Birgunj News

दाइजोमा औंठी नदिँदा सिन्दुर हाल्दै गरेको बिहे भाँडियो

वीरगन्जः बेहुलीका बुवाले दाइजोमा औंठी नदिँदा बेहुलीको सिउँदोमा सिन्दुर हाल्दै गरको बिहे भाँडिएको छ ।

वीरगन्ज उपमहानगरकालिका–१८ लक्ष्मणवाका २२ वर्षीय अनुप बर्णवाल र भारत बिहार पश्चिम चम्पारणको बेतियाकी २१ वर्षीया युवतीबीच बिहीबार राति भइरहेको विहे भाँडिएको हो ।

वीरगन्जको आदर्शनगरस्थित महावीर धर्मशालामा बिहीबार राति बेहुलीको सिउँदोमा सिन्दुर हाल्न अघि बढेका बेहुलालाई उनका बुवा अंकुर बर्णवालले रोकेर दाइजोमा कबुलै नगरिएको सुनको औंठी बेहुलीका बुवासँग मागे ।

बेहुलीका बुवाले सुनारले बनाउन नभ्याएकाले औंठी पछि दिने भन्दै हात बेहुलाका पक्षसँग जोडे । त्यसपछि बेहुलाका बुवा अंकुरले औंठी नपाए छोराको बिहे नगर्ने धम्की दिए । बेहुला अनुपले पनि औंठी नपाएसम्म बेहुलीको सिउँसोमा सिन्दुर नहाल्ने अडान त्यतिबेलै लिए ।

त्यसमै विवाद भइ विवाह मण्डपमै दुई पक्षबीच कुटाकुट हुँदा बिहे भाँडिएको हो । दुवै पक्षबीचको झडपमा बेहुलापक्षका एक महिला र बेहुलीपक्षका एक पुरुष घाइते भएका छन् ।

बिहेको मण्डपमा झडपको खबर पाएपछि राति नै पुगेको प्रहरीले बेहुला अनुप र उनका बुबा अंकुरलाई नियन्त्रणमा लिएको छ । दुबैजनालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासता राखिएको छ ।

बेहुलीका बुवाले दाइजोमा बेहुलाका बुवालाई नगद दुई लाख ४० हजार रुपैयाँ बिहे हुनुभन्दा अघिको छेका (टीकोटालो समारोह) मै दिइसकेका थिए । नगदसँगै बेहुलालाई सुनको सिक्री र औंठी पनि पहिले नै दिइसकेको बेहुलीका बुवाले बताए ।

बिहेको मण्डपमा सिन्दुर हाल्ने बेला बेहुलाका बुबाले थप सुनको औंठी मागेपछि विवाद र कुटाकुट भएको बेहुलीका बुवाले बताए ।

‘औंठी बनाउन सुन पसलमा अर्डर गरिसकेको थिएँ, सुनारले बनाउन नभ्याएकाले ल्याउन सकिनँ’, सुन पसलेले दिएको औंठीको बिल देखाउँदै बेहुलीका बुवाले भने, ‘धेरै हारगुहार गरँे, तर बेहुलाका बुवाले मान्दै मानेनन् ।’

दाइजोमा दिएको नगद, सुनको गरगहना, बेहुला पक्षलाई लत्ताकपडा किन्दा र भोजभतेरसहिता आफ्नो सात लाख रुपैयाँ खर्च भएको बेहुलीका बुवाले बताए ।

भारतमा घर भएपनि बेहुला पक्षको दबाब र आग्रहमा बेहुलीका बुवाले छोरीको विवाह समारोहका लागि वीरगन्जको आदर्शनगरमा रहेको महावीर धर्मशाला दुई दिनलाई भाडामा लिएका थिए ।

बिहेको भोजभतेरको सबै चाँजोपाजो पनि बेहुलीका बुवाले नै गरेका थिए । ‘मैले त जन्ती मेरै घरमा ल्याउनु भनेको थिएँ । तर बेहुलाका बुवाले विहे वीरगन्जमै गर्नुपर्छ भनेर दबाव दिएपछि मैले धर्मशाला बुक गरेको थिए’, उनले भने, ‘जन्तीलाई भोजभतेरसहितको सबै खर्च पनि मेरै थियो ।’

प्रहरीले बिहेकाे मण्डपबाट बेहुला अनुप र उनका बुवालाई हिरासतमा लिएपछि शुक्रबार जिल्ला प्रहरी कार्यालय पर्सामा बेहुला र बेहुली पक्षबीच दिनभर छलफल भयो ।

छलफलका क्रममा बेहुलापक्षले विवाह नरोकिदन आग्रह गरेपनि बेहुलीका बुवा जगरनाथले छोरीको विहे गर्न मानेनन् ।

त्यसपछि बेहुलापक्षले बेहुलीपक्षलाई क्षतिपूर्ति बापत चार लाख भारतीय रुपैयाँ (नेरु ६ लाख ४० हजार) दिने प्रस्ताव गरेपछि बेहुलीका बुवा जगरनाथले बेहुला पक्षविरुद्ध प्रहरीमा जाहेरी नदिने सहमति गरेका छन् ।

तर, जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले भने दाइजो समाजिक अपराध भएकाले आपसी सहमतिमा पीडकपक्षलाई रिहा गर्न नमिल्ने बताए ।

‘दाइजो र महिला हिंसा जस्ता घटना सामाजिक अपराध हुन् । उनीहरु आपसी सहमति के गर्छन ? त्यो हाम्रो सरोकारको विषय होइन’, ’, प्रनाउ बोगटीले भने, ‘प्रहरीले सामाजिक अपराध अन्तर्गत कारवाही अघि बढाउँछ । बेहुलीपक्षका तर्फबाट जाहेरी दिलाउने प्रयासमा हामी छौँ ।’
-Annapurnapost-

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Check Also
Close
Back to top button