Birgunj News

मोर्चाको खबरदारी जुलुस, चुनाव हुन दिन्नौं –अध्यक्ष यादव

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले वीरगंजमा खबरदारी जुलुस प्रदर्शन गरेको छ । सङ्घीय समाजवादी फोरम नेपाल पर्साका जिल्ला अध्यक्ष प्रदिप यादवको नेतृत्वमा घण्टाघरबाट निस्केको खबरदारी जुलुस नगर परिक्रमापछि पुनः सोही स्थानमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा सङ्घीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष यादवले सविधान संशोधन गरी मधेस आन्दोलनका माग सम्बोधन नभए आप्mनो पार्टीले चुनाव हुन नदिने बताए । उनले तीन दलको लहैलहैमा चुनाव गर्न खोजिए मधेसमा मात्र नभएर पहाडमा पनि पनि चुनाव हुन नदिने दाबी गरे । उनले पहाडमा रहेका जनजातिले चुनावको प्रतिकार गर्ने दाबी गरे । कोणसभामा हजारी साह, भरत पटेल, उमेश सहनी, वीरेन्द्र यादव, नूरआलम अंसारी, रेखा साह र मिथिलेश सिंहले पनि मन्तव्यको क्रममा मधेसको माग सम्बोधन गर्न तीन ठूला दललाई आग्रह गर्दै माग सम्बोधन नभएसम्म चुनाव हुन नसक्ने चेतावनी दिए ।

खबरदारी जुलुसमा सङ्घीय समाजवादी फोरमका उपाध्यक्ष सांसद लालबाबू राउत गद्दी, तराई–मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य जनार्दन यादव, जिल्ला सचिव चन्दन मिश्रा, सद्भावना पार्टीका केन्द्रीय सदस्य नेजामुद्दिन समानी, राष्ट्रिय मधेस समाजवादी पार्टीका जिल्ला अध्यक्ष पे्रमबाबू पटेल, जिल्ला अध्यक्ष इमदाद गद्दी, मोस्तकिम अंसारीलगायतको सहभागिता थियो ।

 

-Prateek daily-

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button