Birgunj News

छपकैया छठघाट पोखरी सार्वजनिक गर्न मालपोत र अदालतमा मुद्दा दायर

वीरगंज, १८ साउन – छपकैया छठघाट पोखरी सार्वजनिक हुनुपर्ने मागसहित सोमवार पर्सा जिल्ला अदालत र मालपोत कार्यालय, पर्सामा उजुरी दर्ता भएको छ । सार्वजनिक जग्गा व्यक्तिविशेषको नाममा दर्ता भएपनि सो दर्ता खारेज गर्ने मालपोत कार्यालयका प्रमुखलाई ऐनले अधिकार दिएको हुँदा मालपोत कार्यालय, पर्सामा उजुरी दर्ता गराएको हिन्दुवादी नेता विनय यादवले बताए ।

२०२१ सालको पुरानो नापी र २०४६ सालको नयाँ नापीमा सार्वजनिक पोखरी कायम रहेको छपकैया छठघाट पोखरी सोपछिको समयमा प्रमोद विक्रम शाहले किर्ते प्रमाणको आधारमा नम्बरी गरेको हुनाले सो खारेज गर्न उजुरी गरिएको यादवले बताए । उनले मालपोत प्रमुख प्रकाश पोखरेललाई उजुरी दिएको र दर्ता गरेको जानकारी गराएका छन् ।

उजुरी दर्ता गर्दै प्रमुख पोखरेलले फाइल अध्ययन गर्ने र कानुनले दिएको अधिकारको प्रयोग गर्ने आश्वासन दिएका थिए । मालपोतमा उजुरी दर्ता गराउनका लागि छपकैया छठघाट पोखरीबाट महिला, बालबालिका सम्मिलित जुलुस निकालिएको थियो । यसैगरी करिब ३ बिघामा रहेको छपकैया छठघाट पोखरी सार्वजनिक हुनुपर्ने मागसहित वीउमनपा–२ का दीनानाथ साह सोनारले आज पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता गराएका छन् ।

सार्वजनिक पोखरी सार्वजनिक गरी पाउँ भनी रामदयाल यादवले दिएको उजुरीमा जिल्ला र पुनरावेदनले यादवको हकमा फैसला गरे पनि सर्वोच्च अदालतले सो जग्गा प्रमोद विक्रम शाहको नाममा हकदाबी देखाएपछि अहिले सो विषयलाई लिएर विवाद भएको हो ।

-Prateek Daily-

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button