बिहे गर्ने लालच देखाई वीरगंजका युवकसँग १ करोड ठग्ने महिला हिरासतमा
वीरगंज, २० साउन – वीरगंजका एकजना व्यवसायीका छोरालाई प्रेमजालमा पारी बिहे गर्छु भन्दै झापाली महिलाले एक करोड ६ लाख रकम लिएको समाचार प्रकाशमा आएको छ ।
ठगी गर्ने महिलासहित उनका बुवा तथा भाइलाई पर्सा प्रहरीले पक्राउ गरी ठगी मुद्दा चलाएको छ । घटना वीरगंज मुर्ली, सुरेश आयलको सञ्चालक परिवारसँग सम्बन्धित छ । घटना विवरण अनुसार वीरगंज–१५ मुर्ली निवासी पेट्रोलियम व्यवसायी रामजी सिकरियाका छोरा २५ वर्षीय आकाश सिकरियालाई झूटो प्रेमजालमा फसाई विवाह गर्ने भन्दै रु एक करोड ६ लाख रुपियाँ ठग्ने झापा, अर्जुनधारा गाविस–२ स्थायी घर भई ललितपुर उपमहानगरपालिका–१४ निवासी २५ वर्षीया युरिका ढकाल हुन् ।
आफ्नो सर्वस्व ठानेर करोडौंं रुपियाँ खर्च गरेको प्रेिमका अर्कैकी पत्नी भएकी रहस्य खुलेपछि आकाश अहिले घर न घाटको भएका छन् । रकम फिर्ता गराउन जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी गरेपछि अनुसन्धान प्रक्रिया अगाडि बढेको प्रहरी उपरीक्षक दिवेश लोहनीले जानकारी गराए ।
चार वर्षदेखिको प्रेम सम्बन्ध साकार पार्न आकाशले काठमाडौंमा रहेकी प्रेिमका युरिका ढकाललाई बिहे गर्न असारको चौथो हप्ता वीरगंज बोलाएपछि युरिकाले आफू विवाहित रहेको बताएपछि विवाद शुरु भएको हो ।
अविवाहीत भनिएकी प्ेरमिका विवाहित मात्र नभई ५ वर्षीय छोराकी आमासमेत रहेको प्रमाण देखाएपछि आकाशले आफू ठगिएको पाएका थिए । त्यसपछि उनले जिल्ला प्रहरी कार्यालय पर्सामा ठगी मुद्दा दिए ।
आकाशको उजुरीको आधारमा प्रहरीले असार २८ गते युरिका, उनका बुवा हिक्मत ढकाल र भाइ मन्जिल ढकाललाई ललितपुरबाट पक्राउ गरी हिरासमा राखी ठगी मुद्दामा अनुसन्धान प्रक्रिया बढाएको जनाएको छ ।
पटक–पटक ४ वर्षमा रु ७० लाख ४० हजार रुपियाँ बैंकमार्फत् युरिकाले आफ्नी दिदी अरिका ढकालको खातामा पैसा मगाउने तथा सोही दिन आफ्नो खातामा ट्रान्सफर गराएको बैक स्टेटमेन्टबाट खुलेको प्रहरीले जनाएको छ । रु ३५ लाख ६० हजार भने पटकपटक नगद दिएको आकाशको उजुरीमा उल्लेख भएको प्रहरीको भनाइ छ ।
युरिकाको सात वर्ष पहिले लोकेन्द्र राजभण्डारीसँग बिहे भएको प्रमाण प्रहरीसँग छ ।
२०६८ सालमा वीरगंज लिंकरोडमा रहेको रानीपोखरी लजमा आफ्नै एकजना साथीले युरिकासँग चिनजान गराएको आकाश सिकरियाले बताए । पहिलो भेटमा युरिकाले आफू अविवाहित भएको बताएपछि दुवैजनाबीच निकटता बढ्दै गयो । आकाशले राखेको प्रेम प्रस्ताव युरिकाले पनि सहजै स्विकारिन् । त्यसपछि आकाश युरिकालाई भेट्न पटकपटक ललितपुर जाने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।
युरिकाका बुवा, दिदी र भाइले पनि युरिका अविवाहीत रहेको र आकाशसँग बिहे गराइदिने आश्वासन युरिकाका बुवाबाट पाएपछि प्रेिमकालाई पैसा दिने गरेको र २०७१ सालमा ललितपुरको ढोलैटीमा अढाई तल्ले घरसमेत भाडामा लिएर दिएको आकाशले बताए ।
त्यही घरमा युरिकाका बुवा हिक्मत, भाइ मन्जिल, जेठी दिदी अरिकालगायत सपरिवार बस्न थाले तथा सोही घरमा काठमाडौं जाँदा आफू पनि बस्ने गरेको आकाशको भनाइ छ ।
आकाशका अनुसार डेढ लाखको पलङ, टेलिभिजन, फर्निचर, कार्पेट, परदा, भाँडाकुँडा खरिद गरेर दिएका थिए । एप्पलको आइफोन, आइप्याड, सुनको सिक्री र ब्रास्लेट पनि गिफ्ट दिएको उनले बताए । यी सबै र नगद जोड्ने हो आफू लगभग दुई करोड ठगिएको उनको भनाइ छ ।
ललितपुरमा रहेको कपडा पसलमा लगानी आवश्यक रहेको भनेपछि युरिकालाई पटकपटक रकम दिएको र रकमको बिल भरपाईसमेत रहेको रकमको दाबी प्रहरी समक्ष गरेको आकाशको भनाइ छ ।
युरिकालाई आकाशले पठाएको रकमको बिल तथा बैंक डिटेलको कागजात प्रहरीले प्राप्त गरेको
जनाएको छ । युरिकाकै प्रेम चक्करमा परेर बुवासँग अंशबन्डा लिएर छुट्टिएको आकाशले बताए तर बुवा र काकाबीच पैतृक सम्पत्तिको अंशबन्डा नभएकोले अदालतले अंशबन्डा बदर गरिदियो ।
युरिकाबिना बाँच्नै नसक्ने बताएपछि आकाशका बुवाआमा पनि बिहेका लागि राजी भई युरिकालाई वीरगज बोलाएपछि सम्पूर्ण भेद खुलेको हो । प्रहरी हिरासतमा रहेकी युरिकाका अर्का प्रेमी, काठमाडौं निवासी सतीश तण्डुकार पनि रहेको प्रहरीको भनाइ छ । युरिकाको मोबाइलको कल डिटेलमा सतीशको मोबाइल नम्बरबाट दैनिक धेरैपटक फोन आउने गरेको प्रहरीको भनाइ छ ।
युरिकाले आफ्नो बुवाको नाउँबाट बनाएको नागरिकता देखाएर आफू अविवाहित देखाएकी थिइन् ।
-Prateek Daily-
प्रतिक्रिया लेख्नुहोस