Birgunj News

चारवटा सरकारी भवन बस्न अयोग्य

वीरगंज, २१ जेठ – पर्सा जिल्लामा रहेको चारवटा सरकारी कार्यालय पहिलो चरणको निरीक्षणमा बस्नलायक नरहेको भेटिएको छ ।
वैशाख १२ र २९ गते गएको भूकम्प र त्यसपछिको पराकम्पनको कारण क्षति भएका सरकारी कार्यालयहरूको प्राविधिकबाट निरीक्षण गर्दा पहिलो चरणमा १८ वटा सरकारी भवनमध्ये चारवटा बस्न लायक नरहेको भेटिएको हो ।
शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय, पर्सासमेतको प्राविधिक टोलीले पहिलो चरणमा १८ वटा सरकारी भवनको निरीक्षण गरेको र ती भवनमध्ये मालपोत कार्यालय, पर्साको पुरानो भवन, वीरगंज कारागार र वडा प्रहरी कार्यालय बिर्तालगायत चारवटा सरकारी कार्यालय बस्न अयोग्य रहेको प्रमाणित गरेको छ ।
मालपोत कार्यालय राणाकालीन अवस्थामा बनेको पुरानो भवन हो भने वीरगंज कारागार पनि सोही हाराहारीमा बनेको हो । वप्रका बिर्ता भने पुरानो जिप्रका रहेको भवन भएको र पुरानो भइसकेको कारण बस्न लायक नरहेको प्राविधिकको ठहर छ । यी भवनहरूमा नबस्नको लागि सुझाइएको र त्यहाँ हुने घटनाको अब उपरान्त सरकार जवाफदेह नहुने बताइएको छ ।
मालपोत कार्यालय र कारागार बस्न लायक नरहेको भनिए पनि अहिले सो स्थानमा पूर्ववत् काम हुँदै आएको छ । वप्रका बिर्तामा भने दैनिकी काम मात्र गरिंदै छ र त्यहाँ बसाइ र खानपिन बन्द गरिएको छ । भूकम्पपछि वप्रका बिर्ताको खानपिन तथा बसाइ वीउमनपा–८ मा रहेको वीउमनपाको धर्मशालामा हुँदै आएको छ ।

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button