटर क्षमताका २ वटा पेट्रोल भण्डार र ४ हजार १ सय किलोलिटर क्षमताकै दुईवटा हवाईइन्धन भण्डार निर्माण हुनेछ । अमलेखगंजमैं १ हजार १ सय किलोलिटर क्षमताको दुईवटा डिजेल भण्डार निर्माण गरिने छ । भण्डारण क्षमता वृद्धिमा हुने लगानी पनि पाइपलाइन खर्चमैं समावेश गरिएको छ । अमलेखगंज–रक्सौल पाइपलाइनको अनुमानित लागतमा भारतले ७३ प्रतिशत र नेपालले २९ प्रतिशत लगानी गर्ने सम्झौता भएको छ भने लागत बढेमा सोही अनुपातमा दुवै पक्षले थप लगानी गर्ने सम्झदारीपत्रमा व्यवस्था भएको समाचारमा जनाइएको छ ।
यसै बेला गएको भूकम्पका कारण केही दिन ढिलो भए पनि अब तत्काल सो पाइपलाइन निर्माणको आवश्यक तयारी भइरहेको छ । अमलेखगंज–रक्सौल सडक किनारैकिनार पाइपलाइन तान्ने निर्णय भएपछि जीतपुर बजारमा फोरलेन तथा वीरगंजदेखि अमलेखगंज सम्म २ लेन सडक हुँदा सडक विस्तार प्रक्रियामा असर नपर्ने गरी सडककै मापदण्डभित्र पाइपलाइन ओछयाउने तयारी भएको छ ।
सडक विस्तारको हल्लाले पाइपलाइन काम अवरुद्ध नहुने नेपाल आयल निगम लिमिटेड मध्यक्षेत्रीय इन्धन डिपो अमलेखगंजका क्षेत्रीय प्रबन्धक भानुभक्त खनालले प्रतीकलाई बताए ।

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button