Birgunj News

ठोरीमा जङ्गली हात्तीको आतङ्क कायमै, फेरि ४ घर भत्कायो

प्रस, ठोरी, पर्सा, १७ माघ/

ठोरीमा जङ्गली हात्तीको आतङ्क कायम छ । साँझ पर्ने बित्तिकै चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको हात्तीले घर भत्काउन थालेपछि जनजीवन त्रसित बन्दै गएको हो ।
आइतवार साँझ ८ बजे नै ठोरी–३ सरस्वतीनगरबाट गाउँ पसेको हात्तीले जितबाहादुर वि.कको घर भत्काएर क्षति पु¥याएको छ ।
राति अचानक हात्तीले घर भत्काउन थालेपछि जीतबहादुरकी पत्नी र नातानातिनाले भागेर ज्यान जोगाए । स्थानीयले होहल्ला गर्दै टीन, थाल बजाउन थालेपछि हात्ती अर्को गाउँतिर लागेको थियो ।
जीतबहादुरको घर भत्काएको हात्ती ठोरी–१ भट्टराई टोल पुगेर सुजन सापकोटाको भान्साघर भत्काएको छ । सापकोटाको भान्साघर भत्काउँदै उपद्रो मचाएको हात्ती फेरि ठोरी–३ झर्दै उत्तम कार्कीको घरको एकापट्टिको पाली फालेको थियो । स्थानीयले राँको बालेर होहाल्ला गर्न थालेपछि उग्र बनेको हात्तीले ठोरी–४ का रामबहादुर भण्डारीको धन्सार भत्काएको थियो । हात्तीले धन्सार भत्काउँदै धान खाने र नष्ट गर्दा घरको एक कुनामा लुकेर परिवारले ज्यान बचाएको पीडित भण्डारी बताउँछन् ।
रातभर गाउँमा उपद्रो मचाउँदै जनजीवन आतङ्कित बनाउन थालेपछि साँझ पर्नेबित्तिकै यहाँका मानिस घर बाहिर निस्कन सकेका छैनन् । केही दिन अघि मात्र जङ्गली हात्तीले ठोरीको चौतरामा स्थानीयको दुई घर भत्काएर क्षति पु¥याएको थियो ।

 

-PrateekDaily-

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button