गाउँदेखि शहरसम्म मसाल जुलुस
वीरगंज, २ पुस – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आयोजनामा आज वीरगंज तथा ग्रामीण क्षेत्रका विभिन्न ठाउँमा मसाल जुलुस प्रदर्शन भएको छ ।पुस ३ गतेदेखि अन्तिम धक्काको रूपमा मोर्चाले अगाडि सारेको अनिश्चितकालीन बन्दको पूर्व सन्ध्यामा आज विभिन्न ठाउँहरूमा मसाल जुलुस निकालिएको थियो ।
मोर्चाले पुस ३ गतेदेखि हुने बन्द अनिश्चितकालीन र अन्तिम धक्काको रूपमा लिएको कुरा सद्भावना पार्टीका केन्द्रीय सदस्य निजामुद्दिन समानीले बताए ।
राज्य अहिले कमजोर भएको र मधेसमा आन्दोलन तुहाउने खेल खेलिरहेको कारण पुस ३ गतेदेखि हुने अनिश्चितकालीन बन्दका लागि कडारूपमा मोर्चाका कार्यकर्ताहरू अगाडि बढ्ने समानीले बताए ।
उद्योग कलकारखाना, पसललगायत सवारी साधनहरू सम्पूर्णरूपमा बन्द गर्ने नारासहित निकालिएको मसाल जुलुस नगर परिक्रमापछि घण्टाघरमा आएर सम्पन्न भएको थियो । मोर्चाको अगुवाइमा निकालिएको मसाल जुलुस घण्टाघर, माईस्थान, घडिअर्वा पोखरी तथा बिर्ताबाट एकै साथ मसाल जुलुस प्रदर्शन गरिएको थियो । मसाल जुलुसमा मोर्चाका जिल्ला स्तरका सम्पूर्ण नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
यसैगरी पर्साको पोखरिया, जानकी टोला, भिस्वा, मिर्जापुर, परवानीपुर, डोकैला बहुअरी, महुवन, पिपडारी, सबैठवा, ड्राइपोर्ट, विन्ध्यवासिनी, गर्दौलमा मसाल जुलुस प्रदर्शन गरिएको थियो ।
ग्रामीण क्षेत्रमा निकालिएको मसाल जुलुस गाउँ परिक्रमापछि चोकमा पुगी सम्पन्न भएको जानकारी प्राप्त भएको छ ।
सिकेन्द्र पासवान, कलैया
संयुतm लोकतान्त्रिक मधेसी मोर्चा र सङ्घीय मधेसी गठबन्धन बाराले संयुक्त प्रेस विज्ञप्ति जारी गरी बजार, कलकारखाना, यातायात पूर्णरूपमा बन्दको आह्वान गरेको छ ।
प्रेस, दूध बोक्ने गाडी, कूटनीतिक नियोग, खानेपानी, विद्युत्, नगरको सरसफाइ गर्ने गाडी, औषधि पसल, तरकारी, माछाबाहेकको सवारीलाई पूर्णरूपले रोक लगाइएको जारी विज्ञप्तिमा उल्लेख छ । काम विशेषका लागि निजी मोटरसाइकल भने चल्न दिने मोर्चामा आबद्ध तराई–मधेस लोकतान्त्रिक पार्टीका बाराका अध्यक्ष नवलकिशोर सिंहले जानकारी दिए ।
पेट्रोलियम पदार्थ ढुवानीपैठारी गर्ने सवारीहरू कुनैलाई छुट नहुने र अवज्ञा गरे सवारी समेत जलाइदिने निर्णय भएको सिंहले बताएका छन् । आन्दोलनरत मोर्चाको कार्यकर्ता हुँ भन्दै मोर्चाको नाम लिएर कोही कसैले गलत किसिमले रकम असुल गरेको खण्डमा कडा कार्यबाई गर्ने निर्णय भएकोले जो कसैले पनि त्यस्तो फेला पारेमा आन्दोलनरत मोर्चाका पदधिकारीहरूलाई खबर गरिदिन पनि तमलोपा बाराका अध्यक्ष सिंहले आग्रह गरेका छन् ।
यसैगरी पुस ३ गते तराई मधेसमा जारी आन्दोलनलाई अझै कडा बनाउन मोर्चाको निर्णयसँगै बन्दीको पूर्व सन्ध्यामा कलैयालगायत ग्रामीण भेगमा पनि मसाल जुलुस प्रदर्शन भएको छ ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले कलैयामा क्रियाशील चारै दलका जिल्ला अध्यक्षहरू जितेन्द्र सिंहले पिपरपाती पतरौता, बबुआइनमा जमुना सरोज, पिपराडीमा शयामसुन्दर साह, बस्तपुरमा जितेन्द्र सिंह, बडकी फुलवरिया र दक्षिण झिटकहियामा नेता प्रयाग यादवको नेतृत्वमा उल्लेख्य सङ्ख्यामा मसाल जुलु निकालिएको मोर्चा बाराका प्रवक्ता अरुणकुमार सिंहले जानकारी दिए ।
-Prateek Daily-
प्रतिक्रिया लेख्नुहोस