तस्कर र मोर्चा कार्यकर्ताहरूको मुठभेडका कारण गाउँमा त्रास
वीरगंज, १६ मङ्सिर – सीमा क्षेत्रमा बढिरहेको पेट्रोलियम पदार्थको तस्करीले अहिले खतराको सङकेत बढ्दै गइरहेको देखिन्छ। अहिले दैनिक तस्करहरूबीच एकापसमा गोली हानाहानदेखि कुटाकुटसम्म हुने गरेको स्थानीय बासिन्दाले बताएका छन्। सीमावर्ती गाविसका स्थानीय बासिन्दा तस्करहरूको डरले सुत्न पाइरहेका छैनन् ।
मधेस आन्दोलनको क्रममा सीमावर्ती गाविसस्थित सम्पूर्ण प्रहरी युनिट विस्थापित भएको कारण गाउँमा सुरक्षा गर्ने कोही नभएको स्थानीय बासिन्दाले बताएका छन्। प्रहरी विस्थापित भएपछि गाउँघरमा रहेका उच्छृङ्खल व्यक्तिहरू अहिले तेल ओसारपसारमा संलग्न भएको देखिन्छ।
गाउँघरमा रहेका विभिन्न राजनीतिक दलहरू अहिले सङ्क्रमणकालमा आफ्नो रिस साध्ने समेत गरेको गाउँलेको भनाइ छ। प्रहरी चौकीहरू नभएको कारण उनीहरूको समस्या यथावत रहेको गाउँलेको भनाइ छ। तस्करीको कारण सेढवामा गोली हानाहान, पिपरडारीमा कुटाकुट, गर्दौलमा गाडी जलाउने काम, भिस्वामा दुई पक्षबीच समूहगत झडप, मिर्जापुरमा गाडी तोडफोडसमेत भएको छ।
गाउँमा अहिले जो बलियो छ, उसैको धाकधम्कीबाट निर्धाहरूलाई सताउने काम भइरहेको छ। तस्करी संस्थागत हुँदै गएपछि सुरक्षा निकायको चासोको विषय बनेको प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेको भनाइ छ। प्रजिअका अनुसार दैनिक गाउँलेहरूको फोन आउने गरेको छ। अर्कातिर तस्कर र मोर्चाका कार्यकर्ताबीच पनि तनाव बढ्दै गइरहेको छ। एउटै गाउँका बासिन्दा तस्कर र मोर्चाका कार्यकर्ताबीच विगतमा देखिएको मतान्तर अहिले प्रतिद्वन्द्विताको रूपमा देखा पर्दै गएको र सोही अनुसार दैनिक सीमावर्ती गाविसमा तनाव सिर्जना हुने गरेको देखिन्छ।
व्यक्तिगत रिस साध्न अहिले आफूलाई मोर्चाको कार्यकर्ता बताउँदै धाकधम्की देखाउने फेसन नै चल्न थालेको छ। यस्तोमा निर्धा गाउँले सकसमा परेका छन्।
-Prateek Daily-
प्रतिक्रिया लेख्नुहोस