नाकाबन्दीको दुई महिना पूरा, अध्यक्ष महतो र मातृका धर्नामा
५ मङ्सिर/वीरगंज – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सङ्घीय समावेशी मधेसी मोर्चाको अगुवाइमा धर्ना बसी वीरगंज नाका बन्द गरेको शनिवार दुई महिना अर्थात् ६० दिन पूरा भएको छ ।
मुलुकको मुख्य प्रवेशद्वार वीरगंज नाका बन्द गर्दै वीरगंज–रक्सौल मितेरी पुलमा आन्दोलनकारीहरू नियमित धर्नामा बसिरहेका छन् । जारी मधेस आन्दोलनको १०० दिन र नाकाबन्दीको ६० औं दिन पनि मितेरी पुलको धर्नामा कुनै शिथिलता देखिएको छैन ।
शनिवार सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र नेकपा माओवादीका अध्यक्ष मातृका यादवले मितेरी पुलमा धर्ना दिएका थिए ।
धर्ना दिइरहेका मोर्चाका नेता, कार्यकर्ताहरूको मनोबल उच्च बनाउन र जारी मधेस आन्दोलनमा आफ्नो ऐक्यबद्धता प्रकट गर्न पूर्व प्रहरी कर्मचारीहरू पनि मितेरी पुल पुगेका थिए ।
घण्टाघरबाट नाराबाजी गर्दै भूपू प्रहरीहरूको जुलुस धर्नास्थल मितेरी पुलमा पुगेर नाकाबन्दीमा ऐक्यबद्धता जाहेर गरेको थियो । उनीहरूले मधेसको माग पूरा गर्न आफ्नो स·ठनले पनि सक्दो भूमिका निर्वाह गर्ने आश्वासन दिएका थिए । जुलुसमा पूर्व प्रहरी कर्मचारीहरू, पूर्व प्रउ हनुमान साह, पूर्व प्रनाउ समसुल जोलाहा, पूर्व प्रनानि नागेन्द्र यादव, वीरेन्द्र यादवलगायतको सहभागिता थियो ।
-Prateek Daily-
प्रतिक्रिया लेख्नुहोस