नाकामा रोकिए ४ हजार गाडी
वीरगन्ज- मधेसकेन्द्रित तथा अन्य राजनीतिक दलको १० दिनदेखि जारी बन्दका कारण चार हजार मालबाहक गाडी मुलुकको प्रमुख नाका वीरगन्जनजिकै भारतीय सीमामा थन्किएका छन्।
औसत २० टन बोक्ने गाडीहरू साताभन्दा बढी समयदेखि रोकिँदा कम्तीमा ८० हजार टन सामान अलपत्र परेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ। मालबाहक ट्रक, कन्टेनर, प्लेटफर्म ट्रक, भेहिकल कार्गोलगायत गाडीको लर्को सीमावर्ती भारतीय सहर रक्सौलको लक्ष्मीपुरदेखि करिब २५ किलोमिटरसम्म देखिन्छ।
सामान्य अवस्थामा भारतीय सहर रक्सौलबाट दिनहुँ करिब ४ सय ट्रक वीरगन्ज भन्सार हुँदै आउँछन्। भारत र तेस्रो देशबाट आएका सामान वीरगन्ज नाका हुँदै नेपाल भिœयाइने गरिन्छ।
‘अप्रत्यासित रूपमा बन्द गरिएकाले बढी मार परेको छ, केही दिनअगाडि बन्दको जानकारी दिएको भए व्यापारीले त्यसैअनुसार सामग्री आयात गर्थे, आफ्नो लगानी अलपत्र हुने थिएन,’ नेपाल उद्योग वाणिज्य महासंघका वाणिज्य तथा आपूर्ति समिति संयोजक विजय सरावगीले भने, ‘भूकम्पको मार खेपिरहेको आर्थिक क्षेत्रलाई अर्को आपत आइपरेको छ।’
व्यापारीले एलसी (प्रतीतपत्र) खोलेर ल्याएका सामान सीमापारि थन्किनुका साथै कच्चापदार्थ तथा इन्धन अभावले कलकारखाना ठप्प भएको उद्योगी–व्यवसायी बताउँछन्। ‘अधिकारका लागि गरिएको आन्दोलनको हामी विरोधी होइनौं,’ सरावगीले भने, ‘वैज्ञानिक र व्यवस्थित ढंगले गरेको भए उद्योगी–व्यापारी र जनतालाई समस्या हुने थिएन।’ ट्रकका ट्रक सामान सीमापारि रोकिँदा व्यापारी र उपभोक्ता मारमा पर्ने उनको भनाइ छ।
यतिका विधि मालसामान अलपत्र पर्दा सरकारले कुनै पहल नगरेको उद्योग–व्यवसायीको गुनासो छ। ‘ढिलो चाँडो राजस्व असुली भइहाल्ने भएकाले सरकारले कुनै वास्ता गरेको छैन,’ एक व्यापारीले भने। आफूले आयात गरेको विभिन्न उद्योगलाई चाहिने कच्चा पदार्थ बोकेका २० भन्दा बढी गाडी रक्सौल र जोगबनी नाकामा अलपत्र परेको सरावगीले बताएका छन्।
सीमापारि रोकिएका बाहेक नेपाल भित्रिसकेका करिब हजारभन्दा बढी भारतीय गाडी तोकिएको समयमा फर्कन नपाउँदा दैनिक १६ हजार रुपैयाँ (भारतीय १० हजार) बिलम्ब शुल्क तिर्नुपर्छ। ‘सीमापारि रोकिएका ट्रक खाली गर्न दबाब आउन थालेको छ,’ वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्षसमेत रहेका आयातकर्ता सुबोध गुप्ताले भने, ‘लगातर पानी परिरहेकाले सामान बिग्रने सम्भावना छ, यो समस्या सरकारले सम्बोधन नगर्दा दुःख लागेको छ।’
बन्दले यातायात अवरुद्ध हुँदा सीमित क्षमताका रक्सौलका व्यापारिक गोदाम भरिभराउ छन्। रक्सौलबाट ५ किलोमिटर पश्चिम हर्दिया चोकमा लामबद्ध गाडीमध्ये एकका चालक रवीन्द्रसिंह चौहान पश्चिम बंगालको माल्दाहबाट २२ टन ‘ग्लुकोज’ बोकेर आएका हुन्। उनी सात दिनदेखि त्यहीँ अलपत्र छन्। गोवाबाट औद्योगिक रसायन लिएर आएका ट्रकचालक सोनु शर्माले बन्दका कारण नाका नखुल्दा सास्ती पाएको बताए।
सीमामा आइसकेको वस्तुको नाका परिवर्तन वा फिर्ता पठाउनका लागि प्रक्रिया बढाउन सकिने भए पनि कानुनी बन्देज र जटिलताका कारण अप्ठेरो भएको उनी बताउँछन्। बन्दबाट आजित व्यापारी निकै आक्रोशित छन्। ‘एकातिर गैरजिम्मेवार किसिमले आन्दोलन थाल्ने दलहरूले मर्का बुझेका छैनन्,’ एक व्यापारीले भने, ‘अर्कोतिर व्यापारीमाथि परेको मर्काप्रति सरकारले पूरै बेवास्ता गरेको छ।’ वीरगन्ज भन्सार र सुक्खा बन्दरगाहमा आइसकेका सामान जोखिम लिएर ल्याउन खोजे पनि राजस्व बुझाउने बैंक खुलेको छैन। सामान बोकेका गाडीलाई प्रहरीले सुरक्षा दिन सकेको छैन।
सुक्खा बन्दरगाहमा थन्किए कन्टेनर
सिर्सियास्थित सुक्खा बन्दरगाहबाट पनि साउन २९ देखि कन्टेनर र अरू मालसामान बोकेका गाडी आउन सकेका छैनन्। बन्दरगाह सञ्चालक हिमालयन टर्मिनलका अनुसार विदेशबाट सामान बोकर आएका ५ सय २३ कन्टेनर ‘आइसिडी’ (इल्यान्ड कन्टेनर डिपो) भित्र रोकिएका छन्। बाहिरिएका करिब ६० कन्टेनर पनि बाटामै अलपत्र छन्।
सुक्खा बन्दरगाहमा आउने एकथरि रेलले एक खेपमा ९० वटा कन्टेनर बोक्छ। अर्कोथरि रेलले एकचोटिमा २ हजार ५ सय टन फलाम बोक्छ जसलाई बल्क कार्गो भनिन्छ। यसैगरी, करिब २ हजार ४ सय टन बोरामा राखिएका सामान लिएर आउने रेललाई ‘ब्याग कार्गो’ भन्ने गरिन्छ। यसरी सुक्खा बन्दरगाहमा तीनथरिका रेल विभिन्न सामान लिएर आउने गर्छन्। सुक्खा बन्दरगाह कार्यालयका अनुसार नेपालका लागि आएका करिब १० र्यातक अर्थात २५ हजार टन फलाम पनि बाहिरन नपाउँदा भित्रै थन्किएका छन्।
फलामजन्य वस्तु लामो समयसम्म सीमापारि रोकिँदा नेपाली बजारमा फलामे छडको मूल्य वृद्धि हुन सक्ने व्यापारीको आँकलन छ। सुक्खा बन्दरगाहको ‘आइसिडी’ मा थन्किएका कन्टेनरमा बिलम्ब शुल्कको भार पर्ने देखिएको छ। तेस्रो मुलुकबाट भारतको कोलकाता बन्दरगाहमा कन्टेनर आइपुगेको १४ दिनभित्र सिपिङ कम्पनीको कोलकातास्थित ‘प्लट’ (राख्ने ठाउँ) मा नपुगे बिलम्ब शुल्क लाग्ने प्रावधान छ।
‘निर्धारित समयभित्र नपुग्दा आयातकर्ताले प्रतिकन्टेनर ३० देखि ६० अमेरिकी डलरसम्म जरिवाना बुझाउनुपर्छ,’ सुक्खा बन्दरगाहका प्रमुख भन्सार अधिकृत देवीप्रसाद भण्डारीले भने, ‘अन्ततः त्यसको मूल्यभार उपभोक्तामाथि पर्छ।’ ५ सय कन्टेनरमा औसत प्रतिकन्टेनर ४० डलरका दरले हिसाब गर्दा दैनिक २० हजार डलर बिलम्ब शुल्क तिर्नुपर्ने हुन्छ।
बिहीबारदेखि राजस्व शून्य
जारी बन्दले यातायात र व्यापार अवरुद्ध भएपछि वीरगन्जका दुई भन्सार कार्यालयको राजस्व अत्यधिक प्रभावित भएको छ। एक दिन सुक्खा बन्दरगाह नचल्दा राजस्वबाहेक नेपाललाई १ करोडसम्म घाटा पर्छ। वीरगन्जका भन्सार कार्यालयमा बिहीबारदेखि नै राजस्व संकलन शून्यमा झरेको छ।
सुक्खा बन्दरगाह भन्सारमा दिनहुँ औसत ५ करोड रुपैयाँ राजस्व संकलन हुँदै आएकोमा अहिले पूर्ण रूपमा अवरुद्ध भएको सूचना अधिकारी हरिहर पौडेलले बताए। २५ देखि ३० करोड रुपैयाँसम्म दैनिक राजस्व उठ्ने वीरगन्ज भन्सार कार्यालय ठप्पजस्तै छ। कार्यालयको असुली १० प्रतिशतमा मात्र सीमित भएको छ। वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मित्रलाल रेग्मीले भने, ‘कार्यालय लगभग सुनसान छ, केही कामै हुन पाएको छैन।’
-Nagariknews-
प्रतिक्रिया लेख्नुहोस