Birgunj News

चाँडै स्वरूप फेरेर आन्दोलन जारी हुने

वीरगंज, १५ चैत – मधेसको आन्दोलन नरोकिएको र स्वरूप मात्र फेरिएको सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् ।

एबिसी क्षेत्रीय ब्युरो वीरगंजले मधेसको समस्या समाधान र वीरगंजको विकास सम्बन्धमा सोमवार आयोजना गरेको बहस कार्यक्रममा यादवले चाँडै नै स्वरूप फेरेर आन्दोलन गर्ने बताएका थिए ।
मधेसको सवाल राष्ट्रिय सवाल भएकोले काठमाडौंमा बस्नेले क्षेत्रीय सवाल सम्झेर समस्या समाधान गर्न चाहे कहिल्यै पनि नहुने उनले बताए ।

मधेसी जनताको अधिकारको लागि २०१२ सालदेखि नै तराई काङ्ग्रेस लड्दै आएको र अहिले हामीहरूले त्यसलाई संस्थागत गर्न खोजेको यादवले बताए । मधेसी जनताको आफ्नो भूमिमाथिको अधिकार, सबै ठाउँमा प्रतिनिधित्व, समावेशिता नै मूल समस्या रहेको उनले बताए । मधेसको भूमि एक इन्च नछोड्ने सो कार्यक्रमका अध्यक्ष यादवले बताए ।

कार्यक्रममा बोल्दै मधेस विश्लेषक तुलानारायण साहले विगतको आन्दोलनभन्दा अहिलेको आन्दोलन फराकिलो र दक्षिण भागको सीमासम्म फैलिएको बताए । विगतको आन्दोलन बजार सडकमा मात्र हुन्थ्यो तर अहिले सीमा र नाकाबन्दीसम्म आम जनताको व्यापक सहभागिता रहेको बताए ।

बहस कार्यक्रममा प्राध्यापक एवं सीमाड्ढन विश्लेषक कृष्ण खनालले मधेस आन्दोलनको मुख्य समस्या ११ सूत्रीय माग सहित सीमाड्ढन, मधेसको भूगोल समेटेर मात्र अगाडि बढे समस्या समाधान हुने बताए । जनसङ्ख्याको आधारमा समान प्रतिनिधित्वको लडाइँ २०४६ सालदेखि सद्भावना पार्टीले लड्दै आएको र सरकारले त्यसको सम्बोधन नगरेकोमा उनले दु:ख व्यक्त गरे ।

अन्तरिम संविधान जारी गर्ने बेला मधेसी दलहरूले मधेसको भूभागलाई नै निर्वाचन क्षेत्र बनाएर अगाडि बढ्नुको साटो अन्य दलहरूसँग मिलेर ठूलो गल्ती गरेको बताए । गल्तीको परिणाम नै आज मुख्य समस्या बनेको खनालको भनाइ थियो ।

अर्का विश्लेषण झमक सुवेदीले हेपाइको कारण मधेस आन्दोलन भएको बताए । साउन २१ गतेदेखि शुरु भएको आन्दोलन सीमासम्म पुग्नु राज्यको कमजोरी भएको बताए । अभिभावकले बच्चालाई कुटेपछि बच्चाले ज्यान जोगाउन छिमेकीको घर जानु स्वाभाविक भएको बताउँदै तर आन्दोलन तुहाउन अन्य देशलाई दोष लगाउनु सरकारको कमजोरी भएको बताए ।

एबिसी टिभीका क्षेत्रीय ब्युरो शेखर छतकुलीले सञ्चालन गरेको कार्यक्रममा सभासद् सुरेन्द्र चौधरी, लालबाबू राउत गद्दी, सङ्घीय समाजवादी फोरम नेपाल पर्साका प्रदीप यादव, पत्रकार महासङ्घ पर्साका सभापति श्याम बन्जारा, वीउवासङ्घका अध्यक्ष प्रदीप केडियालगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न सङ्घसंस्था, राजनीतिक दल, समाजसेवी, बुद्धिजीवी, सञ्चारकर्मीको उपस्थिति थियो । कार्यक्रम एबिसी च्यानलले प्रत्यक्ष प्रसारण गरेको थियो ।
-Prateek Daily-

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button