Birgunj News

मोर्चाद्वारा विरोध प्रदर्शन र कोणसभा सम्पन्न, सरकार उदासीन रहेको वक्ताहरूको आरोप

वीरगंज, ११ पुस – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पर्साले शनिवार वीरगंजमा विरोध प्रदर्शन गरेको छ । केन्द्रीय कार्यक्रम अनुसार आयोजित विरोध जुलुस घण्टाघर चोकबाट शुरू भएर नगरपरिक्रमा गर्दै पुन: सोही स्थानमा पुगेर कोणसभामा परिणत भएको थियो ।कोणसभामा मोर्चाका नेता लक्ष्मणलाल कर्णले शान्तिपूर्ण आन्दोलनबाट माग पूरा नभए हतियार उठाउन बाध्य हुने चेतावनी दिए । उनले सरकार शान्तिपूर्ण आन्दोलनबाट मधेसीको माग सम्बोधन गर्ने पक्षमा नरहेको र हतियार उठाउनका लागि बाध्य पारिरहेको आरोप लगाए ।

सरकारले वार्ताको नौटड्ढी मात्र गरिरहेको आरोप लगाउँदै वार्ता समितिको सदस्यसमेत रहेका कर्णले संविधानमा त्रुटि रहेको स्वीकार गरेर पनि तीन दलका नेताहरूले त्रुटि सच्याउन भने अटेर गरिरहेको बताए ।

पछिल्लोपटक मधेस आन्दोलनबाट सरकार केही झुकेको दाबी गर्दै उनले ओली नेतृत्वको सरकार कुर्सी बचाउनका लागि मात्र मन्त्रिमण्डल विस्तार गरिरहेको आरोप लगाए ।

कोणसभामा सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय उपाध्यक्ष लालबाबू राउत गद्दीले सरकार मधेस आन्दोलन तुहाउन विभिन्न चलखेल गरि रहेको आरोप लगाए ।

सङ्घीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले मधेसको मुद्दा तुहाउनका लागि सरकारले आफ्ना सांसदमार्फत् मधेसी जनतालाई गुमराहमा पार्ने षड्यन्त्र गरिरहेको आरोप लगाए ।

मोर्चाका नेता चन्दन मिश्राले सहजीकरण गरेको कार्यक्रममा तराई–मधेस लोकतान्त्रिक पार्टी पर्साका अध्यक्ष पुरुषोत्तम झा, सद्भावना पार्टी पर्साका अध्यक्ष इमदाद गद्दी, तराई–मधेस सद्भावना पार्टी पर्साका अध्यक्ष प्रेमचन्द्र कुशवाहालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

सिकेन्द्र पासवान, कलैया/
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा बाराले शनिवार कलैयामा जनप्रदर्शन गर्‍यो । कलैयाको विभिन्न स्थानबाट निस्किएको र्‍याली नगरको विभिन्न भाग परिक्रमा गरी कलैया चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

सभामा मोर्चा आबद्ध सङ्घीय समाजवादी फोरम नेपालका महासचिव रामसहाय यादव, तराई–मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री जीतेन्द्र सोनललगायतका नेताहरूले मन्तव्य व्यक्त गरेका थिए ।

प्रस, रौतहट/
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले शनिवार रौतहट जिल्ला सदरमुकाम गौरमा जुलुस प्रदर्शन गर्‍यो ।

मोर्चाको केन्द्रीय कार्यक्रम अनुसार जुलुस तथा सभा गरी विरोध जनाएको मोर्चा रौतहटले जनाएको छ । मधेसी क्रान्ति चोकबाट शुरू भएको जुलुस नगरपरिक्रमा गर्दै नेपाल–भारत सीमास्थित मितेरी पुल हुँदै पुन: क्रान्ति चोकमा आएर सभामा परिणत भएको थियो ।

सभामा वक्ताहरूले मधेसको माग सम्बोधन नभएसम्म आन्दोलन फिर्ता नहुने अडान व्यक्त गरेका थिए । सभामा मोर्चाका रौतहट संयोजक रामनिवास यादव, सङ्घीय समावेशी फोरम नेपालका केन्द्रीय सदस्यद्वय रामेश्वरराय यादव, रामकिशोरराय यादव, उपाध्यक्ष धर्मेन्द्र पटेल, अजयकुमार गुप्ता, रेवन्त झा, सद्भावना पार्टीका शेख जमसैद, तमलोपाका जिल्ला अध्यक्ष बाबुलाल साह, तराई–मधेस सद्भावना पार्टीका शेख नुरूल होदा र सद्भावना युवा मञ्चका केन्द्रीय अध्यक्ष शम्भु सुप्रिमले मन्तव्य व्यक्त गरेका थिए ।
-Prateek Daily-

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button