पर्सामा आचारसंहिताको व्यापक उल्लङ्घन –मुख्य निर्वाचन अधिकृत कर्ण
वीरगंज, ९ मङ्सिर – पर्साका मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले मङ्सिर २१ गते हुने दोस्रो चरणको निर्वाचनको क्रममा पर्सामा अहिले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसारको क्रममा दल र उम्मेदवारहरूबाट निर्वाचन आचारसंहिताको व्यापक उल्लङ्घन भइरहेको स्वीकार गरेका छन् ।
जिल्ला निर्वचन कार्यालय, पर्साले निर्वाचन आचारसंहिता र सञ्चार प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अधिकृत कर्णले पर्सामा आचारसंहिता उल्लङ्घन भइरहहेको जानकारी पाएको र उपलब्ध स्रोतसाधन लगाएर नियन्त्रण गर्ने कार्य गरिरहेको बताए । आचारसंहिता उल्लङ्घन गर्ने दललाई सचेतसमेत गराएको बताए ।
निर्वाचन आचारसंहिता उल्लङ्घनबारे अनुगमन गर्न विभिन्न टोली खटेका छन्, म आफैं पनि खटेको छु । दल र उम्मेदवारहरूले आचारसंहिता विपरीत सार्वजनिक स्थल, विद्युत् पोल, पर्खाललगायत ठाउँमा चुनाव प्रसारको लागि ब्यानर, झन्डा, पर्चा, पम्प्लेट राखेको भेटिएको भन्दै उनले भने त्यस्ता चुनावी प्रचारका सामग्री अनुगमन टोलीले बिहान हटाउने राति दलहरूले झुन्ड्याउने गरेको पाइएको बताए । उम्मेदवारहरूले फेरि त्यही स्थानमा झन्डा, ब्यानर र पर्चा–पम्प्लेट राख्ने गर्दा दिक्क भएको बताए ।
निर्वाचन आचारसंहिता राजनीतिक दल र उम्मेदवारहरूलाई मात्र नभई कर्मचारी , पत्रकार र व्यक्तिको हकमा पनि लागू हुने भन्दै मुख्य निर्वाचन अधिकृत कर्णले निर्वाचनसम्बन्धी सूचना सम्प्रेषण गर्दा सञ्चारकर्मीहरूले पनि हतार नगर्न सुझाए कार्यक्रममा पमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले पनि पर्सामा निर्वाचन आचारसंहिताको व्यापक उल्लङ्घन भइरहेको बताए ।
निर्वाचन आचारसंहिता दलहरू आफैंले बनाएको सबै दल तथा उम्मेदवारहरूलाई थाहा भएकै कुरा हो तर पनि यस्तो गर्नु विडम्बनाको कुरा रहेको बताए । चुनावलाई सभ्य बनाउन सञ्चारकर्मीहरूको भूमिका अहम् रहेकोले संवेदनशील भएर सूचना सङ्कलन र प्रसारण गर्न जोड दिएका थिए ।
जिल्ला निर्वाचन कार्यालय, पर्साका प्रमुख हुमनाथ पराजुलीको सभापतित्वमा शुरु भएको कार्यक्रममा निर्वाचन अनुगमन अधिकृत तीर्थराज ढकाल, पर्साका प्रहरी उपरीक्षक डाक्टर गणेश रेग्मी, सशस्त्र प्रहरी उपरीक्षक शान्तिकुमार कार्की, नेपाल पत्रकार महासङ्घ, पर्सा शाखाका अध्यक्ष श्याम बन्जाराका साथै पर्सामा रही विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरूको सहभागिता थियो ।
प्रतिक्रिया लेख्नुहोस