Birgunj News

पर्सामा ७३ वटा मतदान केन्द्र अति संवेदनशील

वीरगंज, ३१ भदौ – असोज २ हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनमा भारतसँग सीमा जोडिएका ७३ वटा मतदानस्थललाई सुरक्षाको दृष्टिकोणले अति संवेदनशील मानिएको छ ।
पर्सा जिल्लामा कुल १६७ वटा मतदानस्थल तोकिएका छन् । तीमध्ये सुरक्षाको दृष्टिकोणले ७३ वटालाई अति संवेदनशील, ७९ वटालाई संवेदनशील र बाँकी १५ वटालाई सामान्य मतदानस्थलका रूपमा निर्धारण गरिएको जिल्ला सुरक्षा समिति पर्साले जनाएको छ । भारतसँग सीमा जोडिएको ७३ वटा मतदानस्थललाई अति संवेदनशील मतदानस्थलका रूपमा विश्लेषण गरिएको पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले बताए ।

\निप्रजिअ पौडेलका अनुसार ठोरी, बेलवा, चोर्नी, जगरनाथपुर, भेडिहारी, जानकीटोला, प्रसौनी, सोलखपुर, गम्हरिया, हरिहरपुरबिर्ता, कटिबलुवा, पिडारीगुठी, परशुरामपुर, सबैठवा, धोरेका साथै वीरगंज महानगरका छपकैया, इनर्वा, नगवा, भेडियाही, लक्ष्मणवा, अलौं, श्रीसिया पाडेपुर, मिर्जापुरलगायतका स्थानमा तोकिएका मतदानस्थलहरूलाई अति संवेदनशील मतदानस्थलका रूपमा मानिएको हो । खासगरी भारतीय सीमासँग जोडिएका स्थानमा रहेका सबै मतदानस्थललाई अति संवेदनशील क्षेत्रका रूपमा विश्लेषण गरिएको निमित्त प्रजिअ पौडेलले बताए ।

सीमापारिबाट असामाजिक र गलत प्रवृत्तिका मानिस चुनावमा नेपालमा प्रवेश नगरोस् भन्ने उद्देश्यले ती मतदानस्थललाई अति संवेदनशील क्षेत्र ठानिएको छ । महानगर क्षेत्रमा भने मदिराका पसल र होटल बढी भएका स्थानमा रहेका मतदानस्थलहरूलाई अति संवेदनशील क्षेत्र मानिएको निप्रजिअ पौडेलले बताए ।

सीमापारिबाट आपराधिक र असामाजिक प्रवृत्तिका मानिसहरू प्रवेश गर्न सक्छन् कि भन्ने मात्र चुनौती छ । तर सीमापारि भारतका सुरक्षा अधिकारीहरूले आसन्न निर्वाचनमा पूर्ण सहयोग गर्ने आश्वासन दिएकाले पर्सामा निर्वाचनका बेला सुरक्षाका सवालमा खासै त्यस्तो चुनौती नहुने विश्वास रहेको उनले बताए ।

प्रतिक्रिया लेख्नुहोस

Source
Prateek Daily
Show More

Related Articles

Back to top button