Birgunj News

ठोरीले दिएको सन्देश

ठोरीको प्राकृतिक दृश्यावलोकनदेखि लोभिएर नेपाली कम,धेरै भारतीयहरू टाढाटाढादेखि आउँदा रहेछन् भन्ने यस वर्षको अङ्ग्रेजी नयाँ वर्षले देखाएको छ । वास्तवमा भारतीय पर्यटकहरूलाई निम्त्याउने खालको ठोरीमा कुनै मानवीय संरचना खडा गरिएको छैन । न त्यो ठूलो बजार हो, न त्यहाँ एउटा ठूलो जमातलाई मनोरञ्जन दिन सक्ने कुनै संसाधन नै विद्यमान छ । छ भने मात्र प्राकृतिक दृश्यावलोकन र प्रकृतिको निर्दोष उपस्थिति ।

निर्दोष प्रकृतिको छहारीमा के आकर्षण छ र मानिसलाई टाढाटाढादेखि लोभ्याएर बोलाउँछ ? स्पष्ट छ आजको मानिस शहरी वातावरण, कोलाहल, प्रदूषणबाट वाक्क भइसकेको छ । आजको मानिससँग क्रयशक्ति बढेको छ । क्रयशक्ति बढेर खुब पैसा खर्च हुने ठाउँ नगएर, धार्मिक पर्यटनमा नगएर ठोरीको सुनसान प्रकृतिमा रमिन किन आउँछन् त मानिस ? यसलाई प्रकृतिको एक्लो रमणीयता मात्र मान्न सकिन्छ ।

यस सन्दर्भमा कुरा उठाउँदा विकास विरोधीको अत्तो थोपरिन सक्छ । किनकि आज विकास भनेको उद्योगीकरण, उपभोक्तावाद हो । उद्योगीकरणले मानिसको क्रयशक्ति बढाउँछ, क्रयशक्तिले मानिस चाहेजस्तो सुविधा प्राप्त गर्न सक्छ । सुविधाले उपभोग गर्न सिकाउँछ र उपभोगले प्रदूषण निम्त्याउँछ, प्रदूषणबाट मानिस निस्सासिन थाल्छ र प्रकृतिको काखमा रमाउन खोज्छ । यस प्रकार उद्योगीकरण अरूको भागमा छाडेर नेपालले किन प्रकृतिकै उद्योगीकरण नगर्ने ? व्यापारिक सोचको अभावले नयाँ वर्षको दिन भारतबाट आएका हजारौं पर्यटकबाट ठोरीवासीले आय गर्न सकेनन्, त्यो आप्mनो ठाउँमा छ ।

त्यसैलाई व्यवस्थित गर्न सक्ने हो र प्रकृतिको कुनै संरचना नभत्काई त्यसमा मानवीय श्रमजन्य व्यवस्था थप्न सक्ने हो भने एक दिन मात्र किन, प्रत्येक बिदाको दिन कोही न कोही ठोरी पुग्न लालायित हुन्छ । कुरा भारतीय पर्यटकको मात्र होइन, सडकको राम्रो व्यवस्था हुने हो भने नेपाली आन्तरिक पर्यटक पनि त आज प्रकृतिको काखमा रमाउन, नयाँ वर्ष मनाउन, शनिवारे बिदाको उपयोग गर्न ठोरी जान सक्छ । वीरगंजबाट यस्तो बिदाको अवसरमा हजारौं मानिस त्रिखण्डी, नारायणी, शहीद पार्क जान सक्छन् भने ठोरी नपुग्ने किन ?

ठोरीमा पहाड छ, वन–जङ्गल छ, खुला चौर र पानीको प्राकृतिक स्रोत छ । भारतीय पर्यटकहरूका लागि झोलुङ्गेपुल छ । प्रकृतिलाई छेडछाड नगरी यदि खाना र घुम्नको लागि व्यवस्थापन गर्न सक्ने हो, एउटा चिडियाखाना बनाइदिन सक्ने हो, पर्यटकका साथ आउने केटाकेटीहरूका लागि खेलकुदको राम्रो व्यवस्था मात्र गरिदिन सक्ने हो भने पर्यटकलाई लोभ्याउन पाँच तारे होटल नै चाहिंदैन ।

ठोरी पर्यटकका लागि भन्दा पनि पर्यटक–परिवारको अभीष्ट देखिएको छ । एउटा परिवार जब पर्यटकमा निस्कन्छ, उसलाई मात्र मनोरञ्जन चाहिन्छ । ऊ लामो समय कहीं बस्दैन । दिनभरि रमाइलो गर्छ र आप्mनो बाटो लाग्छ । उसका लागि राम्रो होटल, राम्रो खानाभन्दा पनि घुम्ने, रमाइलो गर्ने संसाधन आवश्यक पर्छ । र यसका लागि खासै लगानी पनि गर्नुपर्दैन ।

सरकारद्वारा फन–स्पट निर्माण र त्यहाँको नागरिकमा सहिष्णुता भए पुग्छ । बाँकी आवश्यकता त प्रकृतिले नै पूरा गरिदिएको छ । पर्सा प्रशासन र स्थानीय निकायले यस्तो गरिदिन सक्यो भने ठोरी पर्साबाट अलग्गिएर अन्य जिल्लामा गाभिन पनि चाहने छैन ।

-Prateek daily-

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button