नाउक्षेअलाई चार सय शैय्याको बनाउने तयारी
वीरगंज, २९ माघ – शहरी विकास तथा भवन निर्माण विभाग, स्वास्थ्य भवन एकाइ बबरमहलले नाउक्षे अस्पताल वीरगंजमा चार सय शैय्याको नयाँ भवन निर्माण गर्ने तयारी शुरू गरेको छ ।२०६७ सालमा गुरुयोजना तयार भएपनि भवन निर्माणको लागि पहल नभएपछि रोकिएको अस्पताल भवन निर्माणका लागि वर्तमान मेसु र अस्पताल विकास समितिका पदाधिकारीहरूले पहल गरेपछि भवन निर्माण कार्य हुने भएको हो । अस्पताल विकास समितिका सदस्य सुदीप लामाले पुरानो महेन्द्र आरोग्य भवनमा चार सय शैय्याको आधुनिक अस्पताल निर्माणको लागि पहल भएको र शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय वीरगंजले केही दिनमैं टेन्डर गर्ने बताए । उनले सकारात्मक पहल नभएको कारण ५ वर्ष ढिलो गरी नयाँ अस्पताल भवन निर्माण हुन लागेको बताए । सदस्य लामाले २०६७ सालमैं मास्टरप्लान अनुसार ४ सय शैय्याको अस्पताल निर्माणको लागि आवश्यक नक्शा तथा लालपुर्जा डिभिजन कार्यालयलाई बुझाएको पनि जानकारी गराए ।
शहरी विकास तथा भवन निर्माण विभाग, स्वास्थ्य भवन एकाइले २०७२/७३ मा देशभरमा १३ वटा अस्पताल तथा प्राथमिक सेवा केन्द्र, दुईवटा जनस्वास्थ्य कार्यालय र ५ वटा बर्थिङ सेन्टर निर्माण गर्ने सूचीमा चार सय शैय्याको नाउक्षे अस्पतालमा आधुनिक भवन निर्माण योजना समावेश गरेको छ ।
नाउक्षे अस्पतालका प्रवक्ता रमेश चौधरीले हाल महेन्द्र आरोग्य भवन रहेको करिब १७ कट्ठा जग्गामा ४ सय शैय्याको आधुनिक अस्पताल निर्माण गर्ने प्रक्रिया अन्तर्गत आइतवार माटो परीक्षण गरिने बताए । उनले वर्तमान मेसु र अस्पताल विकास समितिका पदाधिकारीहरूको अग्रसरताले ५ वर्षअगाडि पहल भएको अस्पताल निर्माण कार्यले अहिले मूर्तरूप पाउन लागेको बताए । यसका लागि अस्पताल र विकास समितिका जिम्मेवार व्यक्तिहरू बसेर भवन निर्माणको लागि निर्णय गरेको प्रवक्ता चौधरीले प्रतीकलाई बताए ।
महेन्द्र आरोग्य भवन जीर्ण भएपछि नाउक्षे अस्पतालको सर्जिकल, मेडिकल, बाल, अर्थो, आईसीयु, एनआईसीयु, बर्न र पोषण गृह प्रसूतिगृह भवनमा सञ्चालन हुँदै आएका छन् । महिलाहरूको लागि निर्माण गरिएको प्रसूतिगृहमा हाल नाउक्षे अस्पतालको ३ सय शैय्या र प्रसूतिगृहको गाइनो वार्डको ५० सहित ३५० शैय्या सञ्चालनमा छन् । प्रसूतिगृह भवनले ३५० शैय्याको भार थेग्न सक्ने अवस्था नभए पनि विकल्प नभएको कारण जेनतेन सञ्चालन भइरहेको छ । चार सय शैय्याको नयाँ भवन निर्माण भएपछि प्रसूतिगृहमा सञ्चालित नाउक्षे अस्पतालको गाइनो, पोषणगृह र एनआईसीयुबाहेकका युनिटहरू सर्ने बताइएको छ ।
-Prateek Daily-
प्रतिक्रिया लेख्नुहोस