Birgunj News

मधेसी दलहरूको बन्द अब नाकाबन्दीतिर, भारतबाट आउने सबै सवारीसाधनमा रोक

वीरगंज, ३ भदौ – सङ्घीय लोकतान्त्रिक मधेसी मोर्चा र नेपाल सद्भावना पार्टीले गरेको मधेस बन्दको छैठौं दिन आज पनि वीरगंज लगायत आसपासको क्षेत्रहरूका जनजीवन प्रभावित भएको छ ।

सङ्घीय मधेसी मोर्चाले आजदेखि आफ्नो आन्दोलनको स्वरूप परिवर्तन गरेको छ । विगतको समयमा घण्टाघर लगायत बजार क्षेत्रलाई आधार क्षेत्र बनाई आन्दोलन गर्दै आएकोमा आजदेखि नाका जाम गर्ने कार्य शुरु गरेको संयोजक प्रदीप यादवले जानकारी गराए । आज बिहानदेखि मोर्चाका कार्यकर्ताहरूले मूल भन्सार, रजतजयन्ती चोकमा पाल गाडेर चौबीसै घण्टा विरोध गरिरहेका छन् । विरोधको क्रममा कार्यकर्ताहरूले टायर बालेका थिए । भारतबाट नेपाल आउने सम्पूर्ण सवारी साधन ठप्प पारेका छन् ।

प्रत्येक घण्टामा कार्यकर्ताहरू नारा लगाउँदै भन्सार पुगेर कामकाज ठप्प पार्ने गरेका छन् । हिजोको तुलनामा आज पूर्णरूपले भन्सार ठप्प भएको छ । भन्सारमा कारोबार गर्नसमेत कोही आएका छैनन् । भन्सार वरिपरि र सीमासँग जोडिएका क्षेत्रहरूमा गाडीहरूको लाम लागेको छ ।

यता वीरगंज नगर क्षेत्रभित्र कार्यकर्ताहरूले कुनै अवरोध सिर्जना गरेका छैनन् । व्यापारीहरूले आआफ्नो पसल खोले पनि कामदारहरू बिदामा रहेको कारण पसलहरू नखोलिएको साहुहरूले जानकारी गराएका छन् । भोलिदेखि पसलहरू निर्वाध सञ्चालन हुने तर भन्सारदेखि बाइपास, बसपार्क, गण्डक, परवानीपुर, ड्राइपोर्टजस्ता चोकमा आन्दोलनकारीहरूले पाल गाडी आन्दोलन शुरु गर्ने भएको छ ।

यता प्रहरीले पनि आन्दोलनकारी प्रति संयमता अपनाएको छ । आन्दोलनकारीहरूले प्रहरीलाई जिस्काउने गरे पनि विगतको तुलनामा यसपालि प्रहरीको धैर्य प्रशंसनीय छ ।

त्यसैगरी ६ दिनदेखि गर्दै आएको आन्दोलनको समर्थनमा पर्सा ट्रक प्लेटफर्म यातायात व्यवसायी सङ्घ श्रीसिया ड्राइपोर्टले एक्यबद्धता जनाएका छन् । यससँग आबद्ध सम्पूर्ण सवारीसाधनहरू बन्द राख्ने सङ्घले निर्णय गरेको सङ्घका अध्यक्ष भैयाराम पटेलले जानकारी गराए ।

सिकेन्द्र पासवान, बारा
अनिश्चितकालीन बन्द आह्वानको पाँचौ दिन पनि बाराको जनजीवन प्रभावित बनेको छ । आज पनि बजार, शिक्षण संस्था, कलकारखाना, यातायात बन्द रहेको कारण सर्वसाधारण मारमा परेका छन् । आन्दोलनकारीले बिहानैदेखि मुख्य मुख्य ठाउँमा टायर बालेर विरोध प्रदर्शन गरेका थिए ।

भरतचोकमा आयोजित कोणसभामा रामबाबू यादव, मुरतदेवी गिरी, बृजकिशोर साह, प्रद्युम्न दुबे, उषा यादव, बच्चा यादव, धर्मवीर यादव, निरञ्जन साहलगायतले सम्बोधन गर्दै पहिचान कायम नभएसम्म आन्दोलन जारी रहने बताएका थिए ।
कार्यक्रम सङ्घीय फोरम नेपालका जिल्ला अध्यक्ष रामबाबू यादवको अधयक्षतामा सम्पन्न भएको थियो ।

मोटरसाइकल र्‍याली प्रदर्शन
प्रस, रौतहट/
मधेसवादी दलहरूको बन्दमा विभिन्न सङ्घ–सस्थाद्वारा आम हडताल र आन्दोलनप्रति समर्थन तथा ऐक्यबद्धता जनाइएपछि बन्द थप प्रभावित हुन पुगेको हो ।

आम हडताल र आन्दोलनलाई समर्थन गर्दै आज निर्माण व्यवसायी सङ्घ रौतहटको आयोजनामा विशाल मोटरसाइकल र्‍याली प्रर्दशन भएको छ । सदरमुकाम गौरबाट शुरु गरी जिल्लाका चन्द्रपुर, कटहरिया, बंकुल, ग·ापिपरा लगायत जिल्लाका विभिन्न क्षेत्रमा मोटरसाइकल र्‍याली भएको निर्माण व्यवसायी सङ्घ रौतहटका अध्यक्ष नागेन्द्र साहले बताए ।
शान्तिपुर्ण आन्दोलनलाई समर्थन तथा हक अधिकारका लागि र्‍याली आयोजना भएको बताइएको छ ।
आज भएको र्‍यालीमा निर्माण व्यवसायी सङ्घका पदाधिकारीहरू सहभागी रहेको बताइएको छ ।

प्रस, सिम्रौनगढ/
सिम्रौनगढ क्षेत्रमा आन्दोलनरत दुवै मोर्चाले बिहीवार प्रदर्शन गरे । सिम्रौनगढ रानीबासबाट शुरु भएको जुलुस जानकी नगर, अमृतगंज हुँदै सिम्रौनगढ बजार परिक्रमा गरेर कड्ढाली पुलचोक पुगी विरोधसभामा परिणत भएको थियो ।

सभामा सद्भावना पार्टीका मोहन महतो, तमलोपाका चन्देश्वर पटेल, नेकपा–माओवादीका रामाशड्ढरप्रसाद साह, सिम्रौनगढ उद्योग वाणिज्य सङ्घका मुकेश जयसवाल, सञ्चारकर्मी रामेश्वर मेहता, अशोक कुमारलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

-Prateek Dainik-

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button