नेका पर्साको क्रियाशील सदस्य बन्न राजधानी दौडादौड
वीरगंज, २१ जेठ – नेपाली काङ्ग्रेस, पर्साको हिजो राती सम्पन्न बैठकले पार्टीको क्रियाशील सदस्य नवीकरण गर्ने निर्णय गरेको छ ।
स्थानीय होटल मकालुमा सम्पन्न बैठकले क्षेत्रबाट प्राप्त क्रियाशील सदस्यहरूको नवीकरण गर्ने र क्षेत्रीय सभापतिहरूलाई अविलम्ब छुट सूची पठाउन ताकेता गर्ने निर्णय भएको नेका पर्साका सचिव अशोक जयसवालले बताए ।
बैठक पार्टी सभापति सुरेन्द्रप्रसाद चौधरीको अध्यक्षतामा बसेको थियो । हिजो बैठक सम्पन्न भएलगत्तै आज पार्टी सभापति चौधरी र पूर्व सभापति राजेन्द्रबहादुर अमात्यको टोली क्षेत्र नं.२ र ४ को क्रियाशील सदस्यहरूको नवीकरण गराउन काठमाडौं पुगेका छन् । यता क्षेत्र नं. १, ३ र ५ का क्षेत्रीय अध्यक्षहरू क्रमश: विजय सर्राफ, श्याम पटेल र रमेश पाण्डे आइतवार नै क्रियाशील सदस्यहरूको फेहरिस्त लिएर काठमाडौं पुगिसकेका छन् ।
क्षेत्र नं. १ का क्षेत्रीय सभापति सर्राफले विधान अनुसार क्रियाशील सदस्यहरूको सूची जिल्लाले अनुमोदन
गरी केन्द्रमा पठाउने नियम भए पनि जिल्ला कार्यसमितिको बैठक नडाकिएपछि अनुमोदनका लागि आफैं काठमाडौं आएको फोनबाट प्रतिक्रिया दिएका छन् ।
नेपाली काङग्रेस पर्साको क्षेत्र नं. १ देखि ५ सम्म करिब ६ हजारको हाराहारीमा क्रियाशील सदस्य छन् । सबैभन्दा बढी क्षेत्र नं. १ मा १५ सय क्रियाशील सदस्य रहेका क्षेत्रिय सभापति सर्राफले प्रतीकलाई बताए ।
प्रतिक्रिया लेख्नुहोस