ठोरी फिर्ता भयो
वीरगंज, ६ भदौ – ठोरीलाई पर्साबाट टुक्राएर प्रदेश नं. ३ मा गाभ्ने निर्णय फिर्ता भएको छ । डा. बाबूराम भट्टराई नेतृत्वको विशेष समितिले ठोरी गाविसलाई पर्साबाट टुक्रयाएर चितवनसँगै प्रदेश नं. ३ मा राख्ने निर्णय गरेको थियो ।
सो निर्णयसहित मस्यौदा समितिमा संविधानको मस्यौदा बुझाइएको भए पनि मस्यौदा समितिले विशेष समितिको निर्णय फिर्ता गरी ठोरीलाई पुन: प्रदेश नं. २ मैं राख्ने निर्णय गरेको पर्सा क्षेत्र नं. ५ का सभासद् जयप्रकाश थारूले टेलिफोन सम्पर्कमार्फत् प्रतीकलाई जानकारी गराए ।
विशेष समितिका संयोजक भट्टराईले मस्यौदा बुझाउने क्रममा गरिएको पत्रकार सम्मेलनबाट मात्रै पर्साका सभासद्हरूले ठोरी कटेको थाहा भएको र सोलगत्तै उक्त निर्णयको विरोध गरेको कारण मस्यौदा समितिले निर्णय सच्याएको थारूले बताएका छन् ।
मस्यौदा समितिमा मस्यौदा गएपछि मधेस केन्द्रित आन्दोलनरत विभिन्न दललगायत जिल्लास्थित सत्तारूढ एमाले, काङ्ग्रेसका नेता तथा सभासद्हरूले विरोध जनाएका थिए ।
ठोरीलाई प्रदेश नं २ मा नै राखिएको मस्यौदा संसद्मा टेबुल भइसकेको एमाले नेता थारूले बताएका छन् ।
-Prateek Dainik-
प्रतिक्रिया लेख्नुहोस