चाडपर्व शुरू भएपछि वन फँडानी बढ्यो
लिराम शुक्ला, बिरुवागुठी, ३ कात्तिक/
चाडपर्व शुरू भएसँगै पर्साको राष्ट्रिय वनबाट काठ चोरी–तस्करीमा वृद्धि भएको छ। डिभिजन वन कार्यालय, पर्साका प्रमुख जगरनाथप्रसाद जायसवाल आएपछि वन चोरी–तस्करीमा केही कमी आए तापनि अहिले पुनः चाड पर्व शुरू भएपछि काठ तस्करहरू सक्रिय भएका छन्।
रातिको समयमा काठ तस्करहरू राष्ट्रिय वनमा प्रवेश गरी सालको काठ कटान गरी गोलिया बनाइ साइकलमा राखेर समिल तथा फर्निचर उद्योगहरूमा बिक्री गर्ने गर्छन्। पर्साको ग्रामीण भेगमा दर्जनौं समिल तथा फर्निचर उद्योग छन्, त्यसमध्ये अधिकांश अवैध छन्।
डिभिजन वन कार्यालय, पर्सा मातहत रहेको सबडिभिजन वन कार्यालयहरूले नयाँ वन अधिकृतलाई देखाउने गरी काम गरेको र अहिले पुनः निष्क्रियता देखाउन थालेका छन्। जसले गर्दा वन फँडानी, चोरी, तस्करी बढेको छ। रातिको समयमा पर्साको सोलखपुर, मिलनचोक, सबैया, पारस पटेलचोक, पकडिया, बागवाना, मनवा, गुलरिया, सखुनिया, रङ्गपुरलगायतका स्थानबाट काठ तस्करी हुने गर्छ।
पर्साको राष्ट्रिय वन सिमानामा सबैया साझेदारी वन, विन्ध्यवासिनी कोइलाभार साझेदारी वन, सबडिभिजन वन कार्यालय सोलखपुर, सबैया, बडनिहार, सशस्त्र बेस क्याम्प सोलखपुर, मिलनचोक, बिरुवागुठी, मनवा र रङ्गपुर प्रहरी चौकीलगायतका सुरक्षा निकाय रहे तापनि काठ तस्करी नियन्त्रणमा कुनै कमी आएको छैन।
प्रतिक्रिया लेख्नुहोस