Birgunj News

मनोज ग्यासद्वारा तीन हजार ग्यास सिलिन्डर वितरण, प्रहरी र प्रशासनबाट हस्तक्षेप भएको गुनासो

११ मङ्सिर/वीरगंज – वीरगंजमा मनोज ग्यास उद्योगले शुक्रवार दोस्रोपटक उपभोक्तालाई ग्यास वितरण गरेको छ । वीरगंज–१५ स्थित नेशनल ट्ेरडिङबाट करिब २,९७० वटा ग्यास सिलिन्डर वितरण भएको जिल्ला प्रशासन कार्यालय, पर्साले जनाएको छ ।ग्यास पाउने हल्लाले बितेको सोमवार रातिदेखि लाइनमा बसेका उपभोक्तामध्ये झन्डै ३५ प्रतिशतले ग्यास पाएनन् । करिब ४ हजार ५ सयजना उपभोक्ता रित्तो सिलिन्डर लिएर लाइनमा थिए । ग्यास वितरण शुक्रवार बिहान ७ देखि साँझ ६ बजेसम्म भएको थियो ।

वीरगंजमा सबैभन्दा बढी उपभोक्ता मनोज ग्यासकै रहेकाले दिनभरि ग्यास वितरण गरिए तापनि लाइनमा बसेका धेरैजना उपभोक्ताले ग्यास नपाएर रित्तो हात फर्कनुपरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले बताए । मनोज ग्यासको सिलिन्डर नगर क्षेत्रमा मात्रै ३८ हजारभन्दा बढी रहेको सो उद्योगले जनाएको छ ।

वीरगंज–५ बिर्ताका जयदीप सर्राफका अनुसार मनोज ग्यास वितरणमा स्थानीय प्रहरी प्रशासनको मनोमानी तथा उदासीनताको कारण उपभोक्ताले कठिनाइ भोग्नुपरेको थियो ।

त्यस्तै, नेशनल ट्रेडिङको कम्पाउन्डभित्र ड्यूटीमा खटेका एकजना जनपद प्रहरीले नेशनल ट्रेडिङको उत्तरपट्टिको भत्केको पर्खालबाट ना.२३ प ९४३८ र ना.११ प ८३११ नं.को दुईवटा मोटरसाइकलमा दुईवटा ग्यास सिलिन्डर पास गराएको वीरगंज भिस्वाका सञ्जय सिंहले गुनासो गरे । जब प्रहरीले आफ्नो आफन्तलाई चोर बाटोबाट सिलिन्डर उपलब्ध गराउँछ भने लाइनमा बस्नेले कहाँबाट सिलिन्डर पाउँछ ? उनले प्रश्न गरे ।

मनोज ग्यासका उपभोक्ताहरू विगत चार दिनदेखि कूपनबिना नै नेशनल ट्ेरडिङदेखि मुर्लीचोकसम्म दिनरात सडकमैं लाम लागेका थिए । लाममा बसेका करिब १५ सय उपभोक्ताले ग्यास नपाएको उपभोक्ताहरूको गुनासो छ । यस विषयमा पर्साका प्रमुख जिल्ला अधिकारी केशवप्रसाद घिमिरेसँग बुझ्दा उनले कम्पनीद्वारा शुक्रवार ७.१ किलोग्रामको ४ हजार ८ सय सिलिन्डर वितरण गर्ने योजना रहेको बताए । बाँकी उपभोक्तालाई दुई दिनपछि थप ग्यास ल्याइ वितरण गरिने उनले जानकारी गराए ।

वीरगंजमा मनोज ग्यासको उपभोक्ताका सङ्ख्या धेरै भएको तर ग्यास सिलिन्डरको परिमाण भने निश्चित भएको हुँदा उपभोक्ताहरूलाई मर्का परेको भन्दै प्रजिअ घिमिरेले पहुँच र भनसुनको आधारमा ग्यास वितरण नभएको प्रस्ट्याए । वितरण केन्द्र नेशनल ट्रेडिङको मूलगेटको उत्तर र दक्षिण गरी दुई तर्फी लाइन रहेकाले दुवै तर्फको लाइनबाट पालैपालो १०/१० जनालाई प्रवेश गराइ ग्यास वितरण गरिएको थियो । उत्तरतर्फ कूपन नपाएकाहरूको लाइन थियो भने दक्षिणतर्फ कूपनवालाहरूको लाइन थियो ।

लाइनमा केही काला बजारिया र केही ग्यासका डिलरवालाले पनि सिलिन्डर राखेकाले वास्तविक उपभोक्ता धेरैजनाले ग्यास नपाएका लाइनमा बसेका उपभोक्ताहरूले गुनासो गरे ।
-Prateek Daily-

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button