नाउक्षे अस्पतालमा फार्मेसी सञ्चालनको तयारी
वीरगंज, १२ पुस – नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजले सर्वोच्च अदालतको आदेश पालना गर्दै फार्मेसी सञ्चालन गर्ने तयारी गरेको छ ।प्रसूतिगृह भवनको पुरानो प्रवेशद्वार हाल प्रतीक्षालय बनाइएको स्थानमा फार्मेसी सञ्चालन गर्ने योजना रहेको अस्पताल स्रोतले जनाएको छ ।
५० शैय्याभन्दा बढीको अस्पतालले आफ्नै फार्मेसी सञ्चालन गर्नुपर्ने सर्वोच्च अदालतले आदेश जारी गरेपछि सो निर्णय कार्यान्वयन गर्दै नाउक्षे अस्पतालले फार्मेसी सञ्चालन गर्न लागेको हो ।
नाउक्षेअमा फार्मेसी सञ्चालनको लागि स्वास्थ्य सेवा विभागले एकजना फार्मेसिस्टलाई नियुक्त गरी दरबन्दीमा खटाइसकेको छ । तीन महिनाअगाडि महिला फार्मेसिस्ट नियुक्त भएर आए पनि अस्पतालको आफ्नै फार्मेसी नभएको कारण विभागले पठाएको फार्मेसिस्टले काम नपाएर बस्नुपरेको छ ।
यसअघि अस्पताल विकास समितिले फार्मेसी सञ्चालन गर्न लागेको भन्दै नाउक्षे अस्पताल कर्मचारी युनियनले विरोध गरेको थियो । युनियनका अध्यक्ष रामेश्वरप्रसाद कुर्मीले भने फार्मेसी सञ्चालनको लागि आफूहरूले कहिल्यै विरोध नगरेको बताएका छन् । उनले अस्पताल विकास समितिले फार्मेसी, एनआईसीयूलगायतका कार्यहरू सञ्चालन गर्न लागेको भनेर शुरूमा आफूहरूले विरोध गरेको तर पछि सरकारीस्तरबाट सो सेवाहरू सञ्चालन हुन गइरहेको भन्ने थाहा पाएपछि कुनै अवरोध नगरेको बताए ।
अध्यक्ष कुर्मीले विकास समितिले अस्पतालका सम्पूर्ण कर्मचारीलाई दिनुपर्ने २० प्रतिशत सेवा सुविधा विगत लामो समयदेखि दिन नसकेर करिब पौने दुई करोड बक्यौता रहेको अवस्थामा पुन: विकास समितिले थप आर्थिक भार बेहोर्ने गरी कार्य गर्न खोजेकोमा विरोध गरेको जिकिर गरे । “आर्थिक अवस्था सुधार गर्ने तर्फ पनि अस्पताल विकास समिति अग्रसर हुन जरुरी छ,” उनले भने ।
सरकारले सञ्चालन गर्ने सेवा सुविधामा युनियनको कुनै विरोध नरहेको कुर्मीले स्पष्ट पारे ।
नाउक्षे अस्पताल विकास समितिको हाल मासिक आम्दानी घटेको छ । तीस लाखभन्दा बढी रुपैयाँ मासिक आम्दानी हुने गरेको विकास समितिमा अहिले मासिक २० लाखको हाराहारीमा आम्दानी भइरहेको अस्पतालको लेखा शाखाको तथ्याड्ढले देखाएको छ । सो आम्दानी कर्मचारीहरूको तलब र समितिका पदाधिकारीहरूको भत्ता आदिको लागि पनि पर्याप्त नभएको अस्पतालका अधिकारीहरू बताउँछन् ।
-Prateek Daily-
प्रतिक्रिया लेख्नुहोस