पर्सा जिल्लामा ठूला दलका नेताहरू आए–गए, मधेसवादी दलका नेताहरू भने उम्मेदवारी दर्तापछि आउने
वीरगंज महानगरपालिकाको ३२ वटा वडामा मेयर, उपमेयर, वडाध्यक्ष र वडा सदस्यका उम्मेदवारहरूले प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।
बिहानदेखि बेलुकीसम्म घरदैंलो, कोणसभा, ¥याली जस्ता कार्यक्रमहरूमा उम्मेदवारहरू व्यस्त भएका छन् । नेपाली काङ्ग्रेसले मेयरको उम्मेदवार छनोट गरेलगत्तै सो पार्टीका केन्द्रीय नेता शेखर कोइराला वीरगंजमा आई चुनाव प्रचारप्रसार शुरू गरेका थिए ।
सो पार्टीको उपमेयरको उम्मेदवारलाई लिएर बढेको विवादका बावजुद पर्सा जिल्लाको एक महानगरपालिका, तीन नगरपालिका र १० गाउँपालिकाका उम्मेदवारहरूको नाम घोषणा गरिएको छ । उम्मेदवारहरू पार्टीको झन्डा र चुनाव चिह्न लिएर मत माग्ने कार्यमा तल्लीन छन् ।
पर्सामा सबैभन्दा पहिले एमालेका शीर्ष नेताहरूको आगमन भएको थियो । कार्यवाहक अध्यक्ष वामदेव गौतम, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल, पोलिटब्युरो सदस्य राजेन्द्र पाण्डे, प्रदेश संयोजक सत्यनारायण मण्डल, उपसंयोजक नागेन्द्र चौधरी, लोकतान्त्रिक मधेसी सङ्गठनका अध्यक्ष रघुवीर महासेठलगायतका नेताहरूले वीरगंज महानगरको मेयर, उपमेयरमा घोषित बसरुद्दीन अन्सारी र सोफिया आचार्यको पक्षमा मत मागेर फर्किसकेका छन् ।
एमालेको अर्को टोली उम्मेदवारी दर्तापछि आउने स्रोतले जनाएको छ । एमालेले मेयर, उपमेयर, वडाध्यक्ष, वडा सदस्य, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, वडा सदस्यहरूको टुङ्गो लगाइसकेको छ । केही मात्र वडाध्यक्ष, सदस्यहरूको नाम सार्वजनिक गर्न बाँकी छ । एमालेका उम्मेदवारहरूले टोलटोलमा मत माग्ने कार्यलाई तीव्र बनाएका छन् ।
यसैगरी, माओवादी केन्द्रको टोली पनि वीरगंजमा छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वीरगंज महानगर र तीन नगरपालिका तथा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, वडासदस्यहरूलाई विजयी गराउने अभियानमा पार्टी प्रवेश, चुनावीसभा, घरदैंलो कार्यक्रम, आमसभामा सहभागी छन् । माओवादी केन्द्रका नेताहरू गृहमन्त्री जनार्दन शर्मा, शीर्ष नेताहरू रामबहादुर थापा बादल, नारायणकाजी श्रेष्ठलगायतका नेताहरूले वीरगंजमा चुनावी प्रचार गरेका छन् ।
माओवादी केन्द्रबाट वीरगंज महानगरको लागि रहबर अन्सारीको नाम मात्र घोषित छ । अरूको नाम सार्वजनिक हुन बाँकी छ । यो पार्टीको प्रचार काङ्ग्रेस, एमाले, सङ्घीय समाजवादी फोरमको तुलनामा कम छ । ठूला दलका नेताहरू प्रदेश नं. २ को एकमात्र महानगरपालिका वीरगंजमा आप्mनो वर्चस्व जमाउनको लागि डेरा जमाएर बसेका छन्, त्यही प्रदेश नं. २ मधेस क्षेत्रको शक्तिशाली पार्टी भनेर दाबी गर्ने मधेसवादी दलका शीर्ष नेताहरू भने अहिलेसम्म यस क्षेत्रमा आएका छैनन् ।
पछिल्लो समयमा राजपा नेपाल ढिलो गरी तेस्रो चरणको निर्वाचनमा सहभागी भएपनि अहिलेसम्म त्यस पार्टीको अध्यक्षमण्डलका सदस्यहरू कोही पनि वीरगंज आएका छैनन् । उम्मेदवारीको किचलोको कारण उम्मेदवारी घोषणा र दर्तापछि उनीहरूको आगमन हुने स्रोतले जनाएको छ ।
सङ्घीय समाजवादी फोरम नेपालमा पनि यही समस्या छ । उम्मेदवारी घोषणाको टुङ्गो नलागेकोले शीर्ष नेता वीरगंज आएका छैनन् । टिकटको टुङ्गो लागेर उम्मेदवारी दर्ता भएपछि फोरमका नेताहरू पनि पर्सा जिल्ला छिर्ने बताइएको छ ।
पोखरियाबाट हाम्रा संवाददाता धर्मेन्द्र चौरसियाले गाउँमा पनि चुनावको चहलपहल तीव्र भएको बताएका छन् । बिहानैदेखि उम्मेदवारहरू घरदैंलो कार्यक्रम र दिउँसो, साँझ पार्टी प्रवेश तथा चुनावीसभाको कार्यक्रममा व्यस्त रहने गरेको पाइएको छ । भारतीय तथा नेपाली नं.का जीप, भ्यानहरू अहिले गाउँमा चुनावी प्रचारमा छ्याप्छ्याप्ती प्रयोग भइरहेका छन् । आचारसंहिता लागू भएपनि उम्मेदवारी दर्ता नभएको कारण गाडीहरूको व्यापक प्रयोग भइरहेको छ । यसको रोकथामको लागि कसैले पनि पहल गरेको छैन ।
रङ्गपुर संवाददाता प्रमोद यादवले पनि सो क्षेत्रमा चुनावको चहलपहल व्यापक रहेको बताएका छन् । बिहानदेखि नेताहरू घरदैंलो कार्यक्रम, चुनावीसभा आदिको आयोजना गरिरहेकाले गाउँका मानिसहरू चुनावी कार्यक्रममा पूर्णरूपमा लिप्त छन् ।
प्रतिक्रिया लेख्नुहोस