Birgunj News

तेलको कारोबारले गर्दा खुर्सानीमा घाटा

वीरगंज, १६ मङ्सिर – पेट्रोलियम पदार्थको अवैध कारोबारको कारण निर्मलबस्तीको खुर्सानीले बजार पाउन सकेको छैन। पर्सा, निर्मलबस्ती गाविस अन्तर्गत ब्रह्मनगर, बुधनगर र रामनगर खुर्सानी खेतीको लागि नाम चलेको छ। सो क्षेत्रको खुर्सानीको मुख्य बजार भारत बिहार हो। सीमावर्ती बिहार क्षेत्रका व्यापारीहरू निर्मलबस्तीका किसानको खेतमैं आएर खुर्सानी किनेर लैजान्थे ।सो क्षेत्रका किसानहरूले बर्सेनि खुर्सानी खेती गर्दै आएका छन्। खुर्सानी खेतीलाई उक्त क्षेत्रका किसानहरूले मुख्य नगदेबालीको रूपमा लिने गरेका छन्।

ब्रह्मनगर एउटा वडाबाट मात्रै बर्सेर्िन ३० लाखभन्दा बढीको हरियो खुर्सानी भारतीय बजारमा जाने गरेको निर्मलबस्तीका खुर्सानी उत्पादक किसानहरूले बताएका छन्।

वर्षायाममा लगाइएको खुर्सानीबालीले भदौ महिनाको शुरुआतदेखि फसल दिन शुरु गर्छ। यसले निरन्तर मङ्सिर महिनासम्म फसल दिइरहने हुँदा खेतबाटै हरियो खुर्सानी बिक्री गर्ने कार्य करिब चार महिनासम्म चलिरहन्छ।
एकपटक टिपेको बोटमा पुन: एक डेढ हप्ताभित्र अर्कोपटक फसल लिन पाउने भएकोले हरियो खुर्सानी लिन आउने भारतीय

व्यापारीहरूलाई पनि किसानहरूले कुन दिन कसकोमा जाने अर्थात् कुन खेतमा जाने भन्ने तालिका त्यसैगरी बनाएका हुन्छन्।

तर यस वर्ष भने भदौ महिनामा भारतीय व्यापारीहरू किसानको खेतमा आए तापनि त्यसपछि मधेस आन्दोलन र नाकाबन्दी शुरु भएलगतै भारतीय व्यापारी खुर्सानी लिन नआएको निर्मलबस्ती–३ ब्रह्मनगरका किसान हीरालाल श्रेष्ठले बताए । व्यापारी नआएपछि खुर्सानी बोटमैं रातो भएर पाक्ने, झर्ने र कुहिने गरेर धेरै नष्ट भएको श्रेष्ठको भनाइ छ। भदौमा भारु. ५० अर्थात् नेरु ८० प्रतिकिलोको दरमा बिक्री भएको खुर्सानी त्यस यता रु २५ मा नेपालकै केही व्यापारीहरूले खरिद गरेर लगेको र त्यस पछि नेपाली व्यापारी पनि फर्केर नआएको अर्का किसान रामशरण कार्कीले प्रतीकलाई बताए।

नाकाबन्दीको कारण सीमा बन्द भएर भारतीय वा नेपाली व्यापारी खुर्सानी खरिद गर्न नआएका भने होइन । उनीहरूले खुर्सानीभन्दा गतिलो फाइदा पेट्रोलियम पदार्थमा देखेपछि खुर्सानी लिन नआएको भारत बिहार सुभद्र थाना घर बताउने खुर्सानी व्यापारी अक्लु चौधरीले बताए।

चौधरीका अनुसार मोटरसाइकलमा भारतबाट नेपाल तेल ओसार्दा दैनिक भारु ४ हजारदेखि दश हजारसम्म प्रतिव्यक्ति फाइदा हुने गरेको छ। साइकलभन्दा मोटरसाइकलमा डिजल पेट्रोल ओसार्नेहरूको दैनिक आम्दानी बढी छ। सो अनुपातमा खुर्सानी व्यापारबाट आम्दानी गर्न एक हप्ता समय लाग्ने उनीहरूको भनाइ छ।

“खुर्सानी किन्न आउने व्यापारीहरू आजकाल पेट्रोल बेच्न आँउछन्।” निर्मलबस्ती–१ की रामकली क्षत्रीले बताइन्।

भारतीय व्यापारीले नेपालको सीमावर्ती गाउँघरसम्म तेल ल्याइदिने भएपछि नेपालतर्फका पनि अधिकांश बासिन्दा सोही कारोबारमा लागेका छन् । पेट्रोलको अवैध कारोबारबाट गाउँमा नगद भित्रिए पनि वैध खुर्सानी भने खेतमा कुहिएर झरेको ब्रह्माज्योति निमाविका प्रधानाध्यापक सूर्यबहादुर खड्का दु:खेसो पोख्छन्–“खुर्सानी खेतीबाट भारतीय मुद्रा नेपाल भित्रिरहेको थियो। पेट्रोलियम पदार्थको कारोबारबाट नेपाली मुद्रा अवैध रूपमा बाहिर गइरह्ेको छ। र भारु १०० को बट्टासहित नेरु १७० भन्दा बढी तिर्नुपर्छ।”

व्यापारी नआएपछि कतिपय किसानले खुर्सानी टिपेर सुकाएर भण्डारण गरेका छन्। अधिकांश किसानले भने त्यसो गर्न मजदुरसमेत पाएनन्। यस वर्ष खुर्सानीमा रु १५ लाखभन्दा बढी नोक्सानी भएको किसानहरूको अनुमान छ।
-Prateek Daily-

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button