Birgunj News

गाँजा र नजराना दुवैको मोल बढ्यो

वीरगंज, १२ फागुन – पर्सा जिल्लामा ६ वर्षदेखि उन्मूलन भएको गाँजा खेती यसपटक पुन: शुरु भएको छ । मधेस आन्दोलनको क्रममा तस्करहरूले प्रहरी प्रशासनले मकवानपुरमा गाँजाखेती निर्मूल गर्न नसकेको उदाहरण दिंदै गाँजाखेतीमा पनि मधेसीहरूसँग मात्र भेदभाव गरिएको भन्दै मकवानपुरको गाँजाखेती उन्मूलन हुनुपर्ने, हैन भने हामीले पनि गाँजाखेती गर्न पाउनुपर्ने भन्दै उक्साएको परिणामस्वरूप यसपटक पर्सा जिल्लामा व्यापकरूपमा गाँजाखेती भएको छ ।
स्रोतले जनाए अनुसार पर्सा जिल्लाको विभिन्न गाविसमा अहिले गाँजाखेती भएको छ । मधेस आन्दोलनको कारण प्रहरी चौकीहरू असुरक्षित भएका र प्रहरीले यसविरुद्ध अभियान सञ्चालन गर्न नसके पनि हालको अवस्थामा भने तस्करहरूसँग सहकार्य गरेर रकम असुलीको काम शुरु गरेको छ ।

एकजना कारोबारीले पर्सा जिल्लामा मकवानपुरबाट आउने गाँजाको माग हालका दिनमा भारतमा बढी भएको र पर्सा जिल्लामा गाँजाखेती हुँदा प्रतिकिलो भारु १ सय रहेको गाँजा अहिले प्रतिकिलो भारु. १० हजार पुगेको बताएका छन् ।

मकवानपुरको लोथर, मनहरीबाट ज·ल बाटो हुँदै पर्सा जिल्लाको ज·ल क्षेत्रसँग नजिक भएका पटेर्वा सुगौली, सोनबर्सालगायत ठाउँमा अहिले ठूलो परिमाणमा मकवानपुरबाट गाँजा ल्याइएको छ । भरियाहरूले प्रतिपोका २५ सयको दरले गाँजा ढुवानी गर्ने गरेको र सोही अनुपातमा तस्करहरूले प्रहरीलाई पनि नजराना दिने गरेको स्रोतको दाबी छ । ठूलो परिमाणमा गाँजा भित्रिएको कारण प्रहरीको नजरानामा पनि वृद्धि भएको स्रोतले बतायो । मधेस आन्दोलनको कारण गाँजा तस्करहरूको मनोबल उच्च भएको रिपोर्टिङ जिल्लामा गरेर ग्रामीण क्षेत्रमा खटेका नेपाल प्रहरी र सशस्त्रले गाँजा तस्करहरूसँग मनग्य नजराना उठाइरहेका छन् ।

पर्सा जिल्लामा रोपिएको गाँजाको मोल भने किलोको भारु चारदेखि पाँच हजारसम्म कायम गरिएको छ । यसपटक गाँजाको मोल अत्यधिक वृद्धि भएको कारण पर्सा जिल्लाको ३० भन्दा बढी गाविसमा गाँजाखेती भएको छ । प्रहरीले मुख्य सडक र सहायक सडकहरूमा रोपिएको गाँजाखेती नष्ट गर्दै आएको छ । उनीहरूले यसपटक गरेको गाँजाखेती नष्टको आँकडाले पनि जिल्लामा ठूलो परिमाणमा गाँजाखेती भएको कुरालाई पुष्टि गरेको छ ।

मधेस आन्दोलनको क्रममा ६ महिना यातायात ठप्प भएको र करिब ५ महिना नाकाबन्दी भएपछि मुख्य सडकबाट विभिन्न स्कीम लगाएर सवारीसाधन मार्फत् भारत पुर्‍याउँदै आएका मकवानपुरका लागूऔषध कारोबारीहरूले मनहरि र लोथरको बाटो भएर ठूलो परिमाणमा गाँजा, चरस पर्सा जिल्लाको ग्रामीण क्षेत्रमा सञ्चय गर्दै भारत पुर्‍याउने कार्य गरेका थिए ।

नाकाबन्दी खुलेको २० दिन भए पनि तस्करहरूले पर्साको ग्रामीण भेगबाटै लागूऔषध कारोबारलाई निरन्तरता दिएका छन् । सोमवार राति महुवन प्रहरीले पक्राउ गरेको चरस पनि मकवानपुरबाटै आएको हो । अहिले कारोबारीहरूबीच अस्वस्थ प्रतिस्पर्धा चलेको र नजराना लिएको पक्षको व्यवसायलाई संरक्षण गर्न विपक्षी कारोबारीको सूचनाको उपयोग गरिरहेको स्रोतको भनाइ छ ।
-Prateek Daily-

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button