Birgunj News

ठोरीलाई ३ नं. प्रदेशमा राखिएकोमा पर्सामा विरोध

वीरगंज, ५ भदौ – पर्साको सुदूरपश्चिमस्थित ठोरी गाविसलाई प्रदेश नं. ३ मा गाभिएकोमा शनिवार वीरगंजमा सोको विरोध भएको छ । जिल्लाका आन्दोलनरत राजनीतिक दललगायत सत्तारूढ दलका नेता एवं सभासदहरूले नै तीन दलको सो निर्णयको विरोध गरेका छन् ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पर्साले वीरगंजमा पत्रकार सम्मेलन गरी पर्सा जिल्लालाई टुक्र्याउने तीन दलको निर्णयप्रति आपत्ति प्रकट गर्‍यो ।

सङ्घीय समाजवादी फोरम नेपालका उपाध्यक्ष एवं सभासद् लालबाबू राउत गद्दीले ठोरीलाई पर्साबाट अलग्याउने कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने बताए ।

सोही पत्रकार सम्मेलनमा फोरम नेपाल पर्साका अध्यक्ष एवं मोर्चाका जिल्ला संयोजक प्रदीप यादवले ठोरी गाविसलाई पर्सा जिल्लाबाट अलग गरी प्रदेश नं. ३ मा गाभ्ने षड्यन्त्र भएकोप्रति रोष प्रकट गरे । उनले ठोरीलाई पर्सामा नै राखिनुपर्ने माग गर्दै अलग गर्ने काम भए सोको विरोधमा हतियारसमेत उठ्न सक्ने चेतावनी दिए ।

यसैगरी नेकपा एमालेका नेताहरूले पनि तीन दलको सो निर्णयको विरोध गरेका छन् । पर्सा क्षेत्र नं. ३ का एमाले सभासद् राजकुमार गुप्ता र क्षेत्र नं. १ का एमाले अध्यक्ष नवराज शर्माले नेपाल पत्रकार महासङ्घ पर्साको सभाकक्षमा संयुक्त पत्रकार सम्मेलन गरी ठोरीलाई पर्साबाट अलग्याउने कार्यको विरोध गरे । पत्रकार सम्मेलनमा नेताहरू बालगोपाल थापा र मनोज चौधरीले ठोरीलाई ३ नं. प्रदेशमा राख्ने निर्णय तत्काल नसच्याए आन्दोलनमा जाने चेतावनी दिए ।

यसैबीच ठोरीलाई प्रदेश नं. २ बाट टुक्रयाएर प्रदेश नं. ३ मा गाभिएकोमा सो क्षेत्रका निवर्तमान सभासद् एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य रमेश रिजाल र पर्सा क्षेत्र नं. २ एमालेका क्षेत्रीय अध्यक्ष एवं सभासद् विचारी यादवले पनि छुट्टाछुट्टै प्रेस विज्ञप्ति प्रकाशित गरी विरोध जनाएका छन् ।

नेता रिजालले ठोरीलाई अन्य प्रदेशमा गाभ्ने कार्य कुनै पनि हालतमा कहिल्यै पनि स्वीकार्य नहुने र त्यसको लागि जस्तोसुकै आन्दोलन गर्न आफू तत्पर रहेको बताएका छन् ।

एमाले सभासद् यादवले भने सिन्धुली, उदयपुर र मकवानपुरसमेतलाई प्रदेश नं. २ मा गाभेर भोजपुरा प्रदेश बनाउनुपर्ने र सोको राजधानी वीरगंज हुनुपर्नेमा जोड दिंदै ठोरीलाई पर्सा जिल्लाबाट अलग्याएर चितवनमा गाभिएकोमा आपत्ति व्यक्त गरे ।
नेपाली काङ्ग्रेस पर्साले संस्थागतरूपमैं विरोध जनाएको छ । सो पार्टी पर्साका सभापति एवं पर्सा क्षेत्र नं. ४ का सभासद् सुरेन्द्रप्रसाद चौधरीले नेपाल पत्रकार महासङ्घ पर्साको सभाकक्षमा पत्रकार सम्मेलन गरी ठोरी गाविसलाई प्रदेश नं. ३ मा राखेकोमा विरोध गरे ।

प्रेस युनियनद्वारा आयोजित पत्रकार सम्मेलनमा चौधरीले सीमाङ्कन जग्गा प्लटिङ गरे सरह भइरहेको टिप्पणी गरे । उनले प्लटिङको काममा भूमाफियाको संलग्नतामा अनैतिक कार्य भए जस्तै प्रदेशको सीमाङ्कनमा तीन दलले अनियमितता गरिरहेको आरोप लगाए ।

प्रेस युनियन पर्साका अध्यक्ष पुरुषोतम सिंह भट्टराईको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेपाली काङ्ग्रेस पर्सा क्षेत्र नं. ५ का नेता एवं तरुण दलका केन्द्रीय सदस्य नवीन सिंहले ठोरी पर्सा जिल्लाकै शान भएको चर्चा गदै यसलाई टुक्र्याउने निर्णय तीन दलले तुरुन्त फिर्ता लिनु माग गरे ।

यसैगरी ठोरी गाविसलाई जिल्लाबाट टुक्राएर चितवन जिल्लामा मिसाउने तीन दलको निर्णयको तरुण दल बाराले विरोध गरेको छ ।

सत्तारूढ नेपाली काङ्ग्रेसको वर्गीय स·ठन नेपाल तरुण दल बाराका अध्यक्ष लुकेश सिंहले शनिवार विज्ञप्ति प्रकाशित गरी उक्त निर्णयको विरोध गरेका हुन् ।

विज्ञप्तिमा उक्त निर्णय कुनै पनि हालतमा नमानिने र तत्काल सच्याउन माग गरिएको छ । निर्णय नसच्याइए आन्दोलनमा जान बाध्य हुने जारी विज्ञप्तिमा उल्लेख छ ।

-Prateek Daily-

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button